RayNewsDaily
स्ट्रबेरी खेतीले बढायो एग्रो टुरिजमको आकर्षण        

नारायणगढ (चितवन) । भरतपुर महानगरपालिका-५ समिचोकस्थित नेपाल एग्रोभाइन प्रालिको फर्ममा फलेको स्ट्रबेरीले यतिबेला पर्यटकको ध्यान तानेको छ ।     
     
विगत पाँच वर्षदेखि व्यावसायिक रूपमा सञ्चालन हुँदै आएको यस फर्मले स्ट्रबेरीखेतीसँगै एग्रो–टुरिजम प्रवद्र्धनलाई प्राथमिकता दिँदै आएको छ ।     
     
फर्मका सञ्चालकमध्येका प्रमुख ससन देवकोटा नौ वर्षअघि अमेरिका बसाइबाट नेपाल फर्किनुभएको हो । अमेरिकामा उच्च शिक्षा हासिल गरी उहाँले एग्रो टुरिजम मोडलमा आधारित कृषि व्यवसाय सुरु गर्नुभएको हो । “हामीले एग्रो–टुरिजम मोडलमा स्ट्रबेरी फर्म सञ्चालन गरेका छौँ । यहाँ आउने आगन्तुकले आफैँ स्ट्रबेरी टिपेर लैजान सक्छन्”, उहाँले भन्नुभयो ।     
स्ट्रबेरीखेती एक बिघा क्षेत्रफलमा फैलिएको छ भने समग्र फर्म पाँच बिघामा विस्तार गरिएको छ । फर्ममा चार जना स्थायी कर्मचारी कार्यरत छन् भने दैनिक ज्यालादारीमा आठदेखि १० जनासम्म कामदार खटिने गरेका छन् । यस वर्षदेखि आधुनिक तरीकाबाट स्ट्रबेरीसँगै टमाटर, क्याप्सिकम र खोर्सानी खेतीसमेत सुरु गरिएको छ ।     
     
देवकोटाका अनुसार यहाँ स्ट्रबेरी उत्पादनको मुख्य समय करिब ५० दिनसम्म रहन्छ । सुरुआती वर्षमा अनुसन्धान गर्दै उपयुक्त जात छनोट गरिएको उहाँ बताउनुहुन्छ । विशेषगरी अमेरिकन भेराइटीका स्ट्रबेरी तराई क्षेत्रमा राम्रो हुने भएकाले सोही जात लगाइएको छ ।     
     
उक्त बिरुवा मूलतः अमेरिकामा विकास गरिएको र हाल इजिप्टस्थित नर्सरीबाट आयात हुने गरेको उहाँको भनाइ छ । आगामी वर्षदेखि बिरुवा स्वदेशमै उत्पादन गर्ने योजना रहेको पनि उहाँले जानकारी दिनुभयो ।     
     
“स्ट्रबेरीले अहिले एग्रो टुरिजमलाई राम्रोसँग प्रवद्र्धन गरेको छ”, उहाँले भन्नुभयो । एग्रो टुरिजममार्फत कृषिसँग प्रत्यक्ष जोडिने अवसर मिल्ने भएकाले बालबालिका तथा विद्यार्थीका लागि यो उपयोगी माध्यम बनेको उहाँको अनुभव छ । विभिन्न कृषि कलेजका विद्यार्थीले फर्ममा अध्ययन तथा अनुसन्धानसमेत गर्दै आएका छन् । व्यावहारिक शिक्षामा यसले टेवा पु¥याएको देवकोटाको भनाइ छ ।     
     
देवकोटाका अनुसार पहाडी भेगमा पाइने भुइँ ऐँसेलु जातका स्ट्रबेरी समुद्री सतहबाट करिब १७ सयदेखि १९ सय मिटर उचाइमा राम्रो फल्ने गर्छन् । “एग्रो–टुरिजमको सम्भावना नेपालमा धेरै छ”, देवकोटाले भन्नुभयो, “अहिले मानिस कृषिसँग जोडिने रहर राख्छन् । केहीले भने पैसा कमाएर खेती छोड्ने अवस्था पनि देखिन्छ । तर जति कमाए पनि अन्ततः खानैपर्छ भन्ने कुरा बिर्सेर खेती छोडेका छन् । हाम्रो टिमको उद्देश्य भने कृषि पढेर कृषिमै रमाउन सकिन्छ भन्ने सोचको विकास गर्नु हो ।” उहाँले आगामी दिनमा अन्य स्थानमा पनि एग्रो–टुरिजम विस्तार गर्ने योजना रहेको बताउनुभयो । रासस

प्रकाशित मिति: शुक्रबार, फागुन १५, २०८२  १४:००
प्रतिक्रिया दिनुहोस्
Weather Update