RayNewsDaily
थाई राजनीतिज्ञ अनुतिन चार्नविराकुल संसदमा विजयी, प्रधानमन्त्री निर्वाचित        

बैङ्कक । वरिष्ठ थाई राजनीतिज्ञ अनुतिन चार्नविराकुल शुक्रबार संसद्मा बहुमत मत प्राप्त गर्दै देशको नयाँ प्रधानमन्त्री बन्नुभएको छ ।  टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारित अनौपचारिक परिणामअनुसार उहाँले आवश्यक दुई सय ४७ भन्दा बढी मत हासिल गर्नुभएको हो ।     
     
मतदानको आधिकारिक प्रमाणीकरणपछि राजा महा भाजिरालोङ्गकोर्नबाट औपचारिक नियुक्ति पाउने र केही दिनभित्रै उहाँले सरकार गठन गर्ने अपेक्षा गरिएको छ ।     
     
अनुतिनले गत हप्ता अदालतको आदेशमा पदच्युत भएकी प्रधानमन्त्री पेटोङटार्न सिनावात्राको स्थान लिनुभएको हो ।     
     
पेटोङटार्नमाथि छिमेकी कम्बोडियाका सिनेट अध्यक्ष हुन सेनसँगको विवादास्पद फोनकलमार्फत नैतिकता उल्लङ्घन गरेको ठहर गरिएको थियो । यो विवादले जुलाईमा पाँच दिन लामो घातक सशस्त्र द्वन्द्व समेत जन्माएको थियो ।     
     
पेटोङटार्नकै मन्त्रीमण्डलमा मन्त्री रहेका अनुतिनले त्यसपछि राजीनामा दिनुभएको थियो र आफ्नो भूमजाइथाई पार्टीलाई गठबन्धन सरकारबाट फिर्ता लिनुभएको थियो ।     
     
फोनकल चुहावटपछि सार्वजनिक हल्ला मच्चिँदा राजनीतिक सङ्कट थप गहिरिएको थियो ।     
     
सन् २०२३ को आमनिर्वाचनमा प्रधानमन्त्रीका लागि योग्य पाँच उम्मेदवारमध्ये अनुतिन पनि एक हुनुहुन्थ्यो । तर हालसम्मको राजनीतिक उतारचढावले कार्यवाहक सरकारलाई कमजोर बनाएको थियो ।     
     
फेउ थाई पार्टीले मङ्गलबार संसद् विघटन गर्ने प्रयास गरे पनि राजाको प्रिभी काउन्सिलले त्यसलाई अस्वीकार गरेको थियो।     
     
अन्ठाउन्न वर्षीय अनुतिनले यसअघि फेउ थाई नेतृत्वको गठबन्धन सरकार र पूर्वप्रधानमन्त्री प्रयुथ चान-ओचा अन्तर्गतको सेना समर्थित सरकार दुवैमा सेवा गरिसक्नुभएको छ ।     
     
उहाँको पार्टीले पिपुल्स पार्टीसँगको सम्झौताअनुसार चार महिनाभित्र संसद् विघटन गर्ने वाचा गरेको छ । तर पिपुल्स पार्टीका नेता नाथाफोङ रुएङपान्यावुतले नयाँ सरकारलाई सम्भावित अल्पसङ्ख्यकमा छोड्दै विपक्षमा बस्ने घोषणा गर्नुभएको छ । एपी

प्रकाशित मिति: शुक्रबार, भदौ २०, २०८२  १५:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update