काठमाण्