जाडो छल्न हजारौँ किलोमिटर पार गर्दै चितवन आइपुगे पाहुना चरा
  • साइबेरिया, मलेसिया, चीनलगायतका देशबाट चरा आउन थाले ।
  • चितवनका नदी, तालतलैया र सिमसार क्षेत्रमा १५ प्रजातिसम्मका हाँस देखिए ।
  • नेपालमा १२० देखि १८० प्रजातिसम्मका आगन्तुक चरा आउने गरेका छन् ।

चितवन । जाडो बढेसँगै आहाराको खोजी र चिसो छल्न हिमाली क्षेत्रबाट चराहरू तराई झर्न थालेका छन् । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा स्वदेशी तथा विदेशी पाहुना चराको आगमन सुरु भएको छ ।

जाडो छल्न हाँस प्रजातिका चरासहित बाज, चिललगायतका चरा चितवन आइपुगेका छन् । यहाँका नदी किनार र तालतलैयामा यस्ता चरा देखिन थालेको पक्षीविद् सङ्घ बागमती प्रदेशका संयोजक बासु बिडारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपालबाहिरबाट आएका १२ देखि १५ प्रजातिका हाँस नारायणी, राप्ती नदी र रिउ खोलामा देखिन थालेका छन् । केही चरा आइसकेका छन् भने केही आउने क्रममा छन् । नेपालकै पहाडी क्षेत्रबाट समेत चिसो छल्न चरा चितवन आउने गरेका छन् ।

बिडारीका अनुसार साइबेरिया, मलेसिया, उज्बेकिस्तान, पाकिस्तान, चीनलगायतका देशबाट नेपालमा चरा आउने गरेका छन् । नेपाल आउने चरामा चखेवा, सुइरोपुच्छ्रे, मालक, खडखडे, बिजुला र गैरीलगायत हाँस प्रजातिका चरा छन् ।

त्यस्तै, सुडसुडिया प्रजातिका वनमा आश्रित चरा पनि आउने गरेका छन् । वनमा आश्रित प्रजातिमा चाचर, चुइया र भारद्वाज पर्छन् । उहाँले भन्नुभयो, “चिसो छल्न र आहाराको खोजीमा चरा उत्तरबाट दक्षिणतर्फ आउने गरेको पाइन्छ ।”

नेपालमा १२० देखि १८० प्रजातिसम्मका चरा आगन्तुकका रूपमा आउने गरेको बिडारीले बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म एक सयभन्दा बढी प्रजातिका चरा नेपाल आइसकेका छन् । यी चरा छ महिनापछि बच्चा कोरल्ने समयमा पुनः दक्षिणबाट उत्तर फर्कने गर्छन् ।

पृथ्वीको उत्तरी गोलार्धमा जाडोयाममा दिन छोटो र रात लामो हुने भएकाले चरालाई आहार खोज्न पर्याप्त समय नपुग्ने हुँदा उनीहरू दक्षिणतर्फ आउने गरेको उहाँले बताउनुभयो । पाँचदेखि सात हजार किलोमिटर टाढाबाट समेत चरा नेपाल आउने गरेका छन् ।

विशेषगरी सिमसार, घाँसेमैदान, वन तथा खेतबारीमा बस्ने चरा नेपाल आउने गरेका छन् । नेपालमा हाल ९०४ प्रजातिका चरा पाइन्छन् भने चितवनमा ६५२ प्रजातिका चरा अभिलेख भएका छन् ।

चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने राप्ती, नारायणी र रिउ नदी तथा आसपासका सिमसार क्षेत्र जलपक्षीका लागि उपयुक्त बासस्थान मानिन्छन् । निकुञ्ज, मध्यवर्ती क्षेत्र र सामुदायिक वन चराका लागि उपयुक्त विचरण क्षेत्र हुन् । रासस

प्रकाशित मिति: बिहीबार, मंसिर १०, २०८३  १७:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update