RayNewsDaily
शेयर बजारमा सामान्य वृद्धि

रे समाचार/काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शेयर बजार सामान्य अंकले वृद्धि भएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज १.७७ अंक बढेर २७३१.९४ विन्दुमा पुगेको छ । नेप्से बढे पनि आज कारोबार रकम भने सामान्य घटेको छ । हिजो ३ अर्ब २९ करोड रुपैयाँको शेयर खरिदबिक्री भएकोमा आज ३ अर्ब ९ करोड ७९ लाख ५३ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । 

आज ७ प्रतिशत नबिल डिबेञ्चरको मूल्य सर्वाधिक ७.७१ प्रतिशतले वृद्धि भएको छ । यसैगरी, मोदी इनर्जीको शेयरमूल्य ५ प्रतिशतभन्दा बढीले बढेको छ भने बाँकी स्टकहरको मूल्य वृद्धिदर साढे ३ प्रतिशतभन्दा कम रहेको छ । यूनियन हाइड्रोपावरको शेयरमूल्य भने आज सर्वाधिक १४.७९ प्रतिशतले घटेको छ भने क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्यमा करिब ६ प्रतिशतको गिरावट आएको छ ।

कारोबार रकमका आधारमा आज यूनियन हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३० करोड ६६ लाख ४९ हजार रुपैयाँबराबरको शेयर किनबेच भएको छ । यसैगरी, अपि पावर कम्पनीको करिब साढे ११ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने रिलायन्स स्पिनिङ्ग मिल्सको कारोबार रकम साढे ८ करोड रुपैयाँ नाघेको छ । १३ उपसमूहमध्ये आज ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ १, २०८३  १५:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update