
कृत्रिम बुद्धिमत्ता अर्थात् आर्टिफिशल इन्टेलिजेन्स (एआई)को प्रयोग डरलाग्दो गतिमा बढिरहेको छ।
तर के तपाईँलाई थाहा छ, यो अत्यधिक पानी प्रयोग गर्ने प्रविधि हो नि। यसका लागि दुई चरणमा पानीको प्रयोग हुन्छ। एउटा चिसो बनाउन र अर्को प्रयोगका लागि चाहिने बिजुली उत्पादन गर्न।
संयुक्त राष्ट्रसङ्घका अनुसार विश्वको आधा जनसङ्ख्याले अहिले नै पानीको अभाव सामना गरिरहेको छ। जलवायु परिवर्तन र यसको बढ्दो मागका कारण पानीको अभाव आगामी दिनमा अझै चर्कने ठानिएको छ।
के एआईको तीव्र गतिमा बढ्दो प्रयोगले अवस्था अझै विकराल बनाउन सक्छ?
एआईले कति पानी प्रयोग गर्छ?
ओपन एआईका प्रमुख कार्यकारी अधिकृत साम अल्टम्यानका अनुसार च्याट जीपीटीले एउटा प्रश्नको जबाफ दिन १५ चम्चा पानी खर्च गर्छ।
अमेरिकी प्राज्ञहरूले क्यालिफोर्निया र टेक्ससमा गरेको एक अध्ययनले ओपन एआईको जीपीटी-३ ले १० देखि ५० प्रश्नको जबाफ दिन आधा लिटरसम्म पानी प्रयोग गर्ने देखाएको थियो। यसको अर्थ एउटा प्रश्नको जबाफका लागि दुई देखि १० चम्चा पानी खर्च हुन्छ।
एआईले दिने जबाफमा कति पानी खर्च हुन्छ भन्ने कुरा प्रश्न कस्तो प्रकारको छ, जबाफ कति लामो छ र कहाँबाट खोजेर तयार गरिन्छ अनि कसरी हिसाब गरिन्छ भन्नेमा निर्भर रहन्छ।
अमेरिकी प्राज्ञहरूले गरेको आधा लिटर पानीको हिसाब ऊर्जा उत्पादनका लागि पनि हो। अल्टम्यानले यो हिसाब नजोडेका हुन सक्छन्। बीबीसीले राखेको जिज्ञासामा ओपन एआईले यो हिसाबकिताबबारे कुनै जबाफ दिएको छैन।
जे सुकै भए पनि पानीको प्रयोग बढी नै छ। ओपन एआईका अनुसार च्याट जीपीटीले हरेक दिन एक अर्ब प्रश्नहरूको जबाफ दिन्छ। अनि कैयौँ एआई बोटहरूमध्ये यो एउटा मात्रै हो।
अमेरिकी अध्ययनका अनुसार सन् २०२७ सम्म एआई उद्योगले खर्च गर्ने पानी प्रत्येक वर्ष चार देखि छ गुणाले बढ्दै जान्छ। त्यो मात्रा पूरै डेनमार्कले प्रयोग गर्ने भन्दा बढी हुन्छ।
"हामीले जति धेरै एआई प्रयोग गर्छौँ उति धेरै पानी खपत गर्छौँ," अध्ययनका लेकहरूमध्येका एक क्यालिफोर्निया विश्वविद्यालयका प्राध्यापक शाओले रेन भन्छन्।
एआईले कसरी पानी खपत गर्छ?
तस्बिर स्रोत,Getty Images
तस्बिरको क्याप्शन,तस्बिर र भिडिओ बनाउन जेनेरेटिभ एआईको बढ्दो प्रयोगले विद्युत् र पानीको माग बढाउने ठानिएको छ
निबन्ध लेख्ने देखि डीपफेक बनाउनेजस्ता अनलाइन गतिविधिका लागि डेटा सेन्टरमा कम्प्युटर सर्भरका ठूला दराजहरू राखिएका हुन्छन्। कतिपय यस्ता डेटा सेन्टरहरू कैयौँ फुटबल मैदान भन्दा ठूला हुन्छन्।
कम्प्युटरहरूबाट निरन्तर विद्युत् बहने हुँदा यी सर्भरहरू तात्छन्।
साधरणतया सफा र ताजा पानी चिस्यान प्रणालीका लागि चाहिने महत्त्वपूर्ण तत्त्व हो।
त्यसका लागि विधिहरू फरकफरक छन्। केहीले चिस्यानका लागि प्रयोग हुने ८० प्रतिशत पानी वायुमण्डलमा बाफ बनाएर पठाउँछन्।
एआईका लागि परम्परागत अनलाइन काम गर्नका लागि भन्दा अत्यधिक धेरै कम्प्युटर शक्ति खर्च हुन्छ। विशेषगरी तस्बिर र भिडिओ बनाउन अनलाइन सर्च वा किनमेल भन्दा ज्यादा बिजुली पनि चाहिन्छ।
ठ्याक्कै कति घटिबढी लाग्छ भनेर मापन गर्न कठिन छ। तर अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी आईईएका अनुसार च्याट जीपीटीले एउटा प्रश्नको जबाफ दिन गुगल सर्चले एउटा खोजी गर्न भन्दा १० गुणा बढी बिजुली खपत गर्छ। धेरै बिजुली खपत हुँदा ताप पनि ज्यादा हुन्छ अनि चिस्याउने प्रणाली पनि बढी चाहिन्छ।
आईएका लागि पानीको खपत कति तीव्र गतिमा बढ्दै छ?
