RayNewsDaily
हुरीका कारण केरामा क्षति        

चितवन । हुरीका कारण केराखेतीमा क्षति पुगेको छ । यही चैत २ गतेको हुरीले रु चार करोडभन्दा बढीको केरामा क्षति भएको प्रारम्भिक तथ्याङ्क आएको छ ।     
     
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ चितवनका प्रमुख महेश रेग्मीका अनुसार बुधबार र बिहीबार दुई दिनसम्म केराखेतीमा क्षति पुगेका क्षेत्रहरुको अनुगमन गरिएको छ । सो क्रममा २० वटा फार्ममा अनुगमन गरिएको उहाँले बताउनुभयो ।     
     
हुरीले भरतपुर महानगरपालिकाको वडा नं ७ र २३, रत्ननगर नगरपालिका ५, १२ र १४, खैरहनी नगरपालिकाको वडा नं १३, कालिकाको वडा नं २ देखि ५ सम्मका क्षेत्रमा बढी क्षति पु¥याएको छ । रेग्मीका अनुसार बगानमा एक प्रतिशतदेखि ८८ प्रतिशतसम्म क्षति भएको देखिएको छ ।     
     
उहाँले भन्नुभयो, “एउटा फार्ममा ८८ प्रतिशत क्षति भएको पायौँ । सबैको अवस्था त्यस्तो छैन ।” हुरीले मालभोग केरामा ठूलो क्षति पुगेको छ । मालभोग केरामा ७८ प्रतिशत र जीनाइन केरामा २२ प्रतिशत क्षति भएको उहाँले जानकारी दिनुभयो । समग्रमा ४३ दशमलव ३५ प्रतिशत केरामा क्षति भएको उहाँले बताउनुभयो । कार्यालयमा एक हजार ८०० हेक्टरमा लगाइएको केरा सूचीकृत गरिएको छ ।     
     
केरा सुपरजोन चितवनका संयोजक विष्णुहरिले भन्नुभयो, “केराखेतीको बिमा सुरु हुने समय ढिलो हुने भएकाले पनि किसान मर्कामा परेका छन् ।” किसानले क्षतिपूर्तिसमेत पाउन कठिन हुँदा अझै समस्या हुने गरेको उहाँले बताउनुभयो ।     
उहाँका अनुसार गत वर्षको क्षतिपूर्ति रकम अहिलेसम्म किसानले पाउन सकेका छैनन् । अहिलेको क्षतिपूर्ति त कहिले पाउने हो थाहा नभएको उहाँले बताउनुभयो । अहिलेसम्म जिल्लामा केराखेती गरेका किसानले रु चार करोडको क्षतिपूर्ति माग गर्दै बिमा कम्पनीमा निवेदन बुझाएको उहाँले बताउनुभयो । थप निवेदन आउने क्रममा रहेको र कतिपयले बिमा नगरेकाले यकीन तथ्याङ्क आउन समय लाग्ने बताउनुभयो ।     
     
चितवन केरा उत्पादक सङ्घका अध्यक्ष घननाथ महतो यही चैत २ गते आएको हुरीका कारण जिल्लामा लगाइएको मालभोग केरामा ठूलो क्षति पुगेको छ । अहिले जिल्लामा दुई हजार हेक्टर क्षेत्रफलमा व्यावसायिक केराखेती हुँदै आएको छ । केरा सुपरजोनका रुपमा जिल्लामा काम हुँदै आएको बताउँदै उहाँले हुरीका कारण कति क्षत्रफलमा लगाइएको केरामा क्षति भयो भन्ने विषयमा सङ्घले तथ्याङ्क सङ्कलन गरिरहेको बताउनुभयो ।     
     
केरामा हावाका कारण भएको क्षतिले केरा उत्पादक किसान चिन्तित भएको उहाँको भनाइ छ । गत वर्षमा वैशाखको अन्तिमतिर आउने हुरी यस वर्ष चाँडो आउँदा किसानले ठूलो क्षति बेहोर्नु परेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “केरा उत्पादन गर्ने किसानले बिमा गरेका छन् । तर बिमाबाट पाउने रकम ढिलो हुँदा अझै किसान निरास बन्दै गएका छन् ।”     
     
रत्ननगर नगरपालिका-११ निवासी कृषक बाबुराम भट्टले लगाएको छ बिघा केरामा क्षति पुगेको छ । जग्गा भाडामा लिएर केराखेती गर्दै आउनुभएका भट्ट चैत सुरु भएसँगै हुरीका कारण क्षति बेहोर्नु परेको बताउनुहुन्छ । आफूले लगाएको केरा उत्पादन लिने समयमा हुरीले ढलाए पछि अहिले केरा बगान सरसफाइका लागि मजदुर लगाएर काम गर्नुपर्ने अवस्थामा पुगेको उहाँको भनाइ छ । उहाँले लगाएको केरा अधिकांश ढलेको अवस्थामा पुगेको छ ।     
     
प्रतिहेक्टर मालभोग २४ टन र जी नाइन ५५ टन उत्पादन हुँदै आएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । जिल्लामा व्यावसायिक रुपमा ७०० किसानले केराखेती गर्दै आएका छन् । रासस

प्रकाशित मिति: शुक्रबार, चैत ६, २०८२  १३:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update