RayNewsDaily
खालिदा जियालाई राजकीय बिदाइ        

ढाका । बङ्गलादेशले बुधबार पूर्वप्रधानमन्त्री बेगम खालिदा जियालाई राजकीय सम्मानका साथ अन्तिम बिदाइ दिएको छ । राजधानी ढाकामा आयोजित अन्त्येष्टिमा विशाल भीड उपस्थित रहँदा देशले दशकौँसम्म आफ्नो राजनीतिलाई आकार दिनुभएकी एक प्रभावशाली नेतृप्रति गहिरो शोक प्रकट गर्‍यो ।     
     
प्रधानमन्त्रीका रूपमा सेवा गर्ने बङ्गलादेशकी पहिलो महिला रहनुभएकी खालिदा जियाको मङ्गलबार ८० वर्षको उमेरमा निधन भएको हो । सत्र करोड जनसङ्ख्या भएको यस दक्षिण एसियाली मुलुकमा उहाँको निधनले राजनीतिक तथा सामाजिक क्षेत्रमा गहिरो शून्यता सिर्जना गरेको छ ।     
     
अन्त्येष्टिका क्रममा राष्ट्रिय झण्डा आधा झुकाइएको थियो । हजारौँ सुरक्षाकर्मीको उपस्थितिमा उहाँको पार्थिव शरीर राष्ट्रिय झण्डाले ढाकिएको गाडीमा राजधानीका मुख्य सडक हुँदै लगिएको थियो । सडकछेउ उभिएका सर्वसाधारणले मौन श्रद्धाञ्जलि अर्पण गरेका थिए ।     
     
सेवानिवृत्त सरकारी कर्मचारी मिन्हाज उद्दीनले आफूले कहिल्यै उहाँलाई मत नदिए पनि तीन पटक प्रधानमन्त्री बन्नुभएकी नेतृप्रति सम्मान प्रकट गर्न आएको बताउनुभयो । “म मेरो नातिसँग यहाँ आएको हुँ, एक अनुभवी राजनीतिज्ञलाई अन्तिम विदाइ दिन, जसको योगदान सधैँ सम्झिरहनेछ”, उहाँले भन्नुभयो ।     
     
शोकमग्न शर्मिना सिराजले बेगम जियालाई महिला नेतृत्वको प्रेरणाका रूपमा स्मरण गर्नुभयो । दुई सन्तानकी आमाले बालिकाहरूको शिक्षाका लागि सुरु गरिएको स्टाइपेन्ड कार्यक्रमले ‘हाम्रा छोरीहरूको जीवनमा ठूलो परिवर्तन ल्याएको’ बताउनुभयो ।     
     
लामो समयदेखि खराब स्वास्थ्य र कारावासको पीडाका बाबजुद बेगम जियाले फेब्रुअरी १२ मा तय भएको निर्वाचनमा पार्टीको समर्थनमा सक्रिय रहने प्रतिबद्धता जनाउनुभएको थियो । उक्त निर्वाचन गत वर्ष भएको जनआन्दोलनपछि शेख हसिनाको सत्ता पतनपछिको पहिलो मतदान हो ।     
     
उहाँको नेतृत्वमा रहेको बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) लाई निर्वाचनमा अग्रस्थानमा देखिएको छ । सत्र वर्षको निर्वासनपछि हालै स्वदेश फर्कनुभएका उहाँका सुपुत्र तारिक रहमानलाई पार्टीले बहुमत पाए सम्भावित प्रधानमन्त्रीका रूपमा हेरिएको छ ।     
     
“उहाँ अब हामीबीच हुनुहुन्न, तर उहाँको विरासत जीवित छ र बिएनपी पनि जीवित छ”, अन्त्येष्टि हेर्न परिवारसहित टाढाबाट आएकी जेनी परवेजले भन्नुभयो ।     
     
नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारले तीन दिनको राष्ट्रिय शोक घोषणा गर्दै विस्तृत राजकीय अन्त्येष्टि आयोजना गरेको हो । संसद् भवन बाहिर ठूलो भीड जम्मा भएको थियो, जहाँ निर्धारित समयमै अन्त्येष्टि प्रार्थना सम्पन्न गरियो । युनुसले बङ्गलादेशले ‘एक महान् संरक्षक गुमाएको’ प्रतिक्रिया दिनुभयो ।     
     
बेगम खालिदा जियाको पार्थिव शरीर उहाँका दिवङ्गत पति, पूर्व राष्ट्रपति जियाउर रहमानसँगै दफन गरिनेछ । रहमानको सन् १९८१ मा हत्या भएको थियो ।     
     
तारिक रहमानले विज्ञप्ति जारी गर्दै देशले ‘आफ्ना लोकतान्त्रिक आकांक्षालाई दिशा दिने मार्गदर्शक व्यक्तित्व गुमाएको’ बताउनुभयो । उहाँले आमाले पटक-पटक गिरफ्तारी, उपचारमा अवरोध र निरन्तर दबाब सहनुपरे पनि ‘उहाँको साहस र दृढता कहिल्यै नटुटेको’ उल्लेख गर्नुभयो ।     
     
धेरै स्वास्थ्य समस्याबाट ग्रसित बेगम जियालाई नोभेम्बर अन्त्यतिर अस्पताल भर्ना गरिएको थियो । उपचारका बाबजुद अवस्था सुधार हुन नसक्दा उहाँको निधन भएको हो । यद्यपि, निधन हुनुभन्दा केही घण्टाअघि मात्र पार्टी कार्यकर्ताले उहाँको तर्फबाट आगामी निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका थिए ।     
     
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्दै बेगम जियाको ‘दूरदृष्टि र विरासतले दुई देशबीचको सम्बन्धलाई मार्गदर्शन गरिरहने’ आशा व्यक्त गर्नुभएको छ । भारतका विदेशमन्त्री डा. एस. जयशङ्कर अन्त्येष्टिमा सहभागी हुनुभएको छ, जुन शेख हसिनाको पतनपछि भएको भारतको सबैभन्दा उच्चस्तरीय भ्रमण हो । पाकिस्तानका वरिष्ठ अधिकारीहरू पनि कार्यक्रममा सहभागी भएका छन् ।     
     
हाल भारतमा आश्रित रहनुभएकी पूर्वप्रधानमन्त्री शेख हसिनले पनि सामाजिक सञ्जालमार्फत बेगम खालिदा जियाको आत्माको चिरशान्तिका लागि प्रार्थना गर्नुभएको छ । एएफपी   
 

प्रकाशित मिति: बुधबार, पुस १६, २०८२  १४:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update