न्युयोर्क । संयुक्त राष्ट्रसङ्घीय महासभाले प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य एजेन्सी (युएनआरडब्लुए) को जनादेश नवीकरण सहित प्यालेस्टाइनको पक्षका प्रस्तावहरूलाई भारी बहुमतले पारित गरेको छ ।
प्यालेस्टिनी शरणार्थीहरूलाई सहयोग गर्ने सम्बन्धमा पहिलो प्रस्तावलाई १५१ देशहरूले समर्थन गरेका थिए, भने १० वटा विरुद्धमा र १४ वटा अनुपस्थित थिए । दोस्रो प्रस्ताव, युएनआरडब्लुएको सञ्चालन र तीन वर्षका लागि नवीकरण गर्ने सम्बन्धमा, १४५ देशहरूले समर्थन गरेका थिए, १० वटा विरुद्धमा थिए भने १८ वटा अनुपस्थित थिए ।
प्यालेस्टिनी शरणार्थीहरूको सम्पत्ति र यसबाट प्राप्त राजस्व सम्बन्धी तेस्रो प्रस्तावलाई १५७ देशहरूले समर्थन गरेका थिए, १० वटा विरुद्ध जनाएका छन् भने नौ वटा अनुपस्थित थिए ।
चौथो प्रस्ताव, प्यालेस्टिनी जनता र कब्जा गरिएका क्षेत्रहरूमा मानव अधिकारलाई असर गर्ने इजरायली अभ्यासको अनुसन्धान गर्ने विशेष समितिको कामको सम्बन्धमा, ८८ वटाले पक्षमा, १९ वटा बिरूद्धमा मतदान गरे भने ६४ वटा अनुपस्थित रहे ।
पूर्वी जेरुसेलम र कब्जा गरिएको सिरियाली गोलानसहित कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रमा इजरायली बस्तीहरू सम्बन्धी, पाँचौँ प्रस्ताव १४६ मत सहित पारित भयो ।
युएनआरडब्लुएका आयुक्त–जनरल फिलिप लाजारिनीले युएनआरडब्लुएको जनादेशलाई तीन वर्षका लागि नवीकरण गर्न संयुक्त राष्ट्र महासभाले गरेको भारी मतदानलाई स्वागत गर्दै प्रस्तावले प्यालेस्टाइन शरणार्थीहरूसँग विश्वव्यापी ऐक्यबद्धता उजागर गर्ने जनाउनु भयो ।
संयुक्त राष्ट्रका अधिकारीहरुले विज्ञप्ति जारी गर्दै प्रस्तावले प्यालेस्टाइन शरणार्थीहरूको मानवीय र मानव विकासको आवश्यकतालाई समर्थन गर्ने अन्तर्राष्ट्रिय समुदायको जिम्मेवारीको स्वीकृतिलाई प्रतिनिधित्व गर्ने जनाएका छन् । क्युएनए
