RayNewsDaily
सी-म्याक्रों भेटवार्ता शान्ति र व्यापार विषयमा केन्द्रित

पैचिङ । पदमा रहँदा चीनको चौथो भ्रमणमा रहेका म्याक्रोंको यो तीनदिने यात्रा युक्रेनमा युद्धविरामको व्यावहारिक मार्ग खोज्ने र फ्रान्समा थप चिनियाँ लगानी आकर्षित गर्ने उद्देश्यमा केन्द्रित छ । फ्रान्सको चीनसँगको व्यापार घाटा सन् २०२४ मा बढेर ४६ अर्ब युरो (झन्डै ५४ अर्ब डलर) पुगेको छ ।

ग्रेट हल अफ द पिपल्समा भव्य स्वागतकाबीच सम्पन्न उच्चस्तरीय वार्तामा म्याक्रोंले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई फ्रान्स र चीनले 'साथसाथै काम गर्दा मात्रै निर्णायक परिणाम' सम्भव हुने बताउनुभएको  थियो । उहाँले युक्रेन युद्धले युरोपेली सुरक्षामाथि मात्र नभई अन्तर्राष्ट्रिय विधि-व्यवस्थामाथि पनि गम्भीर चुनौती उत्पन्न गरेको उल्लेख गर्नुभयो ।

जवाफमा राष्ट्रपति सीले चीन वार्ता तथा कूटनीतिक माध्यममार्फत 'न्यायपूर्ण, स्थायी र सबै पक्षले स्वीकार्य' शान्ति सम्झौताका लागि प्रतिबद्ध रहेको दोहोर्‍याउनुभयो । यद्यपि, पश्चिमी राष्ट्रहरूले बेइजिङमाथि रूसको युद्ध प्रयासलाई आर्थिक तथा प्राविधिक सहयोग पुर्‍याएको आरोप लगाउँदै आएका छन् । म्याक्रोंले चीनलाई 'कुनै पनि तरिकाले' रूसलाई युद्ध दीर्घकालीन बनाउने सहयोगबाट टाढा रहन सन्देश दिने बताउनुभएको छ ।

व्यापारका विषयमा म्याक्रोंले जी-७ शिखर सम्मेलनको आयोजनाको तयारीमा रहेकाले पैचिङलाई 'अधिक सन्तुलित र निष्पक्ष' नियम-आधारित आर्थिक प्रणाली बनाउन सहयोग गर्न आग्रह गर्नुभयो । युरोपेली संघ हाल चीनसँग तीन खर्ब ५७ अर्ब डलर बराबरको भारी व्यापार घाटामा छ ।

म्याक्रोंले प्रधानमन्त्री ली खछ्याङसँग भेट्नुअघि प्रविधिगत क्षेत्रमा चिनियाँ प्रविधिमा निर्भरता घटाउनुपर्ने युरोपेली आवश्यकतामा पनि जोड दिनुभएको छ । एजेन्सी

प्रकाशित मिति: बिहीबार, मंसिर १८, २०८२  १६:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update