RayNewsDaily
वसन्तपुर दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान    

काठमाडौं । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रस्थित कालभैरवको मूर्तिअघि ईन्द्रजात्राको लिङ्गो उठाइएको अर्थात् इन्द्रध्वजोत्थान गरिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइत अनुसार आज बिहान १०ः३१ बजे कालभैरवको मूर्तिअघि इन्द्रध्वजोत्थान गरिएको गुठी संस्थान काठमाडौँ शाखा कार्यालयका प्रमुख लक्षुणा शर्माले राससलाई जानकारी दिनुभयो । यसअघि भदौ १५ गते ईन्द्रजात्राको लिङ्गो नगर प्रवेश गराइएको थियो ।     
     
भाद्र शुक्ल अष्टमीका दिन भोटाहिटीबाट ईन्द्रजात्राको लिङ्गो वसन्तपुर दरबार क्षेत्रस्थित कालभैरवको मूर्तिअघि लगी राख्नुलाई नगर प्रवेश गराउनु भनिन्छ । भाद्र शुक्ल द्वितीयाको राति भक्तपुरस्थित चित्तपोल सामुदायिक वनमा काटिएको सल्लाको रुख त्यसको भोलिपल्ट घिसार्दै भोटाहिटीमा ल्याई राखिएको थियो ।     
     
त्यही लिङ्गोलाई आज बाँस, डोरीलगायतको सहायताले उठाइएको अर्थात् ईन्द्रध्वजोत्थान गरिएको हो । ईन्द्रध्वज र पताकासहित तान्त्रिक विधिले ईन्द्रध्वजोत्थान गरिएको संस्थानका धार्मिक एवं सांस्कृतिक शाखा प्रमुख राजेन्द्र दाहालले बताउनुभयो ।     
     
भाद्र शुक्ल द्वादशीका अवसरमा आज ईन्द्रध्वजोत्थान गरेपछि भाद्र शुक्ल चतुर्दशी अर्थात् अनन्त चतुर्दशीका दिन शनिबार राष्ट्रपति रामचन्द्र पौडेलसहित विशिष्ट व्यक्तित्वको उपस्थितिमा श्रीकुमारी, श्रीगणेश र श्रीभैरवको यात्रा गराइन्छ । यो दिन ईन्द्रजात्राको मुख्य दिन हो । यस अवसरमा काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिने प्रचलनसमेत रही आएको छ । रासस

प्रकाशित मिति: बिहीबार, भदौ १९, २०८२  १३:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update