काबुल । अफगानिस्तानका पूर्वी क्षेत्रहरूलाई लक्षित गरी पाकिस्तानले गरेको हवाई आक्रमणमा कम्तीमा १० सर्वसाधारणको मृत्यु भएको तालिबान सरकारले जनाएको छ । यो घटना पाकिस्तानको पेशावरस्थित सुरक्षा परिसरमा भएको सोमबारको आत्मघाती आक्रमणको भोलिपल्ट भएको हो ।
तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले सामाजिक सञ्जाल एक्समार्फत भन्नुभयो, “पाकिस्तानी आक्रमणकारी सेनाले एक स्थानीय नागरिकको घरमा बम प्रहार गर्दा खोस्त प्रान्तमा पाँच बालक, चार बालिका र एक महिलासहित १० जनाको मृत्यु भएको छ ।” उहाँका अनुसार कुनार तथा पक्तिका सीमावर्ती क्षेत्रमा गरिएका थप आक्रमणमा चार सर्वसाधारण घाइते भएका छन् ।
पाकिस्तानी सेनाले यस विषयमा कुनै आधिकारिक टिप्पणी गरेको छैन ।
यसअघि पेशावरस्थित पाकिस्तानको अर्धसैनिक सङ्घीय कन्स्टेबुलरी बलको मुख्यालयमा लक्षित आत्मघाती आक्रमणमा तीन जना अधिकारीको मृत्यु र ११ जना घाइते भएका थिए । कुन समूह जिम्मेवार रहेको भन्ने पुष्टि नभए पनि राज्य प्रसारक पिटिभीले आक्रमणकारीहरू अफगान नागरिक भएको रिपोर्ट गरेको छ र राष्ट्रपति आसिफ जरदारीले ‘विदेशी-समर्थित फितना अल-खवारीज’ लाई दोष लगाउनुभएको छ । इस्लामाबादको शब्द फिता अल-खवारिज अर्थात तहरीक-ए-तालिबान पाकिस्तान (टिटिपी) आतङ्ककारीहरूलाई अफगान भूमिबाट सञ्चालन गरेको आरोप लगाइएको छ ।
यसै महिनाको सुरुआतमा पाकिस्तानको राजधानी इस्लामाबादमा भएको अर्को आत्मघाती विस्फोटमा १२ जनाको ज्यान गएको थियो । उक्त विस्फोटको जिम्मा अफगान तालिबानसँग विचारधारा मिल्ने पाकिस्तान तालिबान (टिटिपी) नजिकको एक समूहले लिएको थियो । पाकिस्तानले उक्त आक्रमण ‘अफगानिस्तानमा आधारित हाइकमान्डद्वारा निर्देशन गरिएको’ भएको आरोप लगाएको थियो ।
तनावग्रस्त द्विपक्षीय सम्बन्ध
सन् २०२१ मा तालिबान पुनः सत्तामा आएपछि पाकिस्तान-अफगानिस्तान सम्बन्ध लगातार तनावग्रस्त बनेको छ । गत अक्टोबरमा सीमा क्षेत्रमा भएको भिडन्तमा दुवै पक्षतर्फ करिब ७० जनाको मृत्यु भएपछि कतार र टर्कीको मध्यस्थतामा अस्थायी युद्धविराम भए पनि इस्तानबुलमा भएको वार्ताले स्थायी सुरक्षा समझदारी कायम गर्न सकेन ।
पाकिस्तानले अफगान भूमिमा टिटिपीलाई सुरक्षित आश्रय दिइएको आरोप लगाइरहेको छ, तर काबुलले उक्त आरोप कडा रूपमा अस्वीकार गर्दै उल्टै पाकिस्तानले अफगानिस्तानविरुद्ध शत्रुतापूर्ण समूहहरूलाई सहयोग गर्ने गरेको प्रतिवाद गर्दछ ।
यस्तै पाकिस्तान-अफगानिस्तान संयुक्त उद्योग वाणिज्य चेम्बरले यस हप्ता हजारौँ मालबाहक कन्टेनरहरू सीमा नाकामा रोकिँदा प्रत्येकले दैनिक १५०-२०० डलरसम्म अतिरिक्त खर्च खेप्नुपर्ने स्थिति अनुपयुक्त र ‘असहनीय’ भएको चेतावनी दिएका छन् ।
सम्पूर्ण घटनाक्रमले दुवै मुलुकबीचको सम्बन्ध फेरि गम्भीर तनावतर्फ फर्किएको सङ्केत गर्दछ । एएफपी
