- उग्रतारा मन्दिरमा महाअष्टमी मेला
- सुदूरपश्चिमका नौवटै जिल्लाबाट भक्तजन
- राँगा र बोकाको बलिसहित पूजाआजा
डडेल्धुरा । महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । डडेल्धुरा सदरमुकामबाट चार किलोमिटर उत्तरमा रहेको मन्दिरमा अष्टमी मेला भर्न भक्तजन पुगेका छन् ।
उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीका अनुसार अष्टमी मेलामा राँगा र बोकाको बलि दिएर पूजाआजा गरिन्छ । दसैँका दिन पनि मन्दिरमा भव्य पूजाआजा हुने गरेको छ । मेलामा सुदूरपश्चिमका नौवटै जिल्ला तथा अन्य क्षेत्रबाट धार्मिक भक्तजन आउने गरेको उहाँले बताउनुभयो ।
उग्रतारा भगवती मन्दिरलाई सुदूरपश्चिमका नौ भगवती मन्दिरमध्ये एक मानिन्छ । किंवदन्तीअनुसार करिब दुई हजार ५०० वर्षअघि हालको अमरगढी नगरपालिका-८ स्थित लटाउली गाउँमा साँकी जातिका स्थानीयले बारीमा हलो जोत्ने क्रममा हलोको फालीले शिलामा लाग्दा रगत बगेको थियो । त्यसपछि त्यहाँ देवी उत्पन्न भई दर्शन दिएको जनविश्वास छ ।
त्यसै बेलादेखि उग्रतारा भगवतीलाई महागौरी दुर्गा र कालीको स्वरूपमा पूजा गरिँदै आएको छ । लटाउली गाउँका साँकी र भट्ट जातिका पण्डित अहिले पनि मन्दिरका पुजारीका रूपमा रहनुभएको छ ।
विशाल फाँटमा रहेको उग्रतारा मन्दिर डाँडामाथि अवस्थित छ । मन्दिरसम्म पुग्न ओरालो झर्नु नपर्ने भएकाले यसको धार्मिक महत्त्व थप बढेको अध्यक्ष साँकीले बताउनुभयो ।
उग्रतारा भगवती मन्दिरमा कार्तिक शुक्ल पूर्णिमाका दिन महापूजा तथा ठूलो मेला लाग्ने गर्दछ । उक्त दिन लाग्ने प्रसिद्ध मेलालाई ‘देइजात’ भनिन्छ । प्राचीनकालमा विभिन्न गर्खाका लडाकुबीच वीरतापूर्वक युद्ध हुँदा रगतको खोला बगेको किंवदन्ती छ । त्यही घटनासँग जोडेर यस क्षेत्रको खोलालाई ‘न्वाखोला’ नामकरण गरिएको जनविश्वास रहेको छ । रासस
