
रे विशेष सम्वाददाता/तिब्बत, चीन । रे टेलिभिजन एचडीका पत्रकारहरुले चीनको तिब्बत स्वायत्त प्रदेशको चान्ता काउन्टीस्थित प्राचिन तथा पुरातात्विक महत्वले भरिएको कुक Guge (གུ་གེ་) दरबार क्षेत्रको भ्रमण गर्नुभएको छ ।
"Walk China Towards Modernization-Xizang Tour" अन्तर्गत चीनको तिब्बत स्वायत्त प्रदेशका विभिन्न धार्मिक, साँस्कृतिक, ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको भ्रमणमा रहनुभएका रे टेलिभिजनका पत्रकारहरु हिजो बिहीबार कुक दरबार पुग्नु भएको हो । सो दरबार क्षेत्रमा रहेका ऐतिहासिक स्मारकहरु, त्यस क्षेत्रको धार्मिक तथा साँस्कृतिक अवस्था, स्थानीय वासिन्दाहरुको जीवनशैली, रहनसहन र सँस्कृति लगायतका विषयहरुको अध्ययन र छायाङ्कन गर्न पुग्नु भएका रे टेलिभिजनका सदस्यहरुलाई दरबार परिसरमा स्थानीय संरक्षण प्राधिकरणका सदस्यहरुले भव्य स्वागत गरेका थिए । स्वागत समारोहमा एक विशिष्ट स्थानीय साँस्कृतिक प्रदर्शन समेत गरिएको थियो । सो समारोहमा तिब्बती कलाकारहरुद्वारा प्रस्तुत गीत र नृत्यमा नेपाली पत्रकारहरु पनि सहभागी हुनुभएको थियो ।
रे टेलिजिनका अध्यक्ष प्रकाश बाबु पौडेलका अनुसार कुक दरबार आज भन्दा १५ सय वर्ष पहिले अर्थात १० औं शताब्दीमा पहिलो कुक राजा तासी खवनले निर्माण गरेका थिए । चीनको प्राचिन अभिलेख अनुसार कुक राजतन्त्र १० औं शताब्दीदेखि १७ औं शताब्दीसम्म अस्तित्वमा रहेको थियो । कुक राज्यमा १७ जना राजाहरूले शासन गरेका थिए । तत्कालिन समयमा राजाहरु चान्ता काउन्टीस्थित दरबार परिसरमा बस्ने गर्दथे भने सामान्य नागरिकहरु दरबार वरपरका गुफाहरूमा बस्ने गर्दथे । यस्ता गुफाहरू अहिलेसम्म पनि सुरक्षित छन् । ती दरबार र गुफाहरुका शानदार परिदृश्यहरुलाई रे टेलिभिजनका पत्रकारहरुले मसिनु गरी अवलोकन गर्दै छायाङ्कन समेत गरेका थिए । कुक दरबार क्षेत्र र सो वरपर रहेका दृश्यहरु नेपालको माथिल्लो मुस्ताङको लोमाथाङमा रहेको मुस्ताङी राजाको दरबार जस्तै रहेको अध्यक्ष पौडेलको भनाइ छ ।
दरबार क्षेत्रको भ्रमण पश्चात रे टेलिजिनका पत्रकाहरुलाई स्थानीय जनताका घरहरुको भ्रमण गर्न लगिएको थियो । अध्यक्ष पौडेलका अनुसार पत्रकारहरुले घर भ्रमणका क्रममा विभिन्न पुस्ताका परिवारका सदस्यहरूसँग कुराकानी गरेको जानकारी दिनुभयो । सो क्षेत्रकी एकजना ८८ वर्षीया हजुरआमाले गुफाको घरमा आफ्नो बाल्यकाल बिताएको स्मरण सुनाउनु भयो । उहाँले तत्कालिन जीवन अत्यन्त कठिन रहेको र धेरै पछि मात्र चीनको तिब्बत स्वायत्त क्षेत्रको स्थापना पछि जनताको जीवनमा बिस्तारै सुधार हुँदै आएको जानकारी दिनुभयो । चीनको केन्द्रीय सरकारले तिब्बतको विकासका लागि गरेको लगानी महत्वपूर्ण रहेको उहाँको भनाइ छ । अहिले आफुले भोगेको जीवन र पहिले भोगेको जीवनमा आकाश पातालको फरक रहेको र पुरानो भोगाई र अहिलेको भोगाई सपना जस्तै रहेको उहाँको भनाइ छ ।
तिब्बतका लागि नेपाली कन्सुलर जनरल लक्ष्मी प्रसाद निरौलाको समेत सहभागिता रहेको सो भ्रमणका क्रममा भगवान गौतम बुद्धको जन्म स्थल लुम्बिनीका बारेमा समेत चर्चा भएको थियो । स्थानीय वासिन्दाहरुलाई नेपालको सर्वाधिक लोकप्रिय रेशम फिरीरी गित सुनाउँदा तिब्बती नागरिक समेत उत्साही भएका थिए ।