RayNewsDaily
रामपुरमा अन्तरराष्ट्रिय मौरी सम्मेलन    

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय, रामपुरमा अन्तरराष्ट्रिय मौरी सम्मेलन सुरु भएको छ । सम्मेलनको विश्वविद्यालयका उपकुलपति डा शारदा थपलियाले उद्घाटन गर्नुभएको हो ।     
     
उपकुलपति डा थपलियाले मौरीपालक किसानका लागि सम्मेलन फलदायी हुने बताउनुभयो । विश्वविद्यालयले शिक्षणसहित प्रविधि र प्रसारका क्षेत्रमा हरेक वर्ष विभिन्न किसिमका कार्यक्रम गर्दै आएको उहाँले बताउनुभयो । त्यसैको निरन्तरतास्वरुप यस वर्ष मौरी सम्मेलन गरिएको भन्दै उहाँले मौरीपालनमा देखिने समस्या समाधान गर्न सम्मेलन सफल हुने विश्वास व्यक्त गर्नुभयो ।     
     
कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार पुस्करबहादुर पाल, कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेल, अन्तरराष्ट्रिय मौरी अनुसन्धान केन्द्रका प्रा डा फेनी हटजिना, विश्वविद्यालयका कृषि सङ्कायका डीन डा अर्जुनकुमार श्रेष्ठलगायतले अहिले मौरीपालनमा देखिएका समस्या र समाधानका विषयमा आ-आफ्ना धारणा राख्नुभएको थियो ।     
     
आजदेखि तीन दिनसम्म सञ्चालन हुने उक्त सम्मेलनमा नेपालसहित १९ देशका ७० विज्ञसहित २५० जनाको सहभागिता रहेको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको कृषि सङ्काय, कृषि तथा पशुपन्छी विकास मन्त्रालयको कृषि विभाग र नेपाल मौरीपालक महासङ्घको संयुक्त आयोजनामा सो सम्मेलन सुरु भएको हो ।     
     
सम्मेलनका सदस्य सचिव विश्वविद्यालयका उपप्रध्यापक डा केदार देवकोटाका अनुसार सम्मेलनमा चार विधामा ४१ कार्यपत्र प्रस्तुत गरिने छन् । उहाँका अनुसार सम्मेलनमा मौरीपालन, एपि थेरापी, परागसेचन र मौरीसँग सम्बन्धित रोग तथा किरा व्यवस्थापनका विषयमा कार्यपत्र प्रस्तुतका साथै छलफल हुनेछ ।     
     
सम्मेलनमा नेपालसहित भारत, थाइल्याण्ड, चीन, कोरिया, अमेरिका, क्यानडा, हङ्गेरी, स्विडेन, स्टोनिया, बङ्गलादेश, श्रीलङ्कालगायतका देशबाट विषयविज्ञ तथा कृषकको सहभागिता रहेको छ । सम्मेलनमा अनुसन्धानकर्ता, प्राध्यापक, व्यावसायिक रुपमा लामो समयसम्म अन्तरराष्ट्रियस्तरमा काम गरेका सरकारी तथा गैरसरकारी संस्थाका विज्ञ, किसानलगायत सहभागी छन् । सम्मेलनका अवसरमा मह प्रदर्शनी तथा मेलाको समेत आयोजना गरिएको छ । यहाँ आठ कक्ष रहेका छन् । रासस

प्रकाशित मिति: सोमबार, चैत २३, २०८२  १४:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update