तस्बिर स्रोत,Getty Images
तस्बिरको क्याप्शन,अनलाइन गतिविधि चालु राख्न डेटा सेन्टरहरूमा कम्युटरका लामा दराजहरू राखिएका हुन्छन्
ठूला एआई कम्पनीहरूले आफ्ना एआई गतिविधिका लागि खर्च भएको पानीको परिमाण दिँदैनन् तर उनीहरूले प्रयोग गर्ने पानीको परिमाण बढ्दो छ।
ओपन एआईका प्रमुख लगानीकर्ताहरू गुगल, मेटा र माइक्रोसफ्ट तीन वटैले सन् २०२० यता पानी खपतको मात्रा उल्लेख्य स्तरमा बढाएको उनीहरूको वातावरणीय प्रतिवेदनमा देखिन्छ। त्यस समयमा गुगलले खपत गर्ने पानी करिब दोब्बरले बढेको छ। एमजन वेब सर्भिसेसले भने त्यसको तथ्याङ्क दिएको छैन।
एआईका लागि पानीको माग बढ्ने ठानिएका बेला आईईएले सन् २०३० सम्ममा डेटा सेन्टरहरूका लागि पानीको खपत दोब्बर हुने आकलन गरेको छ। यसमा ऊर्जा उत्पादनका लागि प्रयोग हुने र कम्प्युटर चिप्स बनाउन प्रयोग हुने पानी पनि जोडिएको छ।
गुगलका अनुसार उसका डेटा सेन्टरहरूले सन् २०२४ मा ३७ अर्ब लिटर पानी जलका विभिन्न स्रोतहरूबाट लिएका छन्। जसमध्ये २९ अर्ब लिटर "खपत" भएको छ। जसको अर्थ त्यो बाफ बनेर गएको छ।
के त्यो धेरै नै हो त? यसको जबाफ हामीले के सँग तुलना गर्छौँ भन्नेमा भर पर्छ। संयुक्त राष्ट्रसङ्घले एक जना व्यक्तिका लागि एक दिनमा न्यूनतम ५० लिटर पानी चाहिने बताएको छ। त्यस आधारमा मात्रै हिसाब गर्ने हो भने पनि यो परिमाणको पानीले १६ लाख मानिसहरूको एक वर्षको पानीको आवश्यकता पूरा गर्न सक्छ। अथवा गुगलका अनुसार त्यसले अमेरिकाका दक्षिण पश्चिमी क्षेत्रमा ५१ वटा गल्फ मैदान बराबरका क्षेत्रमा एक वर्षका लागि चाहिने सिँचाइको आवश्यकता पूरा गर्न सक्छ।
डेटा सेन्टर किन सुख्खा क्षेत्रमा राख्ने?
