- कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन सत्र सुरु ।
- विभिन्न दलका शीर्ष नेता उद्घाटनमा सहभागी ।
- असोज २१ र २२ गते निर्वाचन हुँदै ।
काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँमा सुरु भएको छ ।
‘परम्पराको सम्मान र परिवर्तनको सङ्कल्पः समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ नारासहित सुरु भएको महाधिवेशनको उद्घाटन पार्टी सभापति गगनकुमार थापाले गमलामा रहेको बिरुवामा जल सिञ्चन गरेर गर्नुभयो ।

उद्घाटन सत्रमा सभापति थापासँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका महासचिव शङ्कर पोखरेल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनलगायत विभिन्न दलका शीर्ष नेता सहभागी हुनुहुन्छ ।

उद्घाटन सत्रमा विभिन्न वक्ताले बोल्नेक्रम जारी छ । महाधिवेशनको बन्दसत्र तथा अन्य कार्यक्रम सोमबार र मङ्गलबार हुनेछन् ।
केन्द्रीय निर्वाचन समितिका अनुसार महाधिवेशनअन्तर्गत निर्वाचन कार्यक्रम असोज २१ र २२ गते तय गरिएको छ । रासस
