RayNewsDaily
सुरक्षासम्बन्धी सूचना चुहाएको आरोपमा सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल निलम्बित
  • एआईजी वंशीराज दाहाल निलम्बित, तीन दिनभित्र जाँचबुझ हुने ।
  • पूर्वप्रधानन्यायाधीश राणा पक्राउपछि उहाँ टेकु पुग्नुभएको ।
  •  दाहाल राणाका नातेदार, सांसद न्यौपानेले निलम्बन पुष्टि गर्नुभयो ।

रे समाचार/काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाल सुरक्षासम्बन्धी संवेदनशील सूचना चुहावटको आरोपमा निलम्बित हुनुभएको छ ।

गृह मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा उहाँमाथि सुरक्षा सम्बन्धी संवेदनशील सूचना चुहावट गर्नुभएको र पदीय आचारण विपरीतको कार्य गर्नुभएको आरोप लगाइएको छ । सशस्त्र प्रहरी बलबाट कारबाहीको लागि सिफारिस आएपछि मन्त्रालयको मिति २०८३ असोज १९ को निर्णय अनुसार उहाँलाई निलम्बन गरिएको हो । निलम्बनसँगै उक्त अभियोग उपर तीन दिनभित्र जाँचबुझ सम्पन्न गरी प्रतिवेदन पेस गर्न जाँचबुझ अधिकृत तोकिएको छ ।bigyapti-(1)-(1)-1791217354.webp

गत साता पक्राउ पर्नुभएका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई पक्राउ गरिएलगत्तै उहाँ टेकुस्थित प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय पुग्नुभएको थियो । त्यसपछि राणा पक्राउ पर्नुभएको सूचना बाहिरिएको थियो । सरकारले पूर्वप्रधानन्यायाधीश राणालाई गोप्य रूपमा पक्राउ गरी सोधपुछ गर्न खोजेको थियो । ‘विभिन्न मुद्दामा चलखेल गर्दै सरकारलाई अप्ठ्यारोमा पार्न खोज्नुभएको’ भन्दै प्रधानमन्त्री सचिवालयको ठाडो निर्देशनमा उहाँ पक्राउ पर्नुभएको थियो ।

निलम्बित एआईजी दाहाल राणाका नातेदार हुनुहुन्छ । गृह मन्त्रालयले उहाँलाई रातारात राणालाई भेट्न जानुपर्ने कारणबारे सोधपुछ गरेको थियो । उहाँले पारिवारिक व्यक्ति भएका कारण पक्राउ परेको खबर परिवारबाट प्राप्त भएको र भेट्न पुग्नुभएको बताउनुभएको थियो । यद्यपि राणालाई पक्राउ गर्ने नेपाल प्रहरी नेतृत्वले उक्त सूचनाको चुहावट उहाँबाटै भएको दाबी गर्दै आएको छ ।

गृह मन्त्रालयले हरेक कर्मचारीबाट हुने पदीय आचारण विपरीतका कार्य, संवेदनशील गोप्य सूचनाको चुहावट तथा शान्ति सुरक्षामा प्रतिकूल असर पार्ने गतिविधिमाथि सूक्ष्म निगरानी गरिरहेको र कानून विपरीतका गतिविधिमा संलग्न जोसुकैलाई प्रचलित कानूनबमोजिम कारबाही गरिने जनाएको छ ।

प्रकाशित मिति: सोमबार, असोज १९, २०८३  २१:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update