लिम्ब लस अवेयरनेस मन्थको विशेष अवसरमा एम्प्युटी रनवेको दोस्रो संस्करण हुने भएको छ ।
निर्मला फाउन्डेसनको आयोजनामा एम्प्युटी रनवे नेपाल २०२६ यही चैत २८ गते शनिबार दरबारमार्गस्थित क्लब प्लेटिनममा आयोजना हुने भएको छ । 'फ्रम द साइडलाइन टु द स्पटलाइट' (From the Sideline to the Spotlight) भन्ने थिममा हुन लागेको रनवे एउटा फेसन शो मात्र नभई एउटा अर्थपूर्ण मञ्च र रूपान्तरणकारी अवसर भएको आयोजक निर्मला फाउन्डेसनले जनाएको छ ।
र्याम वाक जस्तो सुन्दरताको मानकको रुपमा मानिने स्टेजमा हात र खुट्टा गुमाएका व्यक्तित्वहरुले हिड्नुले सौन्दर्य केवल बाह्य मात्र नहुने सन्देश दिनुको साथै यो कार्य्रकम बुद्धिमत्ता, सहनशीलता र आन्तरिक शक्तिको पनि उत्सव भएको आयोजक निर्मला फाउन्डेसनकी संस्थापक निर्मला भण्डारीले बताउनुभयो ।

सहभागी मोडलहरूले डिजाइनर पोशाकमा लगाएर र्याम्पमा हिँड्दा आफ्नो कृत्रिम अंग भन्ने देखाएर हिड्नेछन् । मोडलहरुले कृत्रिम अंगलाई कुनै बाधा नभइ आफ्नो शक्ति र पहिचानको अभिन्न अङ्ग रुपमा प्रस्तुत गर्नेछन् ।
एम्प्युटी रनवे समाजमा समान अधिकारको सन्देश फैलाउने विश्वास गरिएको आयोजकले जनाएको छ । यस पटक रन वे मोडलमा फुटबल खेलाडी, बैकिङ क्षेत्र, सामाजिक क्षेत्रमा काम गरिरहेका १२ जना व्यक्तित्वहरु रहनुभएको छ । जसमा अर्को वर्ष हुने एम्प्युटी महिला विश्वकपमा सहभागी हुने खेलाडीहरुसँगै ३ जना एसिया कप खेल्नुभएका खेलाडीहरुको पनि सहभागिता रहेको छ । रन वेमा मोडलहरुले डिजाइनर पोशाक र फुटबल जर्सी लगाएर र्याम्प वाक गर्नेछन् ।
यो पटकको रेन वेमा एम्प्युटी मोडलहरुलाई मिस नेपाल इन्टरनेसनल फर ग्ल्याम वर्ल्ड नन्दनी समा, मिस नेपाल इन्टरनेसनल युरोप सोमु पुन र मिस नेपाल इन्टरनेसनल एसिया सुस्मिता श्रेष्ठले पनि साथ दिनु हुनेछ । एम्प्युटी रन वेको कोरियोग्राफी मोडल र फेसन कोरियोग्राफर विशाल गुरुङले गर्नुभएको छ । कोरियोग्राफर गुरुङले यसलाई अवसरको रुपमा लिदै यसले समाजमा रहेका सबै समान हुन भन्ने सन्देश दिने बताउनुभयो ।
यस वर्षको रनवेको निर्णयकमा मोडल,गायिका र अभिनेत्री पुजा लामा हुनुहुन्छ । अप्रिललाई विश्वभर लिम्ब लस अवेयरनेस मन्थको रूपमा मनाइन्छ। एम्प्युटी रनवेले कृत्रिम हात वा खुट्टा प्रयोग गर्ने व्यक्तिहरू पनि फेसन, अभिव्यक्ति र पहिचानमा पूर्ण स्वतन्त्र हुन सक्ने सन्देश दिने आयोजक जनाएको छ ।
