RayNewsDaily
नयाँ वर्ष विक्रम सम्वत २०८१ सालको हार्दिक मंगलमय शुभकामना

रमेश हतुवाली/काठमाडौं । आज विक्रम सम्वत २०८१ साल बैशाख १ गते शनिबार, नयाँ वर्षको पहिलो दिन । यस पावन अवसरमा स्वदेश तथा विश्वका विभिन्न देशहरुमा बसोबास गर्ने नेपालीहरुमाझ शुभकामना आदान प्रदान गरि नयाँ वर्ष मनाईदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, बैशाख सङ्क्रान्ति अर्थात वर्षको पहिलो दिन पनि हो । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम सम्वत शास्वत भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्राध्यापक डा. माधव भट्टराई बताउनु हुन्छ ।

सूर्य मेष राशीमा प्रवेश गर्दा सुरु भएर मीन राशी छोड्दा विक्रम सम्वतको पुरानो वर्ष सकिएर नयाँ वर्ष सुरु हुने भएकोले वैज्ञानिक रहेको विद्वानहरुको भनाई छ । सौरमान र चन्द्रमानको समन्वय पनि यो सम्वतमा भएको छ । कलियुग सुरु भएको तीन हजार चौवालिस वर्षपछि विक्रम सम्वत सुरु भएको मानिन्छ ।

नयाँ वर्षको पहिलो दिन आज हरेक मानिसले गत वर्ष गरेका काम र योजना तथा तिनीहरुबाट प्राप्त गरेको सफलता वा असफलताको लेखाजोखा गरी असफलता र निराशा दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण गर्दछन् । आज विहान सबेरै उठेर स्नान गरी, घर, आँगन, चोक र सडक सफा गर्ने, राम्रा पोशाकहरु लगाउने, देव-देवीको दर्शन गर्ने, मीठामीठा परिकार खाने र साथीभाइ तथा इष्टमित्रसँग भेटघाट गरी एकअर्कामा शुभकामना व्यक्त गर्ने प्रचलन रहेको छ । विश्वका हरेक ठाउँमा बस्ने नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रुपमा हर्षोल्लासका साथ मनाउने गर्दछन् ।

अन्तमा पुनःएकपटक नयाँ वर्षको यस पवित्र घडिमा हामी नेपालीहरुको हृदयमा सुख, शान्ति र शरीरमा कान्ती छाओस् । हाम्रा प्रत्येक घरआँगनमा समृद्धि र आरोग्यताको वास होस् । हिमाल, पहाड, तराई-मधेसमा बसोबास गर्ने हामी नेपाल आमाका सन्तानहरुबीच रहेको आपसी सहयोग, सद्भाव, विश्वास र सम्मानको भावना हामीबाट कहिल्यै नटाढियोस् । प्रकृतिलाई आमा सरह सम्मान गर्ने हाम्रो सभ्यता अनन्त भविष्यसम्म चिरायु रहोस्, प्रकृतिको अनुकम कृपा हामीमा रहिरहोस् । मातृभूमि नेपालको शान, मान् र साख बोकेर चन्द्र र सूर्य अंकित गौरवशाली झण्डा विश्व रंगमञ्चमा फरफराई रहोस् ।

नयाँ वर्ष २०८१ सालको  सबैमा हार्दिक मंगलमय शुभकामना ।।

प्रकाशित मिति: शनिबार, वैशाख १, २०८१  ०६:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update