RayNewsDaily
जलवायु न्यायलाई प्राथमिकता दिन विश्व समुदायसमक्ष पूर्वराष्ट्रपति भण्डारीको आग्रह
  • नेपालको जलवायु न्यायको मागलाई गम्भीरतापूर्वक लिन विश्व समुदायलाई आग्रह ।
  • हिमाली देशबीच मौसमसम्बन्धी तथ्याङ्क, हिमनदी अनुगमन र विपद् प्रतिकार्यमा सहकार्य गर्न जोड ।
  • गरिबी न्यूनीकरण, सामाजिक न्याय र वातावरण संरक्षणलाई अन्तर्राष्ट्रिय सहकार्यको प्राथमिकता बनाउनुपर्ने ।

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा हालै भएका अकल्पनीय प्राकृतिक विपद्का घटनाले जलवायु परिवर्तनको असरलाई पुनः उजागर गरेकाले नेपालको जलवायु न्यायको मागलाई गम्भीरतापूर्वक लिन विश्व समुदायसमक्ष आग्रह गर्नुभएको छ ।

चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजद्वारा चीनमा आयोजित सन् २०२६ को ग्लोबल गभर्नेन्स फोरम (स्योङआन) सम्मेलनलाई आज सम्बोधन गर्दै उहाँले नेपालले प्राप्त गर्नुपर्ने जलवायु न्यायको विषय उठाउनुभएको उहाँको सचिवालयले जनाएको छ ।

पूर्वराष्ट्रपति भण्डारीले विश्वव्यापी शासन प्रणाली जलवायु न्यायसँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गर्दै हिमालय क्षेत्रीय जलचक्र, जैविक विविधता र पर्यावरणीय सन्तुलनसँग सम्बन्धित साझा प्राकृतिक सम्पदा भएको बताउनुभयो ।

“यसको संरक्षण तथा जलवायु परिवर्तनका असर न्यूनीकरण र अनुकूलनका लागि चीन, नेपाल, भारतलगायत हिमाली देशहरूबीच मौसमसम्बन्धी तथ्याङ्क आदानप्रदान, हिमनदी अनुगमन, पूर्वसूचना प्रणाली र विपद् प्रतिकार्यमा सहकार्य विस्तार गर्न आवश्यक छ,” उहाँले भन्नुभयो ।

उहाँले संयुक्त राष्ट्रसङ्घीय निकाय तथा अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूको दीर्घकालीन र भरपर्दो सहयोग सुनिश्चित गर्दै जलवायु जोखिम न्यूनीकरणका लागि क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहकार्य सुदृढ गर्नुपर्नेमा जोड दिनुभयो ।

“नेपाल यस्तो विश्वव्यवस्थाको पक्षमा छ, जहाँ शक्ति होइन, अन्तर्राष्ट्रिय कानुनले सम्बन्धलाई निर्देशित गरोस्, सबै राष्ट्रको आवाजको सम्मान होस् र कमजोर तथा जोखिममा रहेका मुलुकका सरोकारले उचित स्थान पाऊन् । यसका लागि संयुक्त राष्ट्रसङ्घलाई समकालीन विश्वको विविधता र आकाङ्क्षा प्रतिबिम्बित गर्ने प्रभावकारी संस्थाका रूपमा सुदृढ बनाउनु आवश्यक छ,” उहाँले भन्नुभयो ।

शान्ति र विकास एकअर्काका परिपूरक भएको उल्लेख गर्दै पूर्वराष्ट्रपति भण्डारीले गरिबी र भोकमरीको अन्त्य, मानव कल्याणको प्रवर्द्धन तथा हतियारको होडमा खर्च हुने स्रोतसाधनलाई विकासमा परिचालन गर्नु अन्तर्राष्ट्रिय समुदायको साझा दायित्व भएको बताउनुभयो ।

समावेशी, उत्थानशील र वातावरणमैत्री विकासका लागि सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

“गरिबी न्यूनीकरण, गुणस्तरीय शिक्षा तथा स्वास्थ्य, रोजगारी, सामाजिक न्याय र वातावरण संरक्षण अन्तर्राष्ट्रिय सहकार्यका प्रमुख प्राथमिकता बन्नुपर्छ,” उहाँले भन्नुभयो ।

पूर्वराष्ट्रपति भण्डारीले नेपाल-चीन सम्बन्ध प्राचीनकालदेखि नै सांस्कृतिक आदानप्रदान, बौद्ध दर्शन र जनस्तरको आत्मीयताबाट विकसित हुँदै आएको बताउनुभयो ।

विश्वमा देखिएका साझा चुनौतीको समाधान कुनै एक राष्ट्रको प्रयासबाट सम्भव नहुने उल्लेख गर्दै उहाँले संवाद, सहकार्य र सामूहिक प्रतिबद्धता आवश्यक रहेको बताउनुभयो । संयुक्त राष्ट्रसङ्घको बडापत्र, अन्तर्राष्ट्रिय कानुन र बहुपक्षीयतामा आधारित विश्वव्यवस्थाले अन्तर्राष्ट्रिय शान्ति, सुरक्षा र विकासमा महत्त्वपूर्ण योगदान गरेको पनि उहाँले उल्लेख गर्नुभयो ।

उक्त फोरमले विश्वव्यापी शासन प्रणालीलाई अझ न्यायपूर्ण, समावेशी र प्रभावकारी बनाउने दिशामा सार्थक विचारविमर्श अघि बढाउँदै विश्वशान्ति, दिगो विकास र साझा समृद्धिका लागि सहकार्यका नयाँ अवसर सिर्जना गर्ने विश्वाससमेत उहाँले व्यक्त गर्नुभयो । रासस

प्रकाशित मिति: शनिबार, कात्तिक ७, २०८३  १०:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update