RayNewsDaily
चिनियाँ धनाढ्य ज्याक मा नेपालमा

काठमाडौं । विश्वकै धनाढ्यको सूचीमा सूचीकृत चिनियाँ अर्बपति ज्याक मा नेपाल भ्रमणमा आउनुभएको छ ।  चिनियाँ कम्पनी अलिबाबा ग्रुपका मालिक ज्याक  हङकङको जेट एभिएसन बिजनेस जेटको बोइङ ७३७ म्याक्स चार्टर्ड विमानबाट आज काठमाडौं आइपुग्नुभएको हो । 

बंगलादेशको ढाकाबाट काठमाडौं आउनुभएका उहाँको जेटमा ६ जना चालक दलका सदस्य रहेका छन् । ज्याक मा बिजनेस ट्रिपका लागि काठमाडौं आएको बताइए पनि काठमाडौंमा उहाँको भ्रमणको उद्देश्यबारे यकिन विवरण सार्वजनिक गरिएको छैन । पर्सि बिहीबार उहाँ काठमाडौंबाट पाकिस्तानको लाहोर जाने तालिका छ ।

चीनको ह्वाङझाउमा जन्मिनुभएका ज्याकले शिक्षण पेशा छाडेपछि सन् १९९९ मा अलिबाबा ग्रुप स्थापना गर्नुभएको थियो । १८ जना साथीबाट जम्मा गरेको ६० हजार डलरले अलिबाबा ग्रुप स्थापना भएको थियो । जसले साना तथा मझौला चिनियाँ व्यवसायीका लागि इन्टरनेट बजार उपलब्ध गराउने काम गर्थ्यो । ‘चीनको अमेजन’को रुपमा चिनिएको उक्त कम्पनीको हाल १ खर्ब डलरभन्दा माथिको बजार मूल्य पुगिसकेको छ । ज्याक मा पछिल्लो समय व्यवसायसँगै प्रेरणादायी मन्तव्य दिने उद्यमीको रुपमा पनि चिनिनुभएको छ । उहाँले विभिन्न सहरमा युवाहरूलाई दिनुभएका प्रवचन विश्वभर चर्चामा छन् ।

प्रकाशित मिति: मंगलबार, असार १२, २०८०  १६:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update