RayNewsDaily
आफ्नै पात्रमार्फत कलाकारहरूको सम्मान

काठमाण्डू । विश्व रंगमञ्च दिवसको अवसरमा प्रख्यात नाट्य व्यक्तित्व अभि सुवेदीलाई विशेष कार्यक्रम ‘अभि-अभिनन्दन’मार्फत सम्मान गरिएको छ।

कलाकारहरू घिमिरे युवराज, कर्मा, भोलाराज सापकोटा, सरस्वती चौधरी, सरोज अर्याल, दिलिप रानाभाट र पवित्रा खड्काले सुवेदीका विभिन्न नाटकका पात्रहरू प्रस्तुत गर्दै अनौठो शैलीमा उहाँलाई हिजो (शुक्रबार) अभिनन्दन गर्नुभएको हो । 

नाट्यकलाको विश्व संगठन ‘इन्टरनेसनल थिएटर इन्स्टिच्युट (आईटिआई)’का मानार्थ सदस्य तथा ‘आईटिआई नेपाल’का संस्थापक अध्यक्ष समेत रहनु भएका सुवेदीको योगदानको कदर गर्दै शिल्पी थिएटरमा कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रममा सुवेदीले आईटिआईसँग जोडिएको आफ्नो संघर्षपूर्ण यात्रा सम्झिनुभयो। उहाँले भन्नुभयो, “त्यतिबेला सम्मेलनमा सहभागी हुन र फि तिर्ने खर्च पनि हुँदैनथ्यो। मैले पेपर लेखेर पाएको पारिश्रमिकबाटै फि तिर्थें र यसरी आईटिआईलाई अघि बढायौं।”

उहाँले इतिहास बिर्सने प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै वर्तमान राजनीतिमाथि व्यङ्ग्य गर्नुभयो । 
“इतिहास बिर्सनु ठूलो समस्या हो। इतिहास बिर्सेको राष्ट्र र मानिस कसैले पनि सही बाटो समात्न सक्दैन,” उहाँले बताउनु भयो । 

कार्यक्रममा कलाकार सरस्वती चौधरीले अमेरिकी रंगकर्मी विलियम डाफोको विश्व रंगमञ्च दिवस सन्देश वाचन गर्नुभयो । सन्देशमा थिएटरले मानिसहरूलाई एउटै ठाउँमा जोड्ने, आत्मबोध गराउने र सामाजिक–राजनीतिक चेतना बढाउने महत्वपूर्ण माध्यम भएको उल्लेख गरिएको थियो।

डाफोले सामाजिक सञ्जालले मानिसलाई टुक्र्याउँदै एक्लोपन बढाइरहेको सन्दर्भ उठाउँदै थिएटरले सजीव अनुभूति र सामूहिक चेतनाको निर्माण गर्ने शक्ति बोकेको बताएका छन्।

सोही अवसरमा ‘आईटिआई नेपाल’को पुनः स्थापना भएको औपचारिक घोषणा पनि गरिएको छ। करिब एक दशकदेखि विच्छेद भएको सम्बन्धलाई रंगकर्मी केदार श्रेष्ठ नेतृत्वको टोलीले पुनः जोडेको हो। नयाँ कार्यकारी बोर्डमा केदार श्रेष्ठ, गुञ्जन दिक्षित, देव न्यौपाने, सुशिला लक्ष्मी महर्जन, मोतीबहादुर कार्की, पवित्रा खड्का र सिजन दाहाल रहनु भएको छ । 

प्रकाशित मिति: शनिबार, चैत १४, २०८२  ११:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update