RayNewsDaily
जर्जियामा टर्कीको सैन्य विमान दुर्घटना, २० जनाको मृत्यु        

इस्तानबुल । टर्कीको एक सैन्य कार्गो विमान जर्जियाको पूर्वी क्षेत्रमा दुर्घटनाग्रस्त हुँदा चालकदलका सदस्यसहित विमानमा सवार सबै २० जनाको मृत्यु भएको टर्की सरकारले पुष्टि गरेको छ ।     
     
टर्कीको रक्षा मन्त्रालयका अनुसार उक्त सी-१३० हर्कुलस विमानले मङ्गलबार दिउँसो अजरबैजानको पश्चिमी सहर गन्जाबाट उडान भरेको थियो र केही समयपछि जर्जियाको आकाशीय क्षेत्र पार गर्दै गर्दा दुर्घटनामा परेको हो ।     
     
विमानमा रहेका सबै २० जना सुरक्षाकर्मी र प्राविधिक जनशक्तिको निधन भएको जनाइएको छ । टर्कीका रक्षामन्त्री यासर गुलरले आफ्नो आधिकारिक एक्स खातामा विज्ञप्ति प्रकाशित गर्दै भन्नुभयो, “अजरबैजानबाट स्वदेश फर्कंदै गरेको हाम्रो सी-१३० सैन्य कार्गो विमान दुर्घटनामा परेर ११ नोभेम्बर २०२५ मा हाम्रा वीर सहकर्मीहरू शहीद हुनुभएको छ । देशले उहाँहरूको बलिदानलाई सधैँ सम्झनेछ ।”     
     
दुर्घटनाको कारणबारे टर्कीले हालसम्म औपचारिक विवरण सार्वजनिक गरेको छैन । तर अजरबैजानका सञ्चारमाध्यमहरूले प्रकाशित गरेका प्रत्यक्षदर्शी दृश्यहरूमा विमान हावाबाट तीव्र रूपमा खस्दै जमिनमा ठोक्किएपछि ठूला-ठूला टुक्रामा फुटेको र वरिपरि धुवाँको मुस्लो उठेको देखिन्छ ।     
     
जर्जियाको गृह मन्त्रालयका अनुसार दुर्घटना अजरबैजान सीमाबाट करिब पाँच किलोमिटर टाढा सिघनाघी क्षेत्रमा भएको हो । मन्त्रालयले स्थानीय सुरक्षा निकाय र उद्धार टोलीहरू घटनास्थलमा पठाइसकेको छ र आवश्यक अनुसन्धान सुरु गरिएको जनाएको छ ।     
     
जर्जियाको एयर ट्राफिक कन्ट्रोलका अधिकारीहरूले विमान आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेलगत्तै राडार सम्पर्क हराएको जानकारी दिएका छन् । “विमानले कुनै सङ्कट सङ्केत प्रसारण नगरी अचानक सम्पर्क विच्छेद भयो”, एक वरिष्ठ अधिकारीले भने । त्यसपछि आपतकालीन सेवाहरूले दुर्घटनास्थल पत्ता लगाएका थिए ।     
     
दुर्घटनामा परेको सी-१३० हर्कुलस विमान अमेरिकी कम्पनी लकहिड मार्टिनद्वारा निर्मित हो । यसलाई विश्वभरका सेनाहरूले मालसामान र जनशक्ति ढुवानीका लागि प्रयोग गर्ने गर्छन् ।     
     
टर्की र जर्जियाका अधिकारीहरूले संयुक्त रूपमा दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरेका छन् । प्रारम्भिक मूल्याङ्कन अनुसार खराब मौसम वा प्रविधिगत समस्या दुर्घटनाको सम्भावित कारण हुनसक्ने बताइएको छ ।     
     
टर्की सरकारले शहीद सैनिकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूको परिवारप्रति समवेदना प्रकट गरेको छ । एएफपी 

प्रकाशित मिति: बुधबार, कात्तिक २६, २०८२  १४:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update