
रे विशेष सम्वाददाता/आली, तिब्बत, चीन । चीनको तिब्बत स्वायत्त प्रदेशका विभिन्न धार्मिक, साँस्कृतिक, ऐतिहासिक तथा पर्यटकीय क्षेत्रको भ्रमणमा रहेका नेपाली सञ्चारकर्मीहरुले आज स्वच्छ र महत्वपूर्ण पर्यटकीय गन्तब्य पानकोङ तालको अवलोकन भ्रमण गर्नुभएको छ ।
"Walk China Towards Modernization-Xizang Tour" अन्तर्गत नेपालस्थित रे टेलिभिजन एचडीका सदस्यहरु तिब्बतको महत्वपूर्ण पर्यटकीय गन्तब्य मध्येको एक पानकोेङ ताल पुग्नु भएको हो । यो ताल चीन-भारत (कश्मीर) सीमामा समुद्री सतहबाट ४ हजार २ सय ४२ मिटरको उचाइमा अवस्थित छ । यो तालले चीनको भूभागमा ४१३ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ ।
पानकोङ ताललाई विश्वको सबैभन्दा अग्लो चराहरूको बासस्थान टापु पनि भनिन्छ । तिबबतको अली नगरदेखि पानकोङसम्मको बाटो एकदमै राम्रो राजमार्ग हो । नेपाली सञ्चारकर्मीहरु पहाड, उपत्यका र घाँसे मैदानका सुन्दर दृश्यहरूको अवलोकनमा रमाउँदै सो तालमा पुग्नु भएको थियो । रे टेलिभिनका अध्यक्ष प्रकाश बाबु पौडेलले भन्नुभयो, "हामीले बाटोमा याक, घोडा, भेडा र बाख्राका थुप्रै बथानहरू चरिरहेको देख्यौं, जसले अनुपम् आनन्द र प्राकृतिक सौन्दर्यको आभास गरायो । पानकोङ ताल संरक्षण प्राधिकरणका अधिकारीहरूले हामीलाई जुन स्वागत र सत्कार गर्नुभयो त्यो हाम्रा लागि अविस्मरणीय रहने छ ।"
पानकोङ ताल अत्यन्त सुन्दर, सफा र शुद्ध छ । चीन सरकारले यस तालको संरक्षणलाई उच्च प्राथमिकता दिएको छ । सो तालको भ्रमणका क्रममा स्थानीय कलाकार र गायकहरूले उत्कृष्ट प्रस्तुति पनि दिएका थिए । रे टेलिभिजन टोलीका सदस्यहरु पनि उनीहरूसँगै गायन र नृत्यमा सामेल हुनुभएको थियो भने रे टेलिभिजन टोलीका सदस्य, लोकप्रिय गायक तथा कलाकार जिबेश सिंह गुरुङले स्थानीय कौचर टोलीसँग नेपाली गीत गाउनु भएको थियो ।
सो ताल भ्रमणका क्रममा नेपाली पत्रकारहरुसँगै रहनुभएका ल्हासाका लागि नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले पानकोङ तालमा डुङ्गा सयर गर्दै भन्नुभयो, "पानकोेङ ताल साँच्चै स्वर्गको शान्ति हो । हामीसँग नेपालमा अत्यन्त सुन्दर रारा ताल पनि छ, जसको उचाइ हिमालयको हिउँको तहजस्तै छ । पानकोङ तालको जस्तै संरक्षण र विकास गर्न चीनको अनुभवबाट हामी धेरै कुरा सिक्न सक्छौं ।"
पानकोङ ताल संरक्षण प्राधिकरणले सो तालको अवलोकन भ्रमण गर्ने नेपालकै तर्फबाट नेपाली सञ्चारकर्मीहरु पहिलो रहेको जानकारी दिएको छ । जुन रे टेलिभिजनका लागि महत्वपूर्ण फड्को हो । जसले सो क्षेत्रमा पर्यटकीय भ्रमणमा नयाँ रेकर्ड कायम गरेको छ ।
सो क्षेत्रको महत्वपूर्ण भ्रमणको व्यवस्था मिलाएकोमा नेपाली सञ्चारकर्मीहरुले चाइना मिडिया ग्रुप, एसियाली अफ्रिकी भाषा प्रोग्रामिङ सेन्टरलाई हार्दिक धन्यवाद दिएका छन् ।