RayNewsDaily
खुलामञ्चमा कांग्रेसको १५औँ महाधिवेशन, ७ हजार ७ सय प्रतिनिधि सहभागी हुँदै
  • कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, खुलामञ्चमा उद्घाटन ।
  • ७ हजार ७०० प्रतिनिधि सहभागी हुँदै, असोज २१ र २२ गते निर्वाचन ।
  • युवा, महिला र समावेशी प्रतिनिधित्वमा नयाँ व्यवस्था लागू ।

भीष्मराज ओझा/काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ । असोज २२ गतेसम्म सञ्चालन हुने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको कांग्रेसले जनाएको छ ।

महाधिवेशन तालिकाअनुसार आज उद्घाटन सत्र, असोज १९ र २० गते बन्दसत्र तथा असोज २१ र २२ गते निर्वाचन प्रक्रिया सञ्चालन हुनेछ । निरन्तरको वर्षाका कारण असोज १६ गतेका लागि निर्धारित महाधिवेशन चार दिनपछि सारिएको हो ।

देश तथा विदेशबाट महाधिवेशन प्रतिनिधि काठमाडौँ आउने क्रम जारी छ । महाधिवेशन तयारीका लागि गठन गरिएका १५ वटा समितिले आ-आफ्नो जिम्मेवारी पूरा गरेका छन् । खुलामञ्चमा उद्घाटन तथा बन्दसत्रका लागि आवश्यक संरचना निर्माण गरिएको छ भने मिडिया सेन्टर र प्राथमिक स्वास्थ्य उपचार केन्द्रसमेत स्थापना गरिएको छ ।

आवास व्यवस्थापन समितिले निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशका आधारमा संयोजक तोकेर प्रतिनिधिको बसोबास व्यवस्थापन गरेको छ । एयरपोर्ट, गौशाला, सुन्धारा, ठमेल, लाजिम्पाट, कलङ्की र नयाँ बसपार्क क्षेत्रमा आवासको व्यवस्था गरिएको छ । प्रतिनिधिले आवाससम्बन्धी जानकारी ह्वाट्सएप, एआई नम्बर र एसएमएसमार्फत प्राप्त गर्नेछन् । बिहान, दिउँसो र साँझको भोजन व्यवस्था भृकुटीमण्डपमा गरिएको छ ।

केन्द्रीय निर्वाचन समितिका अनुसार महाधिवेशनमा करिब सात हजार ७०० प्रतिनिधि सहभागी हुँदैछन् । कांग्रेसको इतिहासमै पहिलोपटक यति ठूलो सङ्ख्यामा महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन् ।

उद्घाटन र बन्दसत्र एउटै स्थानमा

कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन र बन्दसत्र दुवै खुलामञ्चमै हुनेछ । ठूलो सङ्ख्यामा प्रतिनिधि सहभागी हुने भएकाले बन्दसत्रका लागि तीनवटा ठूला संरचना निर्माण गरिएको छ । ती हलको नाम हिमाल, पहाड र तराई-मधेस राखिएको छ ।

प्रतिवेदनमाथि भूगोलका आधारमा समूह बनाएर तीनवटै हलमा छलफल हुनेछ । हरेक हलमा डिजिटल बोर्डको व्यवस्था गरिएको छ । सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले अलग-अलग प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो ।

उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुलाई आमन्त्रण गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत, श्रम संस्कृति पार्टीका महासचिव आरेन राई तथा राष्ट्रिय जनमोर्चाका तर्फबाट कार्यवाहक महासचिव घनश्याम पौडेल सहभागी हुनुहुनेछ ।

अन्तर्राष्ट्रिय अतिथिका रूपमा सोसलिष्ट इन्टरनेसनलकी कार्यकारी संयोजक चन्ताल काम्बिवालगायत सहभागी हुन नेपाल आइसक्नुभएको छ ।