एरिजोना राज्य सहित अमेरिका, ल्याटिन अमेरिका, युरोप लगायतका विश्वका कैयौँ देशहरूमा पछिल्लो समय सुख्खाको जोखिम भएका क्षेत्रमा डेटा सेन्टर राख्न लागिएको भन्दै स्थानीयले विरोध जनाएको विषय समाचारका शीर्षक बने।
स्पेनको एउटा पर्यावरण सम्बन्धी समूह 'योर क्लाउड इज ड्राइङ अप माई रिभर'ले डेटा सेन्टर विस्तारविरूद्ध सङ्घर्ष समिति नै गठन गरेको छ।
चरम सुख्खाको समस्या भोगिरहेका चिले र उरुग्वेमा विरोध प्रदर्शन पनि गुगलले आफ्नो डेटा सेन्टर नै सार्ने योजना बनाएको छ।
तस्बिर स्रोत,Getty Images
तस्बिरको क्याप्शन,चिलेमा पर्यावरण सम्बन्धी समूहले गुगलको नयाँ डेटा सेन्टर बनाउँदा स्थानीय क्षेत्रमा पानीको थप अभाव हुने भन्दै विरोध गरेको थियो
विश्वका विभिन्न स्थानमा १५० भन्दा धेरै डेटा सेन्टर सञ्चालन गरिरहेको एनटीटी डेटाका प्रमुख कार्यकारी अधिकृत अभिजित दुवेका अनुसार सख्खा र गर्मी ठाउँमा डेटा सेन्टर स्थापना गर्ने विषयमा रूची बढ्दो क्रममा रहेको बताए।
जमिनको उपलब्धता, ऊर्जाका पूर्वाधार, सौर्य र वायु जस्ता नवीकरणीय ऊर्जा, अनुकूल नीति जस्ता कुराले यी क्षेत्र आकर्षक देखिएका छन्, उनी भन्छन्।
विज्ञहरूका अनुसार आर्द्रताले भवनहरू छिटो मक्काउने अवस्था निम्त्याउँछ र त्यसलाई रोक्न थप ऊर्जा चाहिन्छ। यो क्रम रोक्न पनि सुख्खा क्षेत्र उपयुक्त हुन सक्छ।
गुगल, माइक्रोसफ्ट र मेटा सबैले आफ्नो वातावरणीय प्रतिवेदनमा सुख्खा क्षेत्रको पानी प्रयोग गरिरहेको बताएका छन्।
कम्पनीको सबैभन्दा पछिल्लो प्रतिवेदन अनुसार गुगलले प्रयोग गर्ने १४ प्रतिशत पानी "पानी अभावको उच्च जोखिम" भएको क्षेत्रबाट प्रयोग भएको देखाउँछ। अर्को १४ प्रतिशत पानी मध्य जोखिम भएको क्षेत्रबाट प्रयोग गरिएको छ।
माइक्रोसफ्टले आफ्नो कम्पनीले प्रयोग गरिरहेको पानीको ४६ प्रतिशत पानीको स्रोत "पानीका लागि चिन्ता" लिनुपर्ने ठाउँको छ। अनि मेटाले प्रयोग गर्नेमध्ये २६ प्रतिशत पानी त्यसका लागि "अति उच्च वा उच्च" पानी अभावको चिन्ता भएका ठाउाबाट लिइएको छ। एमजनले यसबारे कुनै विवरण दिएको छैन।
तस्बिर स्रोत,Getty Images
तस्बिरको क्याप्शन,सन् २०२४ मा स्पेनमा देखिएको चरम खडेरीका कारण बार्सिलोनामा रहेको उसको जलाशय समेत रित्तिएको थियो। जसले पानीको बढ्दो प्रयोगबारे चिन्ता जन्माएको थियो
चिसो बनाउने अरू कुनै विकल्प छन्?
प्राध्यापक रेनका अनुसार सुख्खा एअर कुलिङ प्रणालीहरू पनि प्रयोग गर्न नसकिने चाहिँ होइन। तर यस्ता प्रणालीले पानीमा आधारित चिसो बनाउने प्रणाली भन्दा धेरै बिजुली खपत गर्छन्।
माइक्रोसफ्ट, मेटा र एमजन सबैले पानी बाफ भएर जाने प्रणालीको सट्टा त्यही पानी चिसो भएर घुमिरहने प्रविधि विकास गरिरहेको दाबी गरेका छन्।
यस्ता प्रणालीहरू भविष्यमा सुख्खा क्षेत्रमा आवश्यक हुने दुवे ठान्छन्। तर त्यसको विकासका लागि उद्योगहरू निकै प्रारम्भिक चरणमा मात्रै रहेको उनले बताए।
जर्मनी, फिनल्यान्ड र डेनमार्क जस्ता देशहरूमा डेटा सेन्टरबाट निस्कने तापक्रम स्थानीय घरहरूमा न्यानोका लागि प्रयोग गर्ने प्रविधि विकास गरिएको र गरिने क्रममा छ।
विज्ञहरूका अनुसार कम्पनीहरूले सकेसम्म पिउन मिल्ने किसिमको सफा पानी चिस्यानका लागि प्रयोग गर्छन्। त्यसले अरू जोखिम कम हुने भएका कारण सफा पानी प्रयोग गरिएको हो।
यद्यपि केही कम्पनीहरूले भने उद्योगबाट निस्किएको वा समुद्रको पानी जस्ता पिउनका लागि प्रयोग नहुने पानी प्रयोग गरिरहेका छन्।
वातावरणीय दृष्टिमा यसको फाइदा उचित छ?
