काठमाडौँ । भृकुटिमण्डपमा आजदेखि तेस्रो ‘नेशनल हर्टिकल्चर एक्स्पो-२०८२’ सुरु भएको छ । नर्सरी व्यवसायको प्रवर्द्धन, कृषि उद्यमशीलताको विकास तथा रोजगारी सिर्जना गर्ने उद्देश्यसहित ‘एक्स्पो’ आयोजना गरिएको हो ।
नर्सरी व्यवसायी सङ्घ नेपालको आयोजनामा सुरु भएको मेला पाँच दिनसम्म सञ्चालन हुनेछ । मेलाले स्वदेशी उत्पादनको प्रवद्र्धन र बजार विस्तारमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
मेलाको उद्घाटन गर्दै बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसुदन पौडेलले पुष्प व्यवसायमा युवालाई आकर्षित गर्न लक्षित कार्यक्रमलाई प्राथमिकता दिइने बताउनुभयो । उहाँले मल, बीउ, तालिमको अभाव तथा नर्सरी व्यवसाय सञ्चालनका लागि पर्याप्त जग्गा नहुँदा व्यवसायी समस्या भोग्नुपरेको उल्लेख गर्नुभयो ।
“यी समस्या समाधानका लागि हामीले केन्द्रीय सरकारको ध्यानाकर्षण गराएका छौँ”, मन्त्री पौडेलले भन्नुभयो, “तीनै तहका सरकारबीच समन्वय र सहकार्य भएमा यस्ता चुनौती समाधान गर्न सकिन्छ ।”
सङ्घका अध्यक्ष रामजीप्रसाद तिमल्सेनाले नर्सरी व्यवसायलाई देशव्यापी रूपमा विस्तार गर्नुपर्नेमा जोड दिँदै यसको सम्भावनाको अध्ययन र प्रवर्द्धनका लागि आवश्यक बजेट व्यवस्था गर्न सरकारसँग आग्रह गर्नुभयो । उहाँका अनुसार मेलामा देशभरका सात सयभन्दा बढी प्रजातिका बिरुवाहरू–फूल, फलफूल, कृषि वन तथा जडीबुटी नर्सरीका उत्पादन-प्रदर्शनी तथा बिक्रीका लागि राखिएका छन् ।
सङ्घका मेला संयोजक रविनकुमार गौतमले नर्सरी क्षेत्रको वर्तमान अवस्थाबारे प्रस्तुत गरिएको तथ्याङ्कअनुसार देशभर तीन हजारभन्दा बढी नर्सरी व्यवसाय सञ्चालनमा रहेको जानकारी दिनुभयो । “यस क्षेत्रमा रु ११ अर्बभन्दा बढी लगानी रहेको छ । वार्षिक रु छ अर्बभन्दा बढी कारोबार हुने गरेको छ”, उहाँले भन्नुभयो, “प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा करिब एक लाख २० हजारले रोजगारी पाएका छन् ।”
मेलाको सह-आयोजकमा पुष्प विकास केन्द्र, वनस्पती विभाग, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, कृषि विभाग, पुल्चोक, राष्ट्रिय फलफूल विकास केन्द्र किर्तिपुर, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय बागमती प्रदेश रहेका छन् । मेलाको सहयोगीमा एजिए एग्रो, कुमारी फ्लोरा फार्म, गौतम नर्सरी, फ्लोरिकल्चर सहकारि संस्था र ग्रिस्मा नर्सरी साथै मेलास्थल सजावटको लागि उदय गार्डेन सेन्टर प्रालि र एभरेष्ट फ्लोरिकल्चर एण्ड भेजिटेबल फार्म रहेका छन् । रासस
