
रोशन केसी/काठमाण्डू । विमानस्थलबाट अध्यागमनकोे काम सकेर बाहिर निस्कन १ घण्टा भन्दा धेरै समय लाग्यो । हामीलाई लिन केही मानिसहरु आएका थिए । बसमा चढेर हामी निस्केका मात्रै थियौँ, आफ्नो परिचय दिँदै हाम्रो भम्रण गाइड मे (फियोन) ले भनिन् “हामी भर्खरै अवतरण गरेको फुतोङ (Pudong) अन्तर्राष्ट्रिय विमानस्थल चीनकै सबैभन्दा ठूलो विमान स्थल हो । जसको क्षेत्रफल ४० वर्ग किलोमिटर छ । यो सन् २०१९ बाट सञ्चालनमा आएको हो । कोभिड पश्चात यसको क्षेत्रफल बढाएर ५७ वर्गकिलोमिटर बनाइएको छ ।”
मैले फोनमा उनले भनेको कुरा त टिपेँ तर मलाई फियोनले गलत बोले झै लाग्यो । हिसाब किताब गर्न थाले । उनले भनेको विमानस्थलको क्षेत्रफल मलाई निकै ठुलो लाग्यो । किनकी म बसोबास गर्ने कागेश्वरी मनोहरा नगरपालिकाको क्षेत्रफल नै २७.५ वर्ग किलोमिटर छ, अझै भुटान देशको राजधानी थिम्पुको क्षेत्रफल नै २६.१० वर्गकिलोमिटर छ । मेयर बालेन शाहका कारण चर्चामा रहेको काठमाडौँ महानगरपालिकाकै क्षेत्रफल नै ५०.२७ वर्गकिलोमिटर रहेको छ । मलाई विश्वास गर्न गार्हो लाग्यो तर वास्तविकता यही नै थियो अनि यो नै साङहाईको विकास र व्यापकताको पहिलो परिचय थियो हाम्रा लागि ।
अझै साङहाईमा अर्को पनि करिब यत्रै ठुलो अन्तर्राष्ट्रिय विमान स्थल, साङहाई होङ छ्याओ अन्तर्राष्ट्रिय विमानस्थल छ । जुन सन् १९२१ मा बनेको हो । १०० बर्ष भन्दा पुरानो इतिहास भएको यो विमानस्थल पहिले सैनिक बेस थियो । यो साङहाईको पुरानो विमानस्थल हो । एउटै शहरमा उही अनुपातका उस्तै ठूला २ वटा अन्तर्राष्ट्रिय विमानस्थल केही दूरीमा हुनु विदेशीका लागि मात्रै नभई चिनियाँ नागरिकहरुका लागि पनि आश्र्चयको कुरा बनेको छ ।
कुनै पनि पर्यटकका लागि त्यो देशको परिचय दिने र उसले त्यो देशबाट केके कुराको अपेक्षा गर्न सक्छ भन्ने कुराको मोटामोटी अनुमान र छनक त्यो देशको विमानस्थलले दिन्छ । फियोनले दिएको जानकारी र हाम्रो अनुभवले अब हामीले साङहाईबाट अनुभूत गर्न सक्ने अनुभूतिको संकेत गरिसकेका थियौं ।
अलिक अघि बढेपछि हामीलाई फियोनले साङहाईको बाटो, रिङरोड, द्रुत मार्गका अनेकन कुराहरु सुनाउन थालिन् । यसै क्रममा उनले साङहाईमा सञ्चालनमा रहेको विश्वकै पहिलो इलेक्ट्रो म्याग्नेटिक (विद्युतिय चुम्बकिय ) प्रणालीबाट सञ्चालन भएको म्याग्लेभ रेलको कुरा उप्काइन् । म्याग्लेभ रेल यस्तो रेल जुन विद्युतिय चुम्बकको माध्यमबाट चल्छ । जसमा न इन्जिन हुन्छ, न त पाङग्रा वा कुनै उपकरण नै । यो रेल लिगमा प्रवाहीत हुने विद्युतिय चुम्बकीय शक्तिको माध्यमबाट चल्ने गर्दछ । यसका लागि रेलको लिगको हरेक खण्डमा १ सय २८ वटा सेन्सरहरुको प्रयोग गरिएको छ, यसका लागि अत्याधुनिक कम्प्युटरको प्रयोग गरिएको छ । यी सेन्सरले रेल र लिगको हरेक सेकेन्ड १००० पल्ट जाँच गर्दछन् । यो रेलको गति ४ सय ३० किलोमिटर प्रतिघण्टा रहेको छ तर यसलाई ३ सय किलोमिटर प्रतिघण्टामा चलाइएको छ । यो रेल लिगमा टाँसिएर चल्दैन, लिगभन्दा करिब १ सेन्टिमिटर माथि चल्छ । ठ्याक्कै भन्दा यो गुड्दैन, उड्छ । यसले करिब ३४ किलोमिटरको दूरी मात्रै ७ मिनेट ३५ सेकेण्डमा पूरा गर्दछ । अझै निकट भविष्यमा यो रेललाई ६ सय किलोमिटर प्रतिघण्टामा गुड्ने गरि बनाउन लागिएको छ । यसलाई Faster Than Bullet, Slower than Plane अर्थात् बुलेट रेल भन्दा तीव्र, हवाइजहाज भन्दा मध्यम भनेर भनिएको छ ।
