- सिन्टाफु हिमताल विस्फोटपछि गासा त्साचु तातोपानी क्षेत्र र सडकमा क्षति ।
- भारतको पश्चिम बङ्गाल र असममा बाढीको जोखिम, हजारौँ मानिस सुरक्षित स्थानमा सारिए ।
- प्रारम्भिक विवरणअनुसार मानवीय क्षति छैन, नदीको जलस्तर निगरानीमा ।
गासा (भुटान) । भुटानको उत्तरी गासा जिल्लास्थित सिन्टाफु हिमताल विस्फोटपछि आएको बाढीले प्रसिद्ध गासा त्साचु तातोपानी कुण्ड क्षेत्रका संरचना बगाएको छ । बाढीले पुनाखा-गासा राजमार्गको एक खण्डमा समेत क्षति पुर्याएपछि यातायात बन्द गरिएको छ । घटनापछि भुटानका अधिकारीहरूले क्षतिको विवरण सङ्कलन र जोखिमको मूल्याङ्कन गरिरहेका छन् ।
शुक्रबार (अक्टोबर ३०) बिहानसम्म प्राप्त समाचारअनुसार बिहीबार साँझ हिमतालबाट पानी बाहिरिएपछि आएको बाढीले तातोपानी क्षेत्रका संरचनामा क्षति पुर्याएको हो । भुटानको सरकारी प्रसारक बीबीएसका अनुसार अँध्यारो र पानीको तीव्र बहावका कारण क्षतिको पूर्ण विवरण सङ्कलन गर्न कठिन भएको छ । बाढीले दुईवटा अस्थायी बेली पुलसमेत बगाएको हुनसक्ने जनाइएको छ ।
डेली भुटानका अनुसार बिहीबार राति करिब ८:१५ बजे बाढीको पानी ताकत्सेमाखाङ पुगेको थियो । त्यसपछि लयाको दुर्गम बस्ती जोड्ने सडकमा क्षति पुगेको थियो । पुनाखा-गासा राजमार्गको करिब ३१.८५ किलोमिटर बिन्दुमा सडक पूर्ण रूपमा बगेपछि अर्को सूचना जारी नभएसम्म यातायात बन्द गरिएको छ । यात्रुलाई अत्यावश्यक कामबाहेक यात्रा नगर्न आग्रह गरिएको छ ।
एआई निर्मित नक्सा ।
बाढीको जोखिम रहेका क्षेत्रका बासिन्दालाई समयमै सुरक्षित स्थानमा सारिएको र चेतावनी साइरन बजाइएको थियो । शुक्रबार बिहानसम्म मानवीय क्षति भएको विवरण सार्वजनिक भएको छैन । तालबाट निस्किएको पानीको वास्तविक मात्रा र भौतिक क्षतिको पूर्ण विवरण भने यकिन हुन बाँकी छ ।
यस घटनापछि छिमेकी भारतको पश्चिम बङ्गाल र असममा समेत बाढीको जोखिमलाई ध्यानमा राख्दै सतर्कता अपनाइएको छ । भारतको केन्द्रीय जल आयोगले सङ्कोश नदीको जलस्तर अचानक बढ्नसक्ने चेतावनी दिँदै पश्चिम बङ्गालको अलिपुरद्वार र असमको धुब्री जिल्लाका अधिकारीहरूलाई निगरानी बढाउन आग्रह गरेको छ ।
पश्चिम बङ्गालको अलिपुरद्वार जिल्लामा नदी किनारका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार करिब चारदेखि पाँच हजार मानिसलाई आश्रयस्थलमा राखिएको र थप छ हजारभन्दा बढीलाई सुरक्षित स्थानमा सारिएको छ । विपद् व्यवस्थापन टोली, प्रहरी र नागरिक सुरक्षा निकाय परिचालन गरिएका छन् ।
अलिपुरद्वारका प्रहरी प्रमुख अमित कुमार शाहले पानीको बहाव केही कम भएको जानकारी प्राप्त भए पनि सङ्कोश नदी प्रणालीमा उच्च सतर्कता कायम रहेको बताउनुभएको छ । उहाँले स्थानीय बासिन्दालाई नआत्तिन र प्रशासनको निर्देशन पालना गर्न आग्रह गर्नुभएको छ । बाढीले काठ, ढुङ्गा र अन्य संरचनाका अवशेषसमेत बगाएर ल्याउनसक्ने भएकाले नदी किनारमा बसोबास गर्नेहरूलाई सावधानी अपनाउन भनिएको छ ।
सिन्टाफु तालको पानी मो छु नदी हुँदै पुनाखा पुग्छ । त्यहाँ मो छु र फो छु नदी मिसिएर पुनात्साङछु नदी बन्छ । यही नदी भारत प्रवेश गरेपछि सङ्कोशका रूपमा चिनिन्छ । त्यसैले भुटानमा आएको बाढीले भारतका तल्लो तटीय क्षेत्रमा समेत जोखिम निम्त्याउनसक्ने भन्दै दुवै देशका अधिकारीहरूले नदीको बहाव र जलस्तर निगरानी गरिरहेका छन् ।
सिन्टाफु भुटानका १७ सम्भावित जोखिमयुक्त हिमतालमध्ये एक हो । सन् २०२३ मा भुटानी विज्ञहरूले ताल, प्राकृतिक बाँध र पानी आपूर्ति गर्ने हिमनदीको अवस्थाबारे अध्ययन गरेका थिए । जोखिम निगरानीका लागि उपकरणसमेत जडान गरिएको थियो । सम्भावित जोखिमयुक्त तालको सूचीमा पर्नुको अर्थ विस्फोट निश्चित हुनु नभई निरन्तर निगरानी आवश्यक हुनु हो ।
यसअघि सन् २०२१ अगस्ट २६ मा पनि मो छु नदीको बहाव परिवर्तन भएपछि आएको बाढीले गासा त्साचु क्षेत्रलाई क्षति पुर्याएको थियो । पछिल्लो घटनामा भने क्षतिको पूर्ण विवरण र बाढीको प्रभावबारे थप मूल्याङ्कन भइरहेको छ । एएनआई
