RayNewsDaily
कांग्रेस महाधिवेशनको बन्दसत्र सुरु, तीन क्लस्टरमा प्रतिनिधिको छलफल
  • कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्र सुरु ।
  • तीन क्लस्टरमा विभाजन गरी प्रतिनिधिबीच छलफल ।
  • राजनीतिक प्रतिवेदनसहित विभिन्न प्रस्तावमा छलफल हुने ।

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्र आज सुरु भएको छ ।

केन्द्रीय कार्यसमितिको बैठकले बन्दसत्रमा पेस हुने एजेन्डा पारित गरेसँगै प्रतिनिधिहरू विभिन्न समूहमा विभाजन भएर छलफलमा सहभागी भएका हुन् ।

बन्दसत्रलाई हिमाल, पहाड र तराई-मधेस गरी तीन क्लस्टरमा विभाजन गरिएको छ । सुरुआतमा पहाड क्लस्टरको बन्दसत्र सञ्चालन गरिएको कांग्रेसले जनाएको छ । त्यसका लागि हिमाल, पहाड र तराई-मधेस हल निर्धारण गरिएको छ ।

हिमाल हलमा कोशी प्रदेशका एक हजार ११७, कर्णालीका २९९ र गण्डकीका ७१५ गरी दुई हजार ३३१ प्रतिनिधि सहभागी छन् । पहाड हलमा बागमतीका एक हजार २१७ र लुम्बिनीका एक हजार नौ गरी दुई हजार २२६ प्रतिनिधि सहभागी छन् ।

त्यस्तै, तराई-मधेस हलमा मधेस प्रदेशका एक हजार २५६, सुदूरपश्चिमका ६५०, जनसम्पर्क समितिका २४५ र भ्रातृ सङ्गठनका २२५ प्रतिनिधि सहभागी छन् ।

बन्दसत्रमा सभापति गगनकुमार थापाले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन, महामन्त्रीले पेस गर्नुभएको विधान तथा पार्टी सञ्चालनसम्बन्धी प्रस्ताव र उपसभापतिले पेस गर्नुभएको समसामयिक प्रस्तावलगायत विषयमा छलफल हुने कांग्रेसले जनाएको छ । रासस

प्रकाशित मिति: सोमबार, असोज १९, २०८३  १४:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update