यसरी यातायात र प्रविधिमा चीनले हासिल गरिरहेको उपलब्धिका किस्सा सुनिरहेका हामी साङहाईको मुख्य जीवन रेखा मानिने ह्वाङफु नदी ( Huangpu River) मूनि बनेको सुरुङभित्र पस्यौँ । माथि ह्वाङफु नदी बगिरहेको थियो भने हामी नदीमूनि बनेको सुरुङमा गाडीमा गुडिरहेका थियौँ । फियोनले भनिन् “साङहाईमा ह्वाङफु नदीमूनि यस्ता ८ वटा सुरुङहरु बनेका छन् ।” मसँगै बसिरहनुभएका डाक्टर हरिश चन्द्र शाह रौनियारले मतिर हेरेर प्रश्न गर्नुभयो “रोशन जी, हाम्रो देशमा यस्तो कहिले होला?” मैले जवाफमा भने “अर्को १–२ सय बर्षपछि होला कि डाक्टर साब” । हामी दुबै जना जोडले हास्यौँ । तर त्यो हाँसो आफ्नो देशको असक्षमताप्रति नभई हाम्रो देशमा चलिरहेको राजनितिक खिचातानी, विकासका नाममा भइरहेको भष्ट्राचार, देशप्रति नभएको माया र लगाव, सोच, इच्छाशक्ति प्रति थियो । किनकी विकासक्रमलाई नियाल्ने हो भने करिब ४० बर्ष अघि यही ह्वाङफु नदीको किनारमा भएको धान खेत, माछा मार्ने ठाँउ थियो साङहाई । तर गर्ने सोच, देश र जनताप्रतिको माया, माटोका लागि आफ्नो दायित्वबोध भएका नेताहरुको हुटहुटीले अहिले साङहाई संसारकै सबैभन्दा विकसित, सम्भावनाले भरिपूर्ण, आधुनिकता र मौलिकताले भरिएको सुन्दर नगरी बनेको छ , जहाँ एकपल्ट पुग्न जो कोही लालायित छन् ।
डाक्टर हरिश चन्द्र शाह नेपाल–चीन साँस्कृतिक तथा शैक्षिक परिषद्का अध्यक्ष हुनुहुन्छ । वि.सं. २०३४ सालमा चीनमा अध्ययनका लागि आउनुभएका डाक्टर हरिशले चीनले पछिल्लो ५० बर्षको समय हासिल गरेका हरेक सफलतालाई नजिकबाट नियाल्नुभएको छ । उहाँ भन्नुहुन्छ “ रोशन जी, हामीसँग सबै कुराहरु छन् । मात्रै हामीसँग गर्न सक्ने इच्छा शक्तिको कमी छ ।” अहिले उहाँ अल्का हस्पिटल र ओम हस्पिटलमा कार्यरत हुनुहुन्छ । उहाँ चिनियाँ भाषा विज्ञ र चिनियाँ परम्परागत उपचार पद्धतिका पनि विज्ञ हुनुहुन्छ ।
सफा र सुन्दर साङहाई
ठूला ठूला सडक । त्यहाँ गूडिरहेका गाडीहरुसँगै थोरै ट्राफिक जाम पनि । फियोनले साङहाईमा यस्तो जाम भइराख्छ भनेर जानकारी दिइन् र अप्ठ्यारो नमान्न भनिन् । हामीले हाँसो गर्दै हामीलाई जामको त अनुभव छ तर यस्तो व्यवस्थित जामको अनुभव भने पहिलो चोटी गर्दैछौँ भनेर भन्यौँ ।
गाडीको चाप निकै थियो सडकमा तर गाडी जति अनुपातमा गुडेका थिए प्रदुषणको एक अंश पनि थिएन । करिब शतप्रतिशत गाडीहरु नै विद्युतिय थिए । वरपर हरिया रुखहरु थिए । लाग्थ्यो यहाँ पहिले जंगल थियो र त्यही जंगलमा यो शहरलाई उमारिएको हो । जताततै सफा सडक, न फोहोर, न प्रदुषण । सडकमै लम्पसार परेर सुतेपनि धुलोको एक कण पनि लुगामा नटाँसिने ।
