RayNewsDaily
भेनेजुयलासँग द्वन्द्व नगर्न अमेरिकालाई रुसको आग्रह        

मस्को । रुसले भेनेजुएलाको नेतृत्वको पक्षमा उभिएको र अमेरिकी सरकारलाई काराकाससँग पूर्ण द्वन्द्व नगर्न आग्रह गरेको रुसी उप विदेशमन्त्री सेर्गेइ र्याबकोभले आइतबार बताउनुभएको छ ।     
     
उहाँले भन्नुभयो, “भेनेजुएलामा तनाव उच्च रहेको छ र बढ्दै गएको छ । मस्कोले त्यहाँ देखिएका पछिल्ला घटनाक्रमलाई गहिरो चासोका साथ हेरेको छ।”     
     
र्याबकोभले भन्नुभयो, “भेनेजुयला विवाद यस क्षेत्रमा निर्विवाद प्रभुत्व कायम गर्ने वाशिङ्गटनको चाहनासँग जोडिएको छ र यो ट्रम्प प्रशासनको ट्रेडमार्क हो।”     
     
दुई देशबीच हालै सम्पन्न रणनीतिक साझेदारी र सहयोगसम्बन्धी सम्झौतालाई उद्धृत गर्दै र्याबकोभले रुसले भेनेजुएलासँग बलियो ऐक्यबद्धता कायम राखेको पनि बताउनुभएको छ। र्याबकोभले भन्नुभयो, “हामी भेनेजुएलालाई समर्थन गर्दछौँ, त्यसरी नै यसले हामीलाई समर्थन गर्दछ । यो कठिन समयमा हामी काराकास र उसको नेतृत्वसँग काँधमा काँध मिलाएर उभिएका छौँ।”     
     
अमेरिकाले क्यारेबियन सागरमा आफ्नो सैन्य उपस्थिति बढाएको छ । पेन्टागनले सेप्टेम्बर २ यता क्यारेबियन र पूर्वी प्रशान्त महासागरमा कथित लागुऔषध जहाजहरूमा कम्तिमा २२ पटक आक्रमण गरेको छ, जसमा ८७ भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । सिन्ह्वा   

प्रकाशित मिति: सोमबार, मंसिर २२, २०८२  ०८:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update