ऐतिहासिक स्थलमा महाधिवेशन

कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले निर्वासनबाट स्वदेश फर्किएपछि पहिलो सार्वजनिक सम्बोधन गर्नुभएको ऐतिहासिक स्थलमा १५औँ महाधिवेशन हुँदैछ ।

यही टुँडिखेलमा कांग्रेसका अर्का संस्थापक नेता गणेशमान सिंहले २०४६ सालको जनआन्दोलनको सफलताको उद्घोष गर्नुभएको थियो ।

महाधिवेशनको उद्घाटन सभापति गगनकुमार थापाले गर्नुहुनेछ । उद्घाटन सत्रमा कांग्रेसका शीर्ष नेतासहित प्रमुख राजनीतिक दलका नेताले सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रवक्ता चालिसेका अनुसार यस महाधिवेशनमा नवपुस्ताका ४४ हजार युवा विभिन्न जिम्मेवारीमा आएका छन् भने उनीहरूसहित निर्वाचित सात हजारभन्दा बढी प्रतिनिधि सहभागी हुँदैछन् । गत पुस २८ देखि माघ ३ गतेसम्म सम्पन्न कांग्रेसको दोस्रो विशेष महाधिवेशनपछि १५औँ महाधिवेशन आयोजना हुन लागेको हो ।

तडकभडकबिना महाधिवेशन

गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको प्राकृतिक विपद्का कारण मुलुक शोकमा रहेको अवस्थामा कांग्रेसले महाधिवेशनमा तडकभडकपूर्ण प्रचार नगर्ने नीति लिएको छ ।

कार्यक्रमस्थलमा एउटा मूल गेटबाहेक अन्य प्रचार सामग्री राखिएको छैन । काठमाडौँ उपत्यकासहित देशका प्रमुख सहरमा रहेका करिब १०० डिजिटल बोर्डमार्फत महाधिवेशनसम्बन्धी सूचना तथा सन्देश प्रवाह गरिएको छ ।

महाधिवेशनका उम्मेदवारलाई पनि डिजिटल माध्यमबाट मात्रै प्रचारप्रसार गर्न आग्रह गरिएको छ । निर्वाचन समितिले फ्लेक्स, ब्यानर, पोस्टर, पम्प्लेटलगायतका प्रिन्टेड प्रचार सामग्री राख्न, टाँस्न वा वितरण गर्न पूर्ण प्रतिबन्ध लगाएको जनाएको छ ।

निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार विपद्पछिको परिस्थितिलाई सम्मान गर्दै महाधिवेशनलाई मर्यादित, मितव्ययी र अनुशासित बनाउन भड्किलो प्रचार अभियान निषेध गरिएको हो ।

असोज १९ गते उम्मेदवारी दर्ता

निर्वाचन समितिका अनुसार असोज १९ गते दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म काठमाडौँस्थित राष्ट्रिय सभा गृहमा उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ ।

नयाँ व्यवस्थाअनुसार कांग्रेसको केन्द्रीय कार्यसमिति २३२ सदस्यीय हुनेछ । त्यसमध्ये १७१ जना निर्वाचित र ६१ जना सभापतिबाट मनोनीत हुने व्यवस्था छ । सहमहामन्त्रीको सङ्ख्या आठबाट बढाएर ११ पुर्‍याइएको छ ।

आठ स्थानमा पार्किङ व्यवस्था

महाधिवेशनमा सहभागी प्रतिनिधिका सवारीसाधनका लागि आठ स्थानमा पार्किङको व्यवस्था गरिएको छ ।

धरहरा अन्डरग्राउन्ड पार्किङ, बग्गीखानासँगैको साल्ट ट्रेडिङ पार्किङ, पुरानो बसपार्क क्षेत्र, भृकुटीमण्डपको बाहिरी एक लेन सडक, राष्ट्रिय सभागृहको पार्किङ, नेपाल प्रज्ञा-प्रतिष्ठान परिसर र दरबारमार्गस्थित अन्नपूर्ण होटलको पार्किङस्थल प्रयोग गर्न सकिनेछ ।

