
चितवन । इच्छाकामना गाउँपालिकाका चेपाङ समुदायलाई तीन हजार चिउरीका बिरुवा वितरण गरिएको छ । गाउँपालिकाले चेपाङ समुदायको उत्थानका लागि चिउरी र चमेरो संरक्षण कार्यक्रमअन्तर्गत बिरुवा वितरण गरेको हो ।
गाउँपालिकाको कृषि शाखाकी अधिकृत समीक्षा पौडेलका अनुसार वडा नम्बर १, २ र ६ का चेपाङ समुदायलाई चिउरीको क्षेत्र विस्तारअन्तर्गत ती बिरुवा वितरण गरिएको हो । फल, घ्यू, तेल, पिना, चोपबाट लिसो, माछा मार्ने कीटनाशक औषधि, दुनाटपरी, डाँले घाँसलगायत बहुउपयोगी प्रयोग हुने चिउरीका माध्यमबाट जीविकोपाजर्नमा सहयोग पु¥याउने र यसको संरक्षण गर्न बिरुवा वितरण गरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार प्रत्येक वडामा एक हजारका दरले बिरुवा वितरण गरिएको हो ।
चेपाङ समुदायमा परम्परागत रूपमा छोरीको बिहेमा चिउरीको बिरुवा आयआर्जनका लागि दाइँजो दिने गरिन्छ । चिउरीलाई प्रोटिनयुक्त खाद्य स्रोतका रूपमा लिने गरिन्छ । चिउरीको परागसेचनका लागि शाकाहारी चमेरो आवश्यक पर्ने उहाँले बताउनुभयो ।
अघिल्लो आर्थिक वर्ष गाउँपालिकाले चिउरीको बिरुवा गणना गरेको थियो । “गणनाका क्रममा तीन हजार ४७१ वटा बोट रहेको पाइएको थियो । सोही वर्ष पाँच सय वटा बिरुवा वितरण गरिएको थियो । चिउरीको संरक्षणका लागि मौरी घारसमेत वितरण गरिएको छ । चेपाङ समुदायका ९२ परिवारलाई मौरीको घार वितरण गरिएको हो”, कृषि अधिकृत पौडेलले भन्नुभयो ।
चिउरी संरक्षणसँगै शाकाहारी चमेरो समेत संरक्षणमा मद्दत पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । चेपाङ समुदायमा मासुका रूपमा प्रयोग हुने चमेरोको संरक्षण गर्दा यस समुदायको आयआर्जनमा टेवा पुग्ने उहाँले बताउनुभयो । चमेरो व्यावसायिक रूपमा मासु र बिक्री गर्ने प्रचलन अन्त्य गर्न यस कार्यक्रमले टेवा पुग्ने पौडेलले बताउनुभयो ।
एक वर्षमा एउटामात्र सन्तान उत्पादन गर्ने चमेरो पछिल्लो समय सङ्कटमा परेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “चमेरोको बढ्दो व्यवसायिकीकरण भयो । यसलाई संरक्षण गर्न गाउँपालिका लागेको छ ।” रासस