महेन्द्रनगर । सात वर्षअघि वैदेशिक रोजगारीका शिससिलामा मलेसिया मजदुरी गर्न पुगेका कञ्चनपुरको लालझाडी गाउँपालिका–४ का विजयकुमार चौधरी स्वदेश फर्किनुभयो । मलेसियामा तीन वर्ष मजदुरी गर्नुभएका चौधरीको मासिक रु ३५ हजार कमाइ गर्नुभयो । विदेशको चर्को गर्मीमा श्रम बेचेर स्वदेश फर्किनुभएका विजय अहिले माछापालनमा हुनुहुन्छ ।
गत जेठ १५ गते कृषि, वन तथा पर्यावरण मन्त्रालयलबाट छनौंट भई राष्ट्रपति रामचन्द्र पौडेलबाट राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कारबाट पुरस्कृत भएपछि चौधरीको कृषिप्रतिको लगाव अझ बढेको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयलले सात प्रदेशबाट उत्कृष्ट दुई÷दुई कृषक गरी १४ कृषकलाई सम्मानित गरेको थियो । रु दुई लाख राशिको पुरस्कार पाएपछि हर्षित भएका चौधरीले सम्मानले कृषि पेसाप्रति जाँगर बढेको बताउनुभयो ।
“राष्ट्रपतिबाट सम्मान पाउँदा हौसला थपिएको छ,” चौधरीले भन्नुभयो, “अब युवालाई पनि कृषि र उत्पादनमुखी काममा लगाउने योजना व्यवसाय सञ्चालन गर्ने योजनामा छु ।”
सात वर्षदेखि सिकलपट्टी जाइमा तीन बिघामा माछा पोखरी बनाएर मत्स्य उत्पादनमा लाग्नुभएका चौधरीले निकट भविष्यमा थप पाँच बिघा जमिन भाडामा लिएर माछा उत्पादन बढाउने गरी अघि बढिसकेको बताउनुभयो ।
“वार्षिक ४५ क्विन्टल माछा बिक्री गरिरहेको छु,” चौधरीले भन्नुभयो, “वर्षमा नौ लाखभन्दा बढी बचत हुन्छ ।” स्वदेशी माछा उत्पादनको बजारीकरणका लागि सरकारले वातावरण मिलाई दिनुपर्ने चौधरीको भनाइ छ ।
“यहाँ उत्पादन भएको माछा झलारी, बेलौरी, वाणी र स्थानीय बजारमा खपत भइरहेको हुन्छ,” उहाँले भन्नुभयो, “भारतलगायत अन्य मुलुकबाट आयात हुने माछालाई रोक लगाएर स्वदेशी उत्पादनलाई बजारको सुनिश्चतता गरिनुपर्छ ।”
राससका अनुसार चौधरीले हरेक बर्ष असोजदेखि माघ महिनासम्म माछा बिक्री वितरण हुने गरेको बताउनुभयो । उहाँको कामले अन्यले पनि रोजगारी पाउनु सुखद कुरा हो । “माटोमा पसिना बगाए युवा विदेश जानु पर्दैन । यही राम्रै मुनाफा कमाउन गर्न सकिन्छ ।”
