- राष्ट्रपति पौडेलको सम्मानमा नेपाली सेनाद्वारा सलामी अर्पण ।
- सैनिक परेड, हेलिकप्टरबाट पुष्पवृष्टि र दुर्गा बन्दना प्रस्तुत ।
- फूलपाती बढाइँ हेर्न टुँडिखेल वरपर नागरिकको बाक्लो उपस्थिति ।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा आज अपराह्न ‘फूलपाती बढाइँ समारोह-२०८३’ सम्पन्न भएको छ ।
समारोहमा नेपाली सेनाका परमाधिपति राष्ट्रपति पौडेलको सम्मानमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो ।
सेनाको टोलीले शङ्खघोषसहित राइफलबाट लहरे र एकट्ठा तथा तोपबाट बढाइँ गरेको थियो । समारोहमा सैनिक परेड प्रदर्शन गरिएको थियो । सैनिक हेलिकप्टरमार्फत ‘फूलपाती बढाइँ समारोह-२०८३’ ब्यानर प्रदर्शन गर्नुका साथै पुष्पवृष्टि गरिएको थियो । सो अवसरमा दुर्गा बन्दना पनि प्रस्तुत गरिएको थियो ।

फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने विशिष्ट मौलिक कार्यक्रम मानिन्छ । नेपाली सेनाले हरेक वर्ष सैनिक मञ्च टुँडिखेलमा हर्षोल्लासपूर्वक फूलपाती बढाइँ गर्दै आएको छ ।
गोरखाबाट ल्याइएको जमरा र फूलपाती साइत जुराएर हनुमानढोकास्थित दसैँघरमा भित्र्याएपछि टुँडिखेलमा फूलपाती बढाइँ गर्ने परम्परा छ ।
समारोहमा प्रथम महिला सविता पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीगण, विशिष्ट व्यक्तित्व तथा कूटनीतिक नियोगका प्रमुख र प्रतिनिधिहरू सहभागी हुनुहुन्थ्यो ।
बडादसैँको सप्तमी अर्थात् फूलपातीका दिन सेनाले हरेक वर्ष सैनिक मञ्च टुँडिखेलमा भव्य समारोह आयोजना गरी फूलपाती बढाइँ गर्दै आएको छ । बढाइँ हेर्न टुँडिखेल वरपर नागरिकको बाक्लो उपस्थिति थियो । नेपाल टेलिभिजनलगायत सञ्चारमाध्यमले समारोहको प्रत्यक्ष प्रसारण गरेका थिए ।रासस
