- गाजामा सन् २०२३ अक्टोबरयता ६०० मानवीय सहायता कर्मीको मृत्यु ।
- इजरायली आक्रमणमा यूएनआरडब्ल्यूएका एक कर्मचारी मारिए, तीन जना घाइते ।
- संयुक्त राष्ट्रसंघद्वारा सहायता कर्मी र नागरिक पूर्वाधारको सुरक्षा सुनिश्चित गर्न आग्रह ।
संयुक्त राष्ट्रसंघ । गाजामा मानवीय सहायता कर्मीमाथि जोखिम बढ्दै गएको छ । सन् २०२३ अक्टोबरयता त्यहाँ मारिने मानवीय सहायता कर्मीको सङ्ख्या ६०० पुगेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।
गाजाको जबालिया क्षेत्रमा रहेको पानीको इनारनजिक इजरायलले गरेको हवाई आक्रमणमा संयुक्त राष्ट्रसंघीय राहत तथा कार्य निकाय (यूएनआरडब्ल्यूए) का एक कर्मचारीको मृत्यु भएपछि मृतकको सङ्ख्या ६०० पुगेको हो । उक्त आक्रमणमा अन्य तीन जना घाइते भएका छन् ।
संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) का अनुसार उनीहरू समुदायलाई अत्यावश्यक सेवा प्रदान गर्ने नियमित कामका क्रममा इनारमा खटिएका थिए ।
ओसीएचएले सोमबार भएको घटनासँगै सन् २०२३ अक्टोबरयता यूएनआरडब्ल्यूएका ३९७ जना कर्मचारी मारिएको जनाएको छ । यस अवधिमा गाजामा समग्रमा ६०० जना मानवीय सहायता कर्मीले ज्यान गुमाएका छन् ।
कार्यालयले मानवीय सहायता कर्मीसहित सबै सर्वसाधारण, मानवीय सहायता केन्द्र तथा नागरिक पूर्वाधारको सुरक्षा सुनिश्चित गर्नुपर्नेमा पुनः जोड दिएको छ । यस्ता संरचना तथा व्यक्तिलाई सैन्य प्रयोजनमा प्रयोग गर्न वा आक्रमणको निशाना बनाउन नहुने उसको भनाइ छ ।
मानवीय सहायता कर्मीलाई सुरक्षित रूपमा जीवनरक्षक कार्य गर्न सक्ने वातावरण उपलब्ध गराउनुपर्ने पनि ओसीएचएले जनाएको छ ।
“कठिन परिस्थितिका बाबजुद संयुक्त राष्ट्रसंघ र यसका साझेदारहरूले सम्भव भएका स्थान र समयमा आवश्यकताअनुसार मानवीय सहायता कार्य जारी राखेका छन्,” कार्यालयले जनाएको छ । सिन्ह्वा