उपत्यका बाहिरबाट प्रतिनिधि लिएर आउने ठूला बसका लागि माइतीघर मण्डला र भद्रकालीबीचको सडकको एक भागमा पार्किङको व्यवस्था मिलाइएको छ । धरहरा अन्डरग्राउन्ड र अन्नपूर्ण होटलको पार्किङमा शुल्क लाग्नेछ भने अन्य स्थानमा निःशुल्क पार्किङको व्यवस्था गरिएको छ ।

३० स्वास्थ्यकर्मीसहित हेल्थ डेस्क

महाधिवेशनस्थलमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क स्थापना गरिएको छ । पाँचवटा स्टलमार्फत सामान्य स्वास्थ्य परीक्षण तथा आकस्मिक स्वास्थ्य सेवा प्रदान गरिनेछ ।

स्वास्थ्य समितिका संयोजक डा केदारनरसिंह केसीका अनुसार डेस्कमा चिकित्सक, पारामेडिक्स र नर्ससहितको टोली रहनेछ । रक्तचाप, सुगर परीक्षण तथा सिटामोल, जीवनजल र घाउचोटमा प्रयोग हुने औषधि निःशुल्क उपलब्ध गराइनेछ ।

आकस्मिक उपचारका लागि वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर र बिपी स्मृति अस्पतालमा समन्वय गरिएको छ । महाधिवेशनस्थलमा दुईवटा एम्बुलेन्स तयारी अवस्थामा राखिनेछ ।

युवा, महिला र नयाँ समूहको प्रतिनिधित्व

यस महाधिवेशनमा युवा, महिला तथा विभिन्न समुदायको प्रतिनिधित्वदेखि महाधिवेशन सञ्चालन र प्रचारशैलीसम्म नयाँ अभ्यास गर्न लागिएको छ ।

विधानअनुसार ३५ वर्षमुनिका युवालाई पार्टीको नेतृत्व संरचनामा सुनिश्चित प्रतिनिधित्वको व्यवस्था गरिएको छ । यसअन्तर्गत केन्द्रीय कार्यसमितिमा ३५ वर्षमुनिका २१ जना युवा सदस्य निर्वाचित हुनेछन् ।

पार्टीका विभिन्न तहका कार्यसमितिमा महिलाको प्रतिनिधित्व कम्तीमा एक तिहाइ सुनिश्चित गर्ने व्यवस्था गरिएको छ । त्यस्तै, विभिन्न पेसा, व्यवसाय तथा क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिलाई पनि पार्टीको केन्द्रीय नेतृत्वमा ल्याउने बाटो खोलिएको छ । यही व्यवस्थाअन्तर्गत सात जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।

नेपाली जनसम्पर्क समितिबाट आएका महाधिवेशन प्रतिनिधिमध्येबाट छ जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था गरिएको छ । अपाङ्गता भएका व्यक्ति, अल्पसङ्ख्यक, पिछडिएको क्षेत्र, श्रमिक, प्रजातन्त्र सेनानी, सहिद परिवार तथा द्वन्द्वपीडितको प्रतिनिधित्वसमेत सुनिश्चित गरिएको छ ।

कांग्रेसले विद्युतीय मतदान प्रणाली प्रयोग गर्ने तयारी गरे पनि प्राविधिक तथा व्यवस्थापकीय कारणले अन्तिम समयमा परम्परागत मतदान प्रणालीबाटै निर्वाचन गर्ने भएको छ ।

महाधिवेशनमा नेतृत्व चयनसँगै पार्टीको आगामी राजनीतिक दिशा, सङ्गठन सुधार र नयाँ पुस्ताको भूमिकाबारे बहसलाई समेत प्राथमिकता दिइएको छ । रासस

प्रकाशित मिति: आइतबार, असोज १८, २०८३  १३:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update