एआईले पृथ्वीमा चाप घटाउन काम सुरु गरिसकेको छ। उदाहरणका लागि ग्रीन हाउस मिथेनको चुहावट पत्ता लगाउन देखि कम इन्धन खपत हुने बाटो सवारी साधनहरूलाई देखाउन एआई प्रयोग भइरहेक छ।
संयुक्त राष्ट्रसङ्घको बालबालिका सम्बन्धी निकाय यूनिसेफको अफिस अफ इनोभेशनका विश्न निर्देशक थोमस डेभन एआईले विश्वभरिका बालबालिकाको शिक्षा, स्वास्थ्य र जलवायु परिवर्तनका क्षेत्रमा आमूल परिवर्तन ल्याउने बताउँछन्।
तस्बिर स्रोत,Meta
तस्बिरको क्याप्शन,कतिपय डेटा सेन्टरहरू सुख्खा क्षेत्रमा स्थापना गरिएका छन्। तर कम्पनीहरूले पानीको आपूर्ति घटाउन नयाँ उपाय प्रयोग भइरहेको बताएका छन्
उनका अनुसार कम्पनीहरू "सबैभन्दा शक्तिशाली र अत्याधुनिक मोड्युलका लागि" भन्दा पनि "क्षमता र पारदर्शिता" बढाउन प्रतिस्पर्धा गरिरहेका छन्।
कम्पनीहरूले आफ्ना मोड्युलहरूलाई पारदर्शी बनाउनु राम्रो भएको उनी बताउँछन्। यो अरूलाई पनि सहजै उपलब्ध हुन्छ र त्यही प्रविधि अपनाउन सहयोग पुग्छ।
डेभन यसले मोड्युलहरूलाई तालिम दिनका लागि चाहिने ऊर्जा र पानीको खपत दुवै घटाउने बताउँछन्।
कैयौँ युरोपेली देशका सरकारहरूसँग परामर्शदाताका रूपमा काम गरिसकेकी एक जना स्वतन्त्र अनुसन्धाता लोरेना जाउमे-पालासी व्यापक रूपमा वृद्धी भइरहेको एआईलाई वातावरणीय रूपमा दिगो बनाउनुको विकल्प नभएको बताउँछिन्।
"हामी त्यसको क्षमता बढाउन सक्छौँ। तर क्षमता बढाउनु भनेको त्यसको प्रयोग पनि बढ्नु हो," उनी भन्छिन्।
"भविष्यमा हामीसँग ठूला र तीव्र गतिका एआई प्रणालीहरू बनाउने प्रतिस्पर्धा धान्नका लागि हामीसँग पर्याप्त कच्चा पदार्थ नै हुँदैनन्।"
प्रविधि कम्पनी के भन्छन्?
गुगल, माइक्रोसफ्ट, एमजन वेब सर्भिसेज् र मेटा सबैले स्थानीय परिस्थिति हेरेर मात्रै चिस्यान प्रविधिको प्रयोग गर्ने गरिएको बताउँछन्।
यी सबै कम्पनीले सन् २०३० सम्म "जल सकारात्मक" हुने लक्ष्य लिएका छन्। यो भनेको उनीहरूले औषतमा खपत गर्ने भन्दा धेरै पानी पुनर्भरण गर्ने हो।
यसो गर्न उनीहरूले आफ्नो डेटा सेन्टर सञ्चालन भएका स्थानमा पानीको पुनर्भरण वा संरक्षणका लागि परियोजनाहरू सुरु गरेका छन्। उदाहरणका लागि यो क्षेत्रमा बन र सिमसार संरक्षणका लागि परियोजना सुरु गरिएका छन्। अनि सिचाइँका लागि जाने पानीको चुहावट रोक्ने उपायहरू पनि सुरु गरिएका छन्।
एमजनले आफ्नो लक्ष्यमा ४१ प्रतिशत प्रगति भइसकेको जनाएको छ। माइक्रोसफ्टले पनि लक्ष्यको बाटोमै रहेको बताएको छ भने गुगल र मेटाले प्रकाशन गरेको तथ्याङ्कले पनि पुनर्भरणका काममा ठोस उपलब्धि भएको जनाएको छ।
तर यूनीसेफका डेभन यस्तो लक्ष्य धेरै टाढा रहेको बताउँछन्।
ओपन एआईले पानी र ऊर्जा कम खपत कसरी कम गर्ने भनेर "मेहनत साथ" काम गरिरहेको बताएको छ।
तर प्राध्यापक रेन यस्ता उद्योगहरूले प्रयोग गर्ने पानीको मात्राबारे स्तरीय र एकरुता देखिने तथ्याङ्क भए मात्रै यसलाई व्यवस्थापन गर्न सकिने बताउँछन्। (बिबिसी नेपाली सेवा)