
रे समाचार/काठमाण्डू । मातृभाषा पत्रकारिता भाषिक अधिकारको सवाल मात्र नभइ सूचनाको समान पहुँचको लागि पनि आवश्यक रहेको भन्दै मातृभाषा पत्रकारिताको प्रवद्र्धनका लागि साझा प्रयास जरुरी रहेको सरोकारवालाहरुले बताएका छन् ।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको आयोजना, नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को संयोजन तथा सहकार्यमा आज काठमाडौंमा आयोजना गरिएको ‘सञ्चार माध्यममा पत्रकारिताको अवस्था र चुनौती’ विषयक परामर्श कार्यक्रममा समावेशी सञ्चार निर्माण र मातृभाषी पत्रकारिताको उत्थानका लागि सरकार र सरोकारावाला संघ संस्था साथै मातृभाषी सबैको साझा प्रयास जरुरी रहेको औल्याइएको हो । कार्यक्रममा बोल्दै नेपाल आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले मातृभाषा पत्रकारिताले जनताको प्रतिनिधित्व गर्ने भएपनि मातृभाषा पत्रकारिता संकटमा रहेकोले यसको प्रवद्र्धनका लागि साझा प्रयास आवश्यक भएको बताउनुभयो ।
रेशम गुरुङ, उपाध्यक्ष, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
नेपाल आदिवासी जनजाति महासङ्घ (फोनिज) का अध्यक्ष लक्की चौधरीले मातृभाषा पत्रकारिता भाषिक अधिकारको सवाल मात्र नभइ सूचनाको समान पहुँचको लागि पनि आवश्यक रहेको भन्दै भाषिक र साँकस्कृतिक चेतना वृद्धि, समावेशी लोकतन्त्र निर्माण, परम्परागत ज्ञान पुस्तान्तरणका लागि मातृभाषा पत्रकारिताको आवश्यक रहेको बताउनुभयो । अध्यक्ष चौधरीले मातृभाषा प्रवद्र्धनका लागि नीतिको खाँचो रहेको भन्दै अहिले मातृभाषा पत्रकारितालाई सेवा भावना या व्यवसायिकता भन्ने अन्यौल रहेकोले मातृभाषी पत्रकारितालाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिनुभयो ।
लक्की चौधरी, अध्यक्ष, नेपाल आदिवासी जनजाति महासङ्घ (फोनिज)
सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल कार्यक्रम महाशाखाका प्रमुख ताराप्रसाद वस्तीले रेडियो नेपालबाट २६ वटा भाषामा कार्यक्रम प्रसारण भइरहेको जानकारी दिनुहुदै विभिन्न भाषा र संस्कृतिको उत्थानमा सहयोग पु¥याउने विषयसँगै राष्ट्रिय हित, राष्ट्रिय एकता अभिवृद्धि गर्न मातृभाषाका विषय र कार्यक्रम आवश्यक रहेको बताउनुभयो ।
ताराप्रसाद वस्ती, कार्यक्रम महाशाखा प्रमुख, रेडियो नेपाल
सार्वजनिक सेवा प्रसारण नेपालको सञ्चालक समितिका सदस्य अनिता गुरुङले पि.एस.बी.मार्फत अरु थप भाषामा समाचार र कार्यक्रम प्रसारण गर्दै लाने विषय सकारात्मक पक्ष रहेको भन्दै पछिल्लो समय चेपाङ समुदायबाट पनि समाचार प्रसारण हुनु गौरवको विषय भएको उल्लेख गर्नुभयो । सदस्य गुरुङले मातृभाषी पत्रकारितामा केहि उपलब्धी भएको भन्दै यसको विकासमा सबै पक्ष लाग्नुपर्नेमा जोड दिनुभयो ।
अनिता गुरुङ, सदस्य, सार्वजनिक सेवा प्रसारण नेपाल, सञ्चालक समिति
सार्वजनिक सेवा प्रसारण नेपाल टेलिभिजनका प्रमुख पुष्पहरि क्याम्पा राईले विविधता र समावेशीताका लागि मातृभाषामा पत्रकारिता आवश्यक रहेको भन्दै नेपाल टेलिभिजनले पनि दुई वर्षदेखि समावेशी पत्रकारिताको रुपमा मातृभाषामा समाचारमूलक सामग्री दिन थालेको जानकारी दिनुभयो ।
पुष्पहरि क्याम्पा राई, समाचार प्रमुख, नेपाल टेलिभिजन
गोरखापत्र दैनिकका पूर्व प्रधानसम्पादक पुस्करभक्त माथेमाले विगतमा भाषा आन्दोलन अघि बढेकोले मातृभाषामा पत्रकारिताको अवस्था आजको दिनमा पुगेको भन्दै मातृभाषामा भएका पत्रकारिताले पारेका प्रभाव र यसको मुल्याङ्कनका पक्षमा पनि जोड दिनुपर्ने बताउनुभयो । उहाँले सरकारी मात्र नभई निजी सञ्चारमाध्यममा पनि मातृभाषी पत्रकारिताका बारेमा छलफल गर्नुपर्ने बताउनुभयो ।
गोरखापत्र दैनिकको नयाँ नेपाल पृष्ठका संयोजक तथा नायब कार्यकारी सम्पादक कुमार विवेकानन्द मिश्रले लामो समयको भाषिक आन्दोलन पश्चात् गोरखापत्रमा हाल ४६ वटा भाषामा समाचार प्रकाशन हुँदै आएको जानकारी दिदै गोरखापत्रले वर्षमा २ वटा भाषाबाट थप समाचार प्रकाशन गर्ने नीतिअनुरुप आफूहरु अघि बढेको बताउनुभयो ।
पुस्करभक्त माथेमा, पूर्व प्रधानसम्पादक, गोरखापत्र दैनिक
कार्यक्रममा फोनिजका पूर्वअध्यक्ष डण्ड गुरुङले मातृभाषा पत्रकारिताका लागि मातृभाषी पत्रकारहरु थप सक्रियरुपमा अघि बढ्नुपर्ने बताउनुभयो । यसैगरी, फोनिजका निवर्तमान अध्यक्ष गजुरधन राईले समावेशी सञ्चार माध्यमलाई सशक्त बनाउनुपर्ने भन्नुहुँदै यसलाई मूल प्रवाहिकरण गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका सदस्य-सचिव ज्ञानेन्द्र पुनले सहजीकरण गर्नुभएको कार्यक्रममा सहभागीहरुले मातृभाषी पत्रकारिता मार्फत सरल र सही सूचना प्राप्त गर्नेगरी समाचार तथा कार्यक्रम प्रकाशन र प्रशारणको नीति, व्यवस्थापन तथा दक्षता अभिबृद्धिमा जोड दिएका थिए ।