काठमाण्डू । सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ यही असोज २६, २७ र २८ गते गर्ने भएको छ ।
समितिको आज बसेको बैठकमा सभापति बोधनारायण श्रेष्ठले असोज २६ र २७ गते सामान्य प्रकृतिका उजुरी वा सुझाव परेका प्रस्तावित राजदूतहरूको सुनुवाइ गर्नेगरि तयारी भइरहेको जानकारी दिनुभयो ।
बाँकी गम्भीर प्रकृतिका उजुरी परेका प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २८ गते गर्ने तयारी भइरहेको जानकारी दिनुहुँदै उपसमिति बनाउनुपर्ने खालका भए दसैँपछि सुनुवाइ हुने जानकारी दिनुभयो ।
उहाँले केही उजुरी सामान्य प्रकृतिका रहेको र केही उजुरीका सम्बन्धमा समितिले छुट्टै अध्ययन आवश्यक पर्ने अवस्था रहेको बताउनुभयो । जटिल प्रकृतिका उजुरी आएमा त्यस्ता विषयलाई छुट्टै अध्ययनका लागि राखेर अन्य सुनुवाइ अघि बढाउन सकिने उहाँको भनाइ थियो ।
सभापति श्रेष्ठले समितिका सदस्यहरूलाई बिदाको समयमा समेत प्रस्तावित राजदूतसम्बन्धी विषय अध्ययन गर्न आग्रह गर्नुभयो ।
उहाँले प्रस्तावित राजदूतविरुद्ध प्राप्त उजुरी र उहाँहरूले पेस गरेको कार्ययोजनासम्बन्धी विवरण अध्ययनका लागि समितिका सदस्यहरूलाई उपलब्ध गराइसकिएको जानकारी दिनुभयो ।
सरकारले छिमेकी दुई मुलुकसहित १३ वटा देशका लागि यहि असोज २ गते राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा असोज २ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न मुलुकका लागि राजदूत नियुक्तिका लागि सिफारिस गरी संसदीय सुनुवाइका लागि सङ्घीय संसद्मा पठाउने निर्णय गरेको थियो ।
सरकारले निम्न मुलुकका लागि निम्न व्यक्तिलाई राजदूतमा सिफारिस गरेको छ :
१. भारत - डा. निश्चलनाथ पाण्डे
२. चीन - डा. कल्याणराज शर्मा
३. संयुक्त राज्य अमेरिका - चिरनजङ्ग थापा
४. बेलायत - गौरव शमशेर जङ्गबहादुर राणा
५. जर्मनी - शरू जोशी
६. इजरायल - सुरेशकुमार कर्ण
७. स्पेन - प्राप्ति शेरचन
८. जापान - जिज्ञानकुमार थापा
९. ओमान - डा. पद्माक्षी राणा
१०. मलेसिया - चूडामणि खरेल
११. गणतन्त्र कोरिया - प्राडा. सङ्गम श्रेष्ठ
१२. श्रीलङ्का - डा. मञ्चला झा
१३. साउदी अरेबिया - गिरीबहादुर सुनार