तर साङहाई सँधै यस्तो भने थिएन रे । पहिले साङहाई निकै प्रदुषित रहेछ । यहाँका नागरिकले मास्क बिना बाहिर निस्कन नसक्ने रहेछन् । वायुमण्डल यति प्रदुषित थियो रे कि यहाँ बर्षको २ महिना मात्रै निलो आकाश र सफा मौसम हुने रहेछन् । अवस्था निकै नाजुक भएपछि साङहाई प्रशासनले यहाँका सबै पेट्रोल डिजेल इन्जिनका गाडीहरुलाई प्रतिस्थापित गर्दै विद्युतिय सवारीमा जोड दिएको रहेछ । सरकारले विद्युतिय गाडी लिने जनतालाई कारको नम्बरप्लेट निःशुल्क दिने व्यवस्था गरि विद्युतिय गाडीहरुलाई जोड दिएपछि, साइकल चलाउन प्रोत्साहन गरेपछि यहाँ विस्तारै परिर्वतन भइ अहिले यहाँको वातावरणमै आमूल परिर्वतन आएको छ ।
अनौठो कुरा त अत्याधुनिक प्रविधि र विकासले भरिपूर्ण साङहाईको सडक सफा गर्न बाँसको सिटाको कुचो बनाइएको समेत हामीले पायौँ । होटेलहरुमा फेरि प्रयोग गर्न मिल्ने काठका, बाँसका ब्रस, काइँयो राखिएको पाइयो । नियम सरकारले बनायो र त्यसको अवलम्बन जनताले गरे र आज साङहाई सुन्दर, सफा र रमणिय शहर बन्न सफल भएको छ ।
ह्वाङफु नदीः पूर्वी र पश्चिमी साङहाई
साङहाईलाई ह्वाङफु नदीले पश्चिम र पूर्व गरि २ भागमा बाँडेको छ । इतिहासलाई हेर्ने हो भने पूर्वी साङहाईको तुलनामा पश्चिमी साङहाई निकै समृद्ध र विकसित थियो । पश्चिमी साङहाईमा बेलायती, फ्रान्सेली र जापानी अतिक्रमण र आधिपत्यका कारणले पनि यो क्षेत्र लडाईले तहसनहस हुनुको साथै विकासको स्वाद पनि यसले पहिले चाख्यो । ह्वाङफु नदीको पश्चिममा रहेको यो क्षेत्र १.५ किलोमिटरको क्षेत्रफलमा पश्चिमी शैलीका भवनहरु देख्न सकिन्छ, जसलाई द बन्ड भनेर पनि चिनिन्छ ।
पश्चिमी साङहाई विकासलाई नदी पारीबाट हेरिरहेको पूर्वी साङहाई निकै दयनीय अवस्थामा थियो । पहिले यो क्षेत्र निकै पिछडिएको थियो । भनिन्छ, यो ठाँउमा मानिसहरु चिहान बनाउन पनि हिच्किचाउथे । यहाँ पहिले धान खेतहरु थिए । ह्वाङफु नदी माछा मार्ने ठाँउ थियो । तर पछि यहाँका नागरिकहरुलाई सरकारले अन्यत्र स्थानान्तरण ग¥यो र यहाँ अन्य क्षेत्रका धनाड्य मानिसहरुलाई ल्याएर यसको विकास गरियो । यहाँबाट नागरिकहरुलाई सार्न सरकारले विभिन्न चरणमा सम्झौताहरु गर्यो । नागरिकलाई सरकारले २ वटा छनोटका अवसर दियो । पहिलो सरकारले दिएको पैसा लिने र सरकारले तोकेको ठाँउमा जाने । अर्को सरकारले बनाइदिएको अर्पाटमेन्टमा गएर बस्ने । सरकारको योजनाले काम गर्यो र सुरु भयो पूर्वी साङहाईको कायापलट हुने विकास । आश्चर्यजनक विकासले पूर्व पनि समृद्ध भयो । ह्वाङफु नदी यसको साक्षी बन्यो । आफ्नो गर्भमा उसै गरि समृद्धि, विकास र परिर्वतनको चरण पार गरेका पूर्व र पश्चिमलाई हेरेर ह्वाङफु नदी आज पनि अविरल बगिरहेको छ र वगिरहने छ । पूर्वी र पश्चिमी साङहाई एकअर्कालाई हेरेर आफ्नो अद्भ्युदय हेर्दै सायद मुस्कुराउँछन् होला । अनि हामी जस्ता फिरन्ते यिनको उन्नती नियाल्दै अभिभूत हुन्छौ ।
ओरियन्टल पर्ल टिभी टावरः समृद्धि र विकासको सुरुवात
