RayNewsDaily
टोखामा ‘पाँहाचर्‍हे’ जात्रा मनाइँदै   

काठमाडौं । ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्व बोकेको टोखामा पाँहाचर्‍हे’ जात्रा मनाइने भएको छ ।    
    
नेवार समुदायको बाहुल्यता रहेको टोखामा यही चैत २५ देखि २७ गतेसम्म ‘पाँहाचर्‍हे’ जात्रा मनाउन लागिएको हो । उक्त जात्राका अवसरमा टोखाका नेवार समुदायले पाहुना बोलाएर मीठो मसिनो खुवाउने प्रचलन रहेको नेवाः गुथि टोखाका अध्यक्ष रमेश नापितले जानकारी दिनुभयो ।    
    
चैत २५ गते पिचास चर्तुदशीका दिन बिहान ६ः३० बजे लिङ्ग (यँसि) उठाउने र साँझ ६ः३० बजे सपन विनायक र सङ्कटा अजिमाका दुई रथलाई गाउँ परिक्रमा गराइन्छ । उक्त परिक्रममाका क्रममा जहाँ जहाँ महादेव लुकेर बसेको छन् त्यहाँ पु¥याइ दर्शन गराएर फर्काउने चलन रहेको टोखाका मूल नाइके हेमराज श्रेष्ठले बताउनुभयो ।    
    
चैत २६ गते अर्थात् घोडेजात्राका दिन साँझ ६ः३० बजे सपन विनायनको रथलाई सपनतीर्थमा लैजाने, सङ्कटाको रथलाई तरख्यःमा ल्याई छ कुमार र चार कुमारीलाई मरजा (भात) खुवाइन्छ । सपनविनायकमा भने दुई कुमारलाई मरजा खुवाउने प्रचलन रहेको छ ।    
    
सपनतीर्थको रथलाई नात्येश्वर र सङ्कटाको रथलाई थलाग टोलमा बिसाइन्छ । सोही रात भजनकीर्तन गर्ने र जाग्राम बस्ने चलन रहेको छ । चैत २७ अर्थात् जात्राको अन्तिम दिन बिहान ६ः३० बजे सपनतीर्थको रथ नात्येश्वरबाट र सङ्कटाको रथ थलाग टोलबाट बाजागाजासहित कपडा बिच्छ्याएर थलागटोलमा रहेको पाँच वटा प्वाल भएको ढुङ्गा (न्या प्वाय ल्हो)मा लगेर सपनविनायकले सङ्कटालाई तीन पटक ढोगाउने चलन रहेको छ ।    
    
त्यसपछि सङ्कटा अगाडि र सपनविनायकको रथ पछाडि बसेर लिङ्गेश्वरलाई तीन पटक परिक्रमा गरी जात्रा समापन गरिन्छ । 

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  १५:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update