दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग

कास्की । कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन् । दूध उत्पादनमा प्रयोग हुने दाना, चोकर, घाँस, औषधोपचार, श्रम र ढुवानी खर्च निरन्तर बढिरहेको तर त्यसअनुसार दूधको मूल्य समायोजन नहुँदा किसानको आम्दानी खुम्चिँदै गएको किसानको भनाइ छ ।    
    
 सप्तगण्डकी दुग्ध उत्पादक सहकारी संस्थाले पोखरामा पत्रकार सम्मेलन आयोजना गरी अहिले दूधको गुणस्तरका आधारमा किसानले प्रतिलिटर रु ६८ देखि रु ७१ सम्म मात्र पाउँदै आएको र यो मूल्यले किसानको उत्पादन लागत र श्रमको उचित प्रतिफल दिन नसकेको जनाएको छ । सहकारी संस्थाका अध्यक्ष नवराज बरालका अनुसार कास्कीमा सहकारीमार्फत दैनिक २८ हजार लिटर र निजी फार्म तथा डेरीबाट करिब ७० हजार लिटर दूध उत्पादन तथा बिक्रीवितरण हुँदै आएको छ । जिल्लामा दैनिक करिब एक लाख लिटर दूध उत्पादन हुने गरेको उहाँले बताउनुभयो ।    
    
 दूध उत्पादन किसानको जीविकोपार्जनसँग मात्रै नभई ग्रामीण अर्थतन्त्र र समग्र राष्ट्रिय अर्थतन्त्रसँग पनि जोडिएको विषय भएकाले यसलाई गम्भीरतापूर्वक लिनुपर्ने अध्यक्ष बरालको भनाइ छ । “उत्पादन लागत बढ्दै जाने तर दूधको उचित मूल्य नपाउने अवस्था रहिरहे किसान यो पेसाबाट विस्थापित हुन सक्छन् । त्यसको असर देशको समग्र दुग्ध उत्पादनमा पर्छ । भौगोलिक अवस्था, पशु आहारको उपलब्धता, श्रम, ढुवानी दूरी र पशुपालन प्रणालीलाई आधार मानेर दूधको मूल्य निर्धारण हुनुपर्छ”, उहाँले भन्नुभयो ।    
    
 उपभोक्ताको हित र बजारको अवस्थालाई समेत मध्यनजर गर्दै किसानले प्राप्त गर्ने दूधको मूल्य कम्तीमा प्रतिलिटर रु ८० कायम गर्न आफूहरुले सरकारसँग माग गरिरहेको अध्यक्ष बरालले बताउनुभयो । दूधको मूल्य बढाउन मागसहित केन्द्रीय दुग्ध उत्पादक सहकारी संस्थाले सरकारसँग लामो समयदेखि माग गर्दै आए पनि माग पूरा नभएको बताइन्छ ।   
    
 किसानले दूधको मूल्य वृद्धिसँगै किसानले दूध बिक्री गरेबापतको रकम समयमै भुक्तानी गर्ने व्यवस्था मिलाउन, पशुको स्वास्थ्योपचार र खोप सेवा प्रभावकारी बनाउन, पशु आहारमा सहुलियत दिन तथा उत्पादन लागतका आधारमा अनुदान उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । त्यस्तै, पशुमा कृत्रिम गर्भाधान सेवा निःशुल्क उपलब्ध गराउनुपर्ने उनीहरूको माग छ ।    
    
 पोखरा लेखनाथका कृषक त्रिलोचन लामिछानेले तीन वर्षदेखी दूधको मूल्य समायोजन हुन नसकेको बताउनुभयो । उहाँका अनुसार यसबीचमा दाना–चोकरको मूल्य २५ प्रतिशतभन्दा बढिसकेको छ । “दाना–चोकरको मूल्य महिनैपिच्छे रु १० देखि रु १५ सम्म बढ्छ । हामीले उत्पादन गरेको दूधको मूल्य भने तीन वर्षदेखि उस्तै छ । यही अवस्था रहिरहने हो भने यसरी किसान कसरी बाँच्ने ? पशुपालनबाट पलायन हुनुको विकल्प छैन ।” लामिछानेले भन्नुभयो ।    
    
 कास्कीको माछापुच्छ«े गाउँपालिका–४ लाहाचोकका कृष्णप्रसाद अधिकारीले बजारमा हरेक वस्तुको मूल्य बढिरहेको भए पनि दूधको मूल्य बढ्ने आशामा किसान तीन वर्षदेखि कुरिरहेको बताउनुभयो । उपभोक्ताले बजारमा दूध किन्दा चर्को मूल्य तिर्नुपरे पनि त्यसको उचित लाभ उत्पादक किसानले पाउन नसकेको उहाँ बताउनुहुन्छ ।    
    
 “किसानले पाउने मूल्य र उपभोक्ताले तिर्ने मूल्यबीच ठूलो अन्तर छ । उपभोक्ताले महँगोमा दूध किन्नुपर्ने तर किसानले उत्पादन लागतसमेत नउठ्ने मूल्य पाउने अवस्था छ । किसानले उत्पादन गरेको दूधको मूल्य निर्धारणमा उनीहरूकै कुरा किन सुनिँदैन ?” अधिकारीको प्रश्न छ । रासस  

    
  

प्रकाशित मिति: शनिबार, मंसिर १२, २०८३  ०९:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update