
बेइजिङ । विश्वको सर्वोच्च शिखर सगरमाथा नजिकैको तिब्बती पठारमा सप्ताहन्तमा परेको भीषण हिमपातपछि फसेका करिब एक हजार पर्वतारोही र सहयोगी कर्मचारीलाई सकुशल उद्धार गरिएको चिनियाँ राज्य मिडियाले जानकारी दिएको छ ।
हालका वर्षहरूमा चीनको पश्चिमी उच्चभूमि क्षेत्रमा पर्यटन तीव्र गतिमा बढ्दै आएको छ । यो वर्षको आठ दिने राष्ट्रिय बिदाका अवसरमा हजारौँ पर्यटक र बाहिरी खेलप्रेमीहरू यस क्षेत्रका प्रसिद्ध ट्रेकिङ मार्गहरूमा पुगेका थिए ।
तर सप्ताहन्तमा परेको तीव्र हिमपातले धेरै शिविरहरू पुरिँदा यात्रुहरू फस्न पुगेका थिए । त्यसपछि उद्धारकर्मीहरूले अग्निशामक, घोडा, याक र ड्रोनसम्म प्रयोग गरी ठूलो मात्रामा उद्धार अभियान सञ्चालन गरेका थिए ।
राज्य समाचार एजेन्सी सिन्ह्वाका अनुसार पाँच सय ८० जना पर्वतारोही र तीन सयभन्दा बढी स्थानीय गाइड, कर्मचारी र याक गोठालाहरू सुरक्षित रूपमा नजिकैको बस्तीमा फर्किएका छन् । उद्धार टोलीहरूले लगभग एक दर्जन थप पर्वतारोहीहरूलाई आपूर्तिसहित नजिकैको बस्तीमा पु¥याएका छन् ।
सबैजना सुरक्षित रूपमा फर्किएपछि सगरमाथा नजिकको उद्धार अभियान औपचारिक रूपमा समाप्त भएको बताइएको छ । यद्यपि अप्रत्याशित चरम मौसमका कारण नजिकका अन्य क्षेत्रमा क्षति पुगेको जनाइएको छ ।
छिमेकी किङ्घाई प्रान्तमा एक हाइकरको हाइपोथर्मिया र उचाइ रोगका कारण मृत्यु भएको राज्य मिडियाले सोमबार पुष्टि गरेको छ ।
यसैबीच, नेपाल र भारतको सिमानामा भारी वर्षाले निम्त्याएको बाढी र भूस्खलनबाट ७० जनाभन्दा बढीको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । उद्धारकर्मीहरूले दुर्गम पहाडी बस्तीहरूमा पुग्न अहिलेसम्म पनि कठिनाइ भोगिरहेका छन् । एएफपी