रे समाचार/काठमाण्डू । नेपालीहरुको महान चाड बडादशैंको पाँचौं दिन आज शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा देवी स्कन्दमाताको पूजा आराधना गरिँदै छ ।
नवरात्रिकको पाँचौं दिनमा शक्ति स्वरुपा देवी स्कन्दमाताको पूजा आराधना गर्ने प्रचलन रहेको छ । स्कन्दमाता भवानीको उपासना र आराधना गर्नाले सबै प्रकारको इच्छापुरा हुने शास्त्रीय कथन रहेको छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा पक्ष पनि भनिन्छ । यो पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कूष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गर्ने गरिन्छ ।
यसैबीच दसैँ, तिहार र छठलगायतका प्रमुख चाडपर्वलाई लक्षित गरी काठमाण्डू उपत्यकामा तीन हजार ५०६ जना प्रहरी परिचालन गरिएको छ । चाडपर्वका समयमा हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण गरी नागरिकलाई सुरक्षित र निर्धक्कसँग पर्व मनाउने वातावरण बनाउन प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाण्डूका अनुसार चाडपर्वका समयमा बजार, सार्वजनिकस्थल, यातायात तथा नागरिकको बढी आवतजावत हुने क्षेत्रमा हुनसक्ने चोरी, लुटपाट, ठगीलगायतका आपराधिक गतिविधि नियन्त्रण गर्न विशेष योजनासहित प्रहरी परिचालन गरिएको छ । चाडपर्व मनाउन घरबाहिर निस्कने, किनमेलका लागि बजार जाने तथा विभिन्न स्थानमा यात्रा गर्ने नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर सुरक्षा व्यवस्था मिलाइएको परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिनुभयो ।
थापाका अनुसार चाडपर्व लक्षित सुरक्षा व्यवस्थाअन्तर्गत परिचालन गरिएका प्रहरीमध्ये १०० जना सादा पोसाकमा छन् । उनीहरूले सार्वजनिकस्थल तथा भीडभाड हुने क्षेत्रमा निगरानी गर्ने, शङ्कास्पद गतिविधिको पहिचान गर्ने र सम्भावित आपराधिक क्रियाकलाप नियन्त्रणमा सहयोग पुर्यानउने छन् । प्रहरीले परम्परागत सुरक्षा गस्तीका अतिरिक्त प्रविधिको प्रयोगलाई समेत प्राथमिकता दिएको छ । सुरक्षा निगरानीका लागि सामुदायिक सेवा केन्द्र, ड्रोन क्यामेरा, सामाजिक सञ्जाल तथा तालिमप्राप्त कुकुरको प्रयोग गरिएको परिसरले जनाएको छ ।
