RayNewsDaily
धुलिखेल-खावा खण्डमा आवागमन रोकेर स्तरोन्नति गरिँदै    

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल-खावा सडकखण्डमा सवारीसाधानलाई रोक लगाई पक्की बनाउन थालिएको छ । उक्त सडकखण्डको स्तरोन्नतिका लागि यही चैत पहिलो सातादेखि दुई हप्ता बन्द गरी कामलाई तीव्रता दिने डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको हो ।     
     
लामो समयसम्म निर्माण व्यवसायीको लापरबाहीका कारण रोकिएको सडक विस्तारका लागि नयाँ निर्माण कम्पनीसँग गत कात्तिकमा सम्झौता गरिएपछि स्तरोन्नतिलाई तीव्रता दिइएको डिभिजन सडक कार्यालयले जनाएको छ । उक्त खण्डमा पक्की बनाउन यही चैत ७ गतेदेखि २० गतेसम्म रातिको समयमा यातायातका साधान बन्द गरिएको कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुनम योगेशले जानकारी दिनुभयो ।     
     
उक्त अवधिभर टिपरसहित मालवाहक सवारीसाधानलाई पूर्णतः रोक लगाइएको उहाँले बताउनुभयो । उहाँका अनुसार चार किलोमिटर दूरीको उक्त सडकखण्डमध्ये चैत महिनामा दुई दशमलव पाँच किमी र आगामी वैशाखमा बाँकी पक्की गरिसक्ने लक्ष्य लिइएको छ ।     
     
उक्त सडकखण्डमा हाल ‘सिसीटिभी’ हाल्ने तयारी गरिएको सिनियर डिभिजनल इञ्जिनियर योगेशले बताउनुभयो । “त्यसपछि लक्ष्यअनुसार पक्की बनाउँदै लगिनेछ”, उहाँले भन्नुभयो । लामो समयसम्म निर्माण व्यवसायीको लापरबाहीका कारण रोकिएको स्तरोन्नतिका लागि नयाँ निर्माण कम्पनीसँग गत कात्तिकमा सम्झौता गरेपछि विभिन्न स्थानमा कटिङको काम सुरु भइसकेको उहाँले जानकारी दिनुभयो ।     
     
कार्यालयका अनुसार १४ महिनामा काम सम्पन्न गर्नेगरी सिएन एवान काली जेभीसँग भ्याटबाहेक रु ३१ करोड ५६ लाखमा ठेक्का सम्झौता गरिएको हो । हाल साना संरचना तथा टेवा पर्खाल निर्माण भइरहेको जनाइएको छ । चिसो मौसमका कारण सडकमा सतह (सर्फेस्)को काम नभएको भन्दै चिसो कम हुँदै गएपछि पक्की बनाइने योगेशले बताउनुभयो । उक्त सडकखण्डमा कालोपत्रको काम सकिएपछि सडकको स्लोप मेन्टेन र अन्य बाँकी काम गरिने उहाँको भनाइ छ ।     
     
सात मिटर चौडाइको बन्ने उक्त सडकका विभिन्न खण्डमा रहेका पहिरो व्यवस्थापन गर्न नयाँ प्रविधिको प्रयोग गरिने सिनियर डिभिजनल इञ्जिनियर योगेशले जानकारी दिनुभयो । यसैबीच निर्माणमा ढिलासुस्ती हुँदा तीन वर्षदेखि राजमार्गको यात्रा कष्टकर बन्दै आएको स्थानीय बताउँछन् । कार्यलयले पुरानो ठेक्का रद्द गरेको पाँच महिनापछि गत साउनमा पुनः बोलपत्र आह्वान गरेको थियो ।     
     
उक्त सडक नयाँ निर्माण कम्पनीले समयमा सक्नेमा आशावादी भएको योगेशले बताउनुभयो । जिल्ला सदरमुकाम धुलिखेल-खावासम्मको उक्त सडक तोकिएको समयमा निर्माण सम्पन्न नभएको जनाउँदै कार्यालयले गौरी-पार्वती निर्माण सेवा कम्पनीसँगको ठेक्का रद्द गरेको थियो । सम्झौताको समयसीमा सकिएको ११ महिनापछि कार्यालयले विसं २०८१ फागुन १५ गते स्तरोन्नतिको जिम्मा लिएको गौरी-पार्वती निर्माण सेवासँगको ठेक्का रद्द गरेको थियो ।     
     
अरनिको राजमार्ग हुँदै नेपालको चीनसँगको उत्तरी नाका अर्थात् सिन्धुपाल्चोकको तातोपानी तथा छिमेकी जिल्ला दोलखा, रामेछापलगायत जिल्लातर्फ जाने मुख्य सडकको रूपमासमेत रहेको उक्त राजमार्ग समयमा नबन्दा यात्रु धुलो, हिलो, ट्राफिक जाम र दुर्घटनाको जोखिमबीच यात्रा गर्न बाध्य हुँदै आएका छन् ।     
     
 क्त सडकमा गुड्ने मालवाहक सवारीको भारवहन क्षमतालाई मध्यनजर गर्दै बलियो बनाउन नेपालमा पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्र डिबिएम र आस्फाल कालोपत्र गर्ने कार्यालयले योजना बनाएको छ । रासस
 

प्रकाशित मिति: आइतबार, चैत १, २०८२  १३:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update