- नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र समान जलवायु जोखिममा ।
- हिमाल र महासागरबीच गहिरो अन्तरसम्बन्ध रहेको भनाइ ।
- जलवायु न्याय र अनुकूलन वित्तमा जोड ।
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र भौगोलिक रूपमा टाढा भए पनि जलवायु परिवर्तनका बढ्दो प्रभावका कारण एउटै पारिस्थितिक सङ्कटको अग्रपंक्तिमा रहेको बताउनुभएको छ ।
फिजीमा आज आयोजित ‘प्रि-कोप लिडर्स इभेन्ट’अन्तर्गतको उच्चस्तरीय ‘लिडर्स प्लेनरी’लाई सम्बोधन गर्दै उहाँले हिमाल र महासागरबीच गहिरो अन्तरसम्बन्ध रहेको उल्लेख गर्नुभयो । उच्च हिमाली क्षेत्रमा अवस्थित नेपाल र प्रशान्त क्षेत्रका साना टापु राष्ट्रले जलवायु परिवर्तनका कारण समान प्रकृतिका चुनौती सामना गरिरहेको उहाँको सचिवालयले जनाएको छ ।
पछिल्लो समय नेपालमा भएका विनाशकारी हिमताल, हिमनदी तथा चट्टान भत्किने घटनाबाट सिर्जित ‘हिमालयन सुनामी’ले ठूलो मानवीय क्षति पुर्याएको उल्लेख गर्दै मन्त्री खनालले जलवायु परिवर्तनका प्रभाव हिमालमा मात्र सीमित नरहेको बताउनुभयो ।
उहाँले हिमालयका हिमनदी पग्लिँदा समुद्री सतह वृद्धि हुनुका साथै प्रशान्त क्षेत्रमा थप शक्तिशाली चक्रवातलगायत जलवायुजन्य जोखिम बढ्ने उल्लेख गर्नुभयो । “हिमाल र महासागर एउटै ग्रहका विभाजन गर्न नसकिने भागको निरन्तरता हुन्, जुन साझा जलचक्र र मानवताको साझा भविष्यबाट जोडिएका छन्”, उहाँले भन्नुभयो ।
परराष्ट्रमन्त्री खनालले जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित मुलुकले भोगिरहेको जलवायु अन्यायप्रति पनि ध्यानाकर्षण गराउनुभयो । विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नगण्य योगदान रहेका कमजोर तथा विकासशील मुलुकले मानवीय जीवन, महत्त्वपूर्ण पूर्वाधार र विकासका उपलब्धि गुमाएर जलवायु सङ्कटको असमान मूल्य चुकाइरहेको उहाँको भनाइ थियो ।
“जलवायु जोखिममा रहेका मुलुकको अवस्थालाई विश्वव्यापी न्यायपूर्ण जिम्मेवारीमार्फत तत्काल सम्बोधन गरिनुपर्छ”, उहाँले भन्नुभयो ।
आगामी संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन संरचना महासन्धिको ३१औँ सम्मेलन (कोप-३१) का लागि नेपालको प्राथमिकता प्रस्तुत गर्दै उहाँले तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसको सीमाभित्र कायम राख्ने लक्ष्यप्रति दृढ प्रतिबद्धता जनाउनुभयो ।
उहाँले ऋणको बोझ नथपिने गरी पूर्वानुमानयोग्य तथा अनुदानमा आधारित अनुकूलन वित्त, हानी तथा क्षति कोषको शीघ्र कार्यान्वयन तथा हिमाल र महासागरमा आधारित राष्ट्रबीच औपचारिक ‘सगरमाथादेखि समुद्रसम्म’ साझेदारी स्थापना गर्नुपर्नेमा जोड दिनुभयो ।
जलवायु परिवर्तनका कारण समान जोखिममा रहेका हिमाली तथा टापु राष्ट्रबीच सहकार्यलाई थप सुदृढ बनाउनुपर्ने धारणा राख्दै मन्त्री खनालले फिजीको ‘सोलेसोलेवाकी’ र नेपालको ‘श्रमदान’ जस्ता सामुदायिक सहकार्यका सांस्कृतिक अभ्यासको स्मरण गर्नुभयो ।
उहाँले जलवायु सङ्कट सामना गर्न विश्वव्यापी ऐक्यबद्धता र एकीकृत नेतृत्व आवश्यक रहेको बताउँदै कोप-३१ सम्मको यात्रामा साझा जोखिमलाई कार्यान्वयनयोग्य जलवायु न्यायमा रूपान्तरण गर्न सामूहिक प्रयास आवश्यक रहेको उल्लेख गर्नुभयो । रासस
