RayNewsDaily
भारतीय केरा आयात रोकिँदा नेपाली केराले मूल्य पाउन थाले        

बलेवा (बागलुङ) । बागलुङ नगरपालिका-१३ नयाँपुलका लीलाधर जैसीको केरा बारीमा हिजोआज दिनकै बजारका व्यापारीको बास हुन्छ । स्थानीय जातका केराको खोजीमा बागलुङ र कुश्मा बजारका व्यापारी दिनदिनै उहाँको बारी धाउँछन् ।     
     
पछिल्लो छ महिनायता लीलाधर र उहाँको गाउँका किसानले केरा बेच्नका लागि बजार जानु परेको छैन । घरघरमै दिनदिनै आउने व्यापारीले केरा आफैँ खोज्छन्, आफैँले काट्छन् र गन्ती गरेपछि केराकै बोटको फेदमा पैसा बुझाउँछन् । यो देखेर यहाँका किसान दङ्ग छन् ।     
     
भारतीय केराको आयात रोकिएपछि यहाँका स्थानीय केराको मूल्य बढेको छ । जाडो मौसममा प्रतिदर्जन रु ६० र गर्मी मौसममा प्रतिदर्जन रु ७० देखि ८० मा बिक्री हुँदै आएको केरा आजभोलि दर्जनको रु १०० पर्न थालेको छ । बजार जाने झन्झट नहुने र बारीमै केराको मूल्य बढी पाउँदा निकै खुसी लागेको जैसी बताउनुहुन्छ । दर्जनमा हिसाब हुने गाउँघरमा व्यापारीले किसानको बारीबाट नै केरा उठाएर थैलो भर्छन् । यहाँका किसानको दैनिकी धान्ने अर्को स्रोत केरा हो । नयाँ पुल आसपासका क्षेत्रमा केराखेती विस्तार हुँदै गइरहेको छ ।     
     
बागलुङको जैमिनी नगरपालिका-४ सर्कुवाका किसान ईश्वरीप्रसाद शर्माले पनि पछिल्लो समय केराले राम्रो मूल्य पाएको बताउनुहुन्छ । बजारमा भारतीय केरा र नेपालको तराईको केरा आउँदा स्थानीय जातका केरा बिक्री गर्न कठिन हुने गरेको भए पनि पछिल्लो समय केराको माग उच्च रहेको उहाँले बताउनुभयो । “योबेला केरा फलाउन सकेको भए निकै राम्रो मूल्यमा बिक्री हुने रहेछ”, जैमिनी नगरपालिका-१ कुश्मीशेराका किसान मोतीप्रसाद शर्माले भन्नुभयो, “अघिल्ला वर्षको तुलनामा यो वर्ष केराको माग उच्च छ ।” माग र मूल्य दुवै बढेकाले केराखेती गरेका किसानले राहतको महसुस गरेको उहाँले बताउनुभयो ।     
     
वर्षात्को समयमा मात्रै कोदो र मकै फल्ने बारीलाई सदुपयोग गरेर यहाँका किसानले केराखेती गर्दै आएका छन् । “मकै र कोदोको मूल्य हिसाब गर्दा वर्षमा १८ हजार कमाई हुन्थ्यो, लगाउने गोड्ने दुःख त कति हो कति”, शर्माले भन्नुभयो, “समयमा पानी र मल दिएपछि राम्रो फल्ने केराले अहिले मेरो दैनिकी नै बदलिएको छ ।” पछिल्लो समय गाउँका किसानले परम्परागत खेतीलाई परिवर्तन गरेर केराखेती गरेका छन् । मोतीप्रसाद शर्माले जस्तै जैमिनीका किसानले बाँझो जग्गा र खेतीयोग्य जमिनमा केराखेती गरेका छन् । किसानले केराका लागि आवश्यक मलको जोहो गर्न गाईभैँसी पालेका छन् । खानेपानीका लागि प्रयोग भइरहेको पानीलाई बचत गरेर केरामा सिँचाइ गर्छन् ।     
     
यहाँका किसानले स्थानीय रामरेखे लोकल, मालबोक, मुङ्ग्रे, ध्रुसे, फुस्रे, जहाजी, चिनीकेरालगायत केराखेती गरेको जैमिनी नगरपालिकाका कृषि प्राविधिक रविन्द्र शर्मा बताउनुहुन्छ । कसैले व्यावसायिक खेती गरेका छन् भने केहीले आफ्नो धेरैथोरै जग्गामा दुई चार बोट मात्रै केरा लगाएरै अम्दानीसँग जोडिएका छन् ।     
     
बजारमा पनि पछिल्लो समय स्थानीय केराकै माग धेरै छ । स्थानीय जातको केरा पकाउनका लागि कुनै विषाधीको प्रयोग गर्न नपर्ने र खाँदा स्वादिलो भएकाले केराको माग उच्च रहेको बागलुङ बजारका व्यवसायी सागर सुवेदीले बताउनुभयो । “यहाँको केरा पाकेपछि पनि लामो समय टिक्छ, घाटा हुँदैन”, सुवेदीले भन्नुभयो, “तराई र भारतको केराभन्दा व्यवसायी र उपभोक्ता दुवैलाई यो केरा फाईदा हुनेखालको छ ।” पछिल्लो समय केराको मूल्य बढाएरै किसानलाई भुक्तानी दिने गरिएको सुवेदीले बताउनुभयो । उहाँका अनुसार पछिल्लो एक वर्षयता बागलुङ बजारमा केराको माग स्थानीय केराले नै धानेको छ ।     
     
बजारमा स्थानीय केराको मूल्यप्रति दर्जन रु १२० देखि १८० सम्ममा बिक्री हुने गरेको छ । एकद रुपमा तराईबाट आउने केराको मूल्य भने प्रतिदर्जन २५० भन्दा धेरै छ । बागलुङ बजारमा दर्जन बढी होलसेल व्यपारीमार्फत दैनिक १०० कार्टुनभन्दा धेरै भारतीय केरा भित्रिने गरेको थियो ।     
     
एक हजार ३०० देखि एक हजार ६०० प्रतिकार्टुन तिरेर यहाँका व्यवसायीले केरा खरिद गर्ने गरेका थिए । तर अहिले त्यो सबै माग स्थानीय केराले धानेको स्थाय थोक व्यवसायी खिमबहादुर केसीले बताउनुभयो । “यति नै भनेर तथ्याङ्क राखिएको त छैन तर दैनिक दुई लाख माथि केराको खरिदमा बाहिरिने गरेको थियो”, केसीले भन्नुभयो, “मागेजति त पुगेको छैन, तर अहिले लोकल केराले अभाव हुन भने दिएको छैन ।”     
     
बागलुङका स्थानीय सरकारले पनि केराखेतीको प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम बनाएका छन् । जैमिनी नगरपालिकाले ‘शेरा जाउँ केरा खाउ’ अभियान नै घोषणा गरेको छ । किसानलाई बीउ मल र बजारीकरणमा स्थानीय सरकारले सहयोग गर्ने गरेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताउनुभयो । रासस

प्रकाशित मिति: बुधबार, वैशाख २३, २०८३  १३:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update