
वासिङ्टनडीसी (अमेरिका) । लामो युद्ध अन्त्य गर्ने सम्झौताको सफलता सँगै इजरायल-गाजा द्वन्द्वमा बन्दी बनाइएका अन्तिम २० जना बन्धकहरूलाई रिहा गरिएको छ । यो समाचारपछि विज्ञप्ति जारी गर्दै पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनले बन्दक मुक्ति र नयाँ युद्धविराम सम्झौताप्रति कृतज्ञता व्यक्त गदै यसको नेतृत्व गरेकामा राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशंसा गर्नुभएको छ ।
सफलता प्राप्ति भएकोमा आभार व्यक्त गर्दै अन्तिम जीवित २० जना बन्धकहरूका लागि अकल्पनीय नरकबाट गुज्रेर अन्ततः आफ्नो परिवार र प्रियजनहरूसँग पुनर्मिलन भएकोमा खुशी व्यक्त गर्नु भएको छ ।
युद्धका कारणले अथाह क्षति भोगेका गाजाका नागरिकहरूले युद्धविराम र शान्ति सम्झौता पछि अन्ततः आफ्नो जीवन पुनर्निर्माण गर्ने मौका पाउने बाइडेनले सामाजिक सञ्जमाल एक्स मार्फत जनाउनु भएको हो ।
उहाँले आफ्नो राष्ट्रपतिको कार्यकालमा मानवीय सङ्कटलाई सम्बोधन गर्न र द्वन्द्वको अन्त्य गर्न आफुले हरसम्भव प्रयास गरेको बताउदै यो सम्झौताको बाटो सजिलो नभएता पनि हाल आएर सम्भव भएकोमा राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँको टोलीलाई सम्झौता अन्तिम रूप दिन सहयोग गरेको श्रेय दिनु भएको छ ।
अन्तर्राष्ट्रिय समर्थनका साथ गरिएको सम्झौतामा बन्धकहरूको सुरक्षित फिर्ती र युद्ध अन्त्येका साथै गाजामा पुनर्निर्माण प्रयासको ढोका खोल्ने र दीर्घकालीन कूटनीतिक संलग्नता दुवै समावेश हुने उहाँले बताउनु भएको छ ।
संयुक्त राज्य अमेरिका र विश्वको समर्थनमा, मध्य पूर्व शान्तिको बाटोमा गएको बताउदै उहाँले आगामी दिनमा इजरायली र प्यालेस्टिनीहरूका लागि शान्ति, र सुरक्षाको साथ उज्जवल भविष्यको आशा व्यक्त गर्नु भएको छ ।
ट्रम्पले अन्य क्षेत्रीय नेताहरूसँगै गाजा युद्धविराम सम्झौतामा सोमबार, हस्ताक्षर गर्नु भएको थियो । एएनआई