RayNewsDaily
तिब्बतमा ७.० म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
  • भूकम्पमा १६ जनाको मृत्यु, ४६ जना घाइते ।
  • ३३९ घर भत्किए वा क्षतिग्रस्त, उद्धार जारी ।
  • गम्भीर घाइते ११ जना, सयौँ उद्धारकर्मी परिचालन ।

बेइजिङ । चीनको दुर्गम तिब्बत क्षेत्रमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका छन् । भूकम्पका कारण ३३९ वटा घर भत्किएका वा क्षतिग्रस्त भएका छन् । प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी छ ।

चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार घाइतेमध्ये ११ जनाको अवस्था गम्भीर छ । बिहीबार राति १०ः३३ बजे भूकम्प गएपछि अधिकारीहरूले क्षतिको विवरण सङ्कलन गरिरहेका छन् । प्रभावित क्षेत्रमा राहत वितरणसमेत भइरहेको छ ।

चाइना सेन्ट्रल टेलिभिजन (सिसिटिभी) ले सार्वजनिक गरेको दृश्यमा भूकम्पपछि मानिसहरू रेस्टुरेन्टबाट बाहिर निस्किएको र सुपरमार्केटका सामान दराजबाट खसेको देखिएको छ । उद्धारकर्मीहरूले क्षतिग्रस्त भवनमा खोजी गर्नुका साथै घाइतेहरूलाई सुरक्षित स्थानमा पुर्‍याइरहेका छन् ।

अमेरिकी भूगर्भीय सर्वेक्षणका अनुसार भूकम्पको केन्द्र नागकुबाट करिब १९० किलोमिटर पूर्व–उत्तरपूर्व र क्षेत्रीय राजधानी ल्हासाबाट ३९० किलोमिटर उत्तरपूर्वमा थियो । भूकम्पको केन्द्र जमिनको सतहबाट करिब १० किलोमिटर गहिराइमा रहेको थियो ।

चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार भूकम्पको केन्द्र बाकेन काउन्टीको मारु बस्तीमा परेको थियो । बस्तीका उपप्रमुख लावाङ डाग्पोले भूकम्पको धक्का कार्यालयमा स्पष्ट रूपमा महसुस भएको र भवनका पर्खालमा चिरा परेको बताउनुभएको छ । भूकम्पपछि काउन्टीको सदरमुकाममा विद्युत् तथा दूरसञ्चार सेवा अवरुद्ध भएको छ ।

सिसिटिभीका अनुसार प्रभावित क्षेत्रमा तेस्रो तहको भूकम्पीय विपद् आपत्कालीन प्रतिक्रिया सक्रिय पारिएको छ । सिन्ह्वाका अनुसार उद्धारका लागि ३०० भन्दा बढी प्रहरी अधिकारी र क्षेत्रीय अग्नि तथा उद्धार टोलीका ३४७ कर्मचारी परिचालन गरिएको छ । उद्धारकर्मीहरूले क्षतिग्रस्त भवनभित्र खोजी गरिरहेका छन् भने थप उद्धारका लागि सैनिक परिचालन गर्ने तयारी गरिएको छ ।

चीनमा भूकम्प जाने घटना तुलनात्मक रूपमा सामान्य मानिन्छ । यसअघि सन् २०२५ को जनवरीमा तिब्बतको टिङ्गरी काउन्टीमा गएको भूकम्पमा कम्तीमा १२६ जनाको मृत्यु भएको थियो । सन् २०२३ को डिसेम्बरमा उत्तरपश्चिम चीनको गान्सु प्रान्तमा गएको भूकम्पमा कम्तीमा १२७ जनाको मृत्यु भएको थियो ।

त्यस्तै, सन् २०१४ मा दक्षिणपश्चिमी युन्नान प्रान्तमा गएको भूकम्पमा ६०० भन्दा बढी मानिसको मृत्यु भएको थियो । सन् २००८ मा सिचुआन प्रान्तमा गएको विनाशकारी भूकम्पमा करिब ९० हजार मानिसको मृत्यु भएको वा बेपत्ता भएका थिए । तीमध्ये करिब पाँच हजार विद्यार्थी थिए । एएफपी

प्रकाशित मिति: शुक्रबार, कात्तिक ६, २०८३  १०:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update