ह्वाङफु नदीको पूर्वी किनारमा बनेको छ, ओरियन्टल पर्ल टिभी टावर । जसको निर्माणलाई ह्वाङफु नदीले बाँडिदिएको पूर्वी क्षेत्रको विकासको रुपमा लिने गरिन्छ । ओरियन्टल टिभी टावरको निर्माण सन् १९९१ मा सुरु भएको थियो । सन् १९९४ मा निर्माण सम्पन्न भएको यो टावर अहिले साङहाईको ब्राण्ड एम्बासाडोर जस्तो बनेको छ । सन् १९९५ मे देखि यो सञ्चाालन आयो । इन्टरनेटमा साङहाई भनेर खोज्ने बित्तिक्कै ह्वाङफु नदीको किनारमा झिलिमिली भएर चम्किरहेको ३ वटा गोलाकार संरचना सहित ठडिएको ओरियन्टल पर्ल टिभी टावर देखा पर्छ । ४ सय ६८ मिटर अग्लो यो टावरको २ सय ६३ मिटर मा दृश्यावलोन गर्न मिल्ने भ्युउ पोइन्ट रहेको छ । जहाँबाट ३६० डिग्री वरपरका दुश्यहरु देख्न पाइन्छ । मानिसको घुँइचो हुन्छ यहाँ । यस्तै २ सय ५९ मिटरमा स्काई वाक रहेको छ । यहाँ पारदर्शी सिसा रहेको छ । जहाँबाट सयौँ तल्ला मूनिका दृश्यहरु देख्न सकिन्छ । मन बलियो हुनेहरुका लागि यो निकै रोमाञ्चक स्थान हो । ओरियन्टल पर्ल टिभी टावरमा दैनिक हजारौँ मानिसहरु आउने गर्छन् । यस टावरको स्वामित्व साङहाई मिडिया ग्रुपसँग रहेको छ । यसको टुप्पोमा टिभी टावर रहेको छ जहाँबाट ५० वटा भन्दा बढी टिभी च्यानलहरु प्रसारण हुने गर्छन् । साथै यसको तल साङहाई हिस्ट्री म्युजियमको एउटा भाग पनि रहेको छ । जहाँ विगतदेखि वर्तमानसम्म साङहाईमा भएका सामाजिक, राजनितिक र ऐतिहासिक परिर्वतनको प्रर्दशनी रहेको छ । पूर्वी साङहाईमा रहेका पर्यटकीय स्थलहरुमा यो निकै रुचाइएको स्थानमा पर्छ । ओरियन्टल पर्ल टिभी टावर पहिले साङहाईकै अग्लो भवन थियो तर अहिले यहाँको सबैभन्दा अग्लो भवन साङहाई टावर रहेको छ ।
वि.सं. २०४७ मा आफ्नो शिक्षाका लागि आउनु भएका राजन मर्हजन यस क्षेत्रको विकासले अच्चमित हुनुहुन्छ । उहाँ पहिलो पटक यस ठाउँमा आउँदा ओरियन्टल पर्ल टिभी टावरको निर्माण भइरहेको थियो । उहाँले अनुभूत गर्दा यहाँ धान खेतहरु थिए । माछा मार्ने मानिसहरु हुन्थे । हिलो खेत जस्तो थियो यो ठाउँ र यस वरपरका क्षेत्रहरु तर विगतमा धानका बालाहरु झुल्ने ती खेतका गराहरुमा यत्तिवेला सम्पन्नता र आधुनिकताको प्रतिकको रुपमा गगनचुम्बी भवनहरु झुलिरहेका छन् । उहाँ भन्नुहुन्छ “गर्नेहरुका लागि एक जीवनकाल नै पर्याप्त हुने रहेछ, जसको ज्वलन्त उदाहरण मैले ३० बर्ष अघि देखेको र अहिले देखेको साङहाईले देखाउँछ ।” यत्तिवेला राजन मर्हजन अरनिको समाजका उपाध्यक्ष, गोदावरी उद्योग वाणिज्य महासंघका अध्यक्ष, लिनिङ ब्राण्डका निर्देशक साथै अन्य धेरै सामाजिक संस्थामा पनि काम गर्नहुन्छ ।
हाल ह्वाङफु नदीमा राति क्रुज पनि चलाइन्छ । जहाँ चढ्नेहरुको लर्को लाग्ने गर्दछ । रातको समय पूर्वी साङहाई र पश्चिमी साङहाईका भवनहरु झिलमिली हुन्छनु । भवनमा सजिएको बत्तीको चमकले झिलमिल गरिरहेको ह्वाङफु नदीमा चलिरहने क्रुज अनि नदीको चिसो हावालाई कसले पो विर्सन सक्ला र ? यस क्षेत्रको अनुपम अनुभव लिनका लागि त्यहाँ पुग्न निकै जरुरी छ किनकी यो शब्दमा लेखेर र सुनाएर सकिने कुरा होइन ।