RayNewsDaily
शेयर बजार स्थिर, वित्त उपसमूहमा बहार

रे समाचार/काठमाडौं । साताको दोस्रो कारोबार दिन आज शेयर बजार स्थिर रहेको छ । दिनभरिको उतारचढावपश्चात अन्तिम समयमा शेयर बजार मापक नेप्से झिनो अंकले सकारात्मक भएर बन्द भएको छ ।

आज नेप्से परिसूचक ०.०७ अंक बढेर १९८०.३४ विन्दुमा पुगेको छ । आज कारोबार रकम भने हिजोको तुलनामा बढेको छ । हिजो २ अर्ब ६८ करोडको शेयर खरिदबिक्री भएकोमा आज २ अर्ब ९५ करोड ९४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । नेप्से झिनो अंकले सकारात्मक भए पनि वित्त उपसमूहको परिसूचक भने उच्च दरमा बढेको छ । सो उपसमूहको परिसूचक आज सर्वाधिक ४.१७ प्रतिशतले वृद्धि भएको छ । यसैगरी,  विकास बैंक उपसमूहको परिसूचक साढे १ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । होटल तथा पर्यटन, जलविद्युत्, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक भने नकारात्मक रहेको छ ।

आज तीनवटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । पोखरा फाइनान्स, जानकी फाइनान्स र नेपाल फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यसैगरी, गुराँस लघुवित्तको शेयरमूल्य साढे ७ प्रतिशतले वृद्धि भएको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब ७ प्रतिशत बढेको छ । पिपुल्स पावरको शेयरमूल्य भने सर्वाधिक ६ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज पोखरा फाइनान्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको १७ करोड ५४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यसैगरी, नेपाल फाइनान्सको साढे १४ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने जानकी फाइनान्सको कारोबार रकम ९ करोड नाघेको छ ।
 

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १५:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update