ट्रम्प र रुट्टको रूसलाई चेतावनी- युक्रेन युद्ध नफैलाउन आग्रह
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र नाटो महासचिव मार्क रुट्ट फ्लोरिडामा भएको भेटका क्रममा । तस्बिर : एपी
  • ट्रम्प र नाटो प्रमुख रुट्टद्वारा रूसलाई युद्ध विस्तार नगर्न संयुक्त आग्रह ।
  • युक्रेनमा शान्ति स्थापनाका लागि रूसमाथि दबाब कायम राख्नुपर्नेमा जोड ।
  • युद्ध अन्त्यपछि पनि युक्रेनको सुरक्षा सुनिश्चित गर्नुपर्ने रुट्टको भनाइ ।

वेस्ट पाम बीच, अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) का महासचिव मार्क रुट्टले रूसलाई युक्रेन युद्ध नफैलाउन आग्रह गर्नुभएको छ । फ्लोरिडास्थित ट्रम्पको मार-ए-लागो रिसोर्टमा बुधबार भएको भेटपछि जारी संयुक्त वक्तव्यमा उहाँहरूले रूसले जानाजानी वा अनजानमा युद्ध विस्तार गर्ने कुनै पनि कदम नचाल्न आग्रह गर्नुभएको हो ।

ह्वाइट हाउसद्वारा जारी वक्तव्यमा भेट युक्रेन र इरानका युद्धमा केन्द्रित रहेको र वार्ता ‘उत्कृष्ट’ तथा ‘धेरै प्रभावकारी’ भएको उल्लेख छ । वक्तव्यमा भनिएको छ, “रूसले जानाजानी वा अनजानमा युद्ध फैलाउने कुनै पनि कदम नचालोस् र युद्धको शान्तिपूर्ण समाधान सकेसम्म चाँडो खोजियोस् भन्ने विश्व समुदायको चासोबारे पनि छलफल गर्‍यौँ ।”

गत साता चीनमा भएको भेटमा ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘मेरो मित्र’ भनेर सम्बोधन गर्नुभएको थियो । त्यसको केही दिनपछि ट्रम्प र रुट्टको संयुक्त अपिल आएको हो । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने ट्रम्पको पुटिनसम्बन्धी टिप्पणीप्रति असन्तुष्टि जनाउनुभएको छ । सीएनएनसँगको अन्तर्वार्तामा उहाँले पुटिनलाई हत्याराको संज्ञा दिनुभएको थियो ।

बुधबार फक्स न्यूजसँगको कुराकानीमा रुट्टले ट्रम्पले चीनको शेन्जेनमा भएको भेटपछि पनि पुटिनको धारणा बुझ्ने प्रयास गरिरहेको बताउनुभयो । “उहाँ कति गम्भीर हुनुहुन्छ ? वार्ताको टेबलमा आउन तयार हुनुहुन्छ ? वास्तवमै वार्तामा संलग्न हुन तयार हुनुहुन्छ ? त्यसैले दबाब कायम राखौँ,” रुट्टले भन्नुभयो ।

उहाँले रूसमाथिको दबाबले काम गरिरहेको उल्लेख गर्दै त्यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । यसअघि ट्रम्पले पुटिनसँगको भेटपछि रुसी नेता कूटनीतिक माध्यमबाट युद्ध अन्त्य गर्न चाहेको बताउनुभएको थियो । मस्कोको पक्ष लिएको भन्दै आलोचना खेप्दै आउनुभएका ट्रम्पको पछिल्लो अभिव्यक्तिले युक्रेन युद्ध समाधानका लागि भइरहेको कूटनीतिक प्रयासलाई थप चर्चामा ल्याएको छ ।

यसैबीच, युरोपेली राष्ट्रहरूले युक्रेन, अमेरिका र रूसबीच भइरहेका प्रारम्भिक वार्तामा आफूहरू पनि सहभागी हुन चाहेको बताएका छन् । रुट्टले कुनै पनि शान्ति सम्झौतामा युक्रेनको सुरक्षा सुनिश्चित हुनुपर्ने बताउनुभयो । युद्धको अन्त्य शान्ति सम्झौताबाट होस् वा दीर्घकालीन युद्धविरामबाट, युक्रेनले भविष्यमा पनि सुरक्षा ग्यारेन्टी पाउनुपर्ने उहाँको भनाइ छ ।

“हामीले युक्रेनसँग लडाइँ जारी राख्न, सफल हुन र रुसीहरूमाथि अधिकतम दबाब दिन आवश्यक कुरा उपलब्ध छ भन्ने सुनिश्चित गर्नुपर्छ,” उहाँले भन्नुभयो । भेटमा ट्रम्प र रुट्टबीच रक्षा खर्च बढाउने विषयमा पनि छलफल भएको थियो । अमेरिकी राष्ट्रपति ट्रम्पले युरोपेली शक्तिहरूलाई रक्षा खर्च बढाउन निरन्तर दबाब दिँदै आउनुभएको छ ।

फ्लोरिडामा भएको यो वार्ता यस्तो समयमा भएको हो, जतिबेला अमेरिकी रक्षा मन्त्रालयका प्रमुख पीट हेगसेथले आगामी केही हप्ताभित्र युरोपमा अमेरिकी सैन्य उपस्थितिको पुनरावलोकन घोषणा गर्ने अपेक्षा गरिएको छ । एएफपी

प्रकाशित मिति: बिहीबार, मंसिर १०, २०८३  १४:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update