नारायणगढ (चितवन) । चितवनमा यतिबेला चैते धान रोपाइँको चटारो छ । यहाँ पछिल्ला वर्षमा परम्परागत रूपमा रोपाहारको सट्टा मेसिनको प्रयोग बढ्दै गएको छ ।
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत कार्यक्रम कार्यान्वयन एकाइ चितवनमार्फत धान रोप्ने आधुनिक मेसिन प्रयोगमा आएपछि चैते धान रोपाइँमा यान्त्रिकीकरण बढ्दै गएको कार्यालयले जनाएको छ ।
कार्यालयका कृषि अधिकृत काशीराम पाण्डेले सुरुआतीमा मेसिनको महत्त्वबारे बुझाउन र प्रयोग सिकाउन केही कठिनाइ भए पनि हाले किसान आफैँले मेसिन खोज्न थालेका बताउनुभयो । “सुरुका वर्षमा कर्मचारीले खेतमै गएर बीउ राख्ने तरिका र मेसिनबाट रोपाइँ गर्ने विधिबारे सिकाउनुपथ्र्यो । हाल धेरै किसानले सिकिसकेका छन् र मेसिनको माग पनि बढ्दै गएकोे छ”, उहाँले भन्नुभयो ।
मेसिन प्रयोग गर्दा कम लागतमा बढी उत्पादन हुने भएकाले किसानहरू आकर्षित हुँदै गएको पाण्डेले बताउनुभयो । “उत्पादन बढाएर लागत घटाउन कृषिमा यान्त्रिकीकरण बढाउनैपर्छ,” उहाँले भन्नुभयो,“खेतीमा यान्त्रिकीकरण भए उत्पादन लागत झण्डै ३० देखि ४० प्रतिशतसम्म घटाउन सकिन्छ ।”
भरतपुर महानगरपालिका-६ देवनगरका किसान प्रकाश श्रेष्ठले यस वर्ष पहिलोपटक चार बिघा क्षेत्रफलमा मेसिनबाट र दुई बिघामा परम्परागत रूपमा रोपाइँ गरिरहेको जानकारी दिनुभयो । “मेसिनले रोप्दा ज्याला कम लाग्दो रहेछ । उत्पादन कति हुन्छ हेर्न बाँकी नै छ”, उहाँले भन्नुभयो ।
श्रेष्ठका अनुसार मेसिनबाट प्लास्टिक ट्रेमा राखेर फरक तरिकाले बेर्ना तयार गर्नुपर्ने हुन्छ । सामाजिक सञ्जालमा मेसिनबाट धान रोपेको देखेपछि आफूले जानकारी लिएर प्रयोग सुरु गरेको उहाँले सुनाउनुभयो ।
कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा देवनगरस्थित उन्नत बीउविजन केन्द्रलाई धान रोप्ने मेसिन उपलब्ध गराइएपछि त्यहाँका किसान यस प्रविधितर्फ आकर्षित भएको कृषि अधिकृत पाण्डेले बताउनुभयो । उहाँका अनुसार गत आर्थिक वर्षमा जिल्लाभर करिब ३०० हेक्टर क्षेत्रफलमा मेसिनबाट चैते धान रोपिएको थियो भने यसवर्ष थप ९८ हेक्टर क्षेत्रफलमा विस्तार भएको छ ।
“मेसिनबाट धान रोप्दा बीउ कम लाग्छ, ज्याला खर्च घट्छ र उत्पादन पनि बढ्छ”, पाण्डेले भन्नुभयो,“एक कठ्ठा क्षेत्रफलमा परम्परागत तरिकाले रोप्दा करिब दुई किलो बीउ लाग्ने भए पनि मेसिन प्रयोग गर्दा करिब ५०० ग्राम बीउले पुग्छ ।”
चितवनमा आव २०७७/७८ देखि चारपाङ्ग्रे मेसिनबाट धान रोपाइँ सुरु गरिएको थियो । हाल जिल्लामा १३ वटा मेसिन सञ्चालनमा छन् । यस वर्ष मात्र किसानलाई छ वटा मेसिन खरिद गर्न ५० प्रतिशत अनुदान उपलब्ध गराइएको कार्यालयले जनाएको छ ।
चितवनमा वार्षिक रूपमा करिब नौ हजार हेक्टर क्षेत्रफलमा चैते धानखेती हुने गरेको छ । जिल्लामा चैतेधान प्रवर्द्धन कार्यक्रम लागू भएपछि धान जोनको कमाण्ड क्षेत्र बाहिरका किसान पनि मेसिनबाट प्रत्यक्ष रूपमा लाभान्वित भएको अधिकृत पाण्डेले बताउनुभयो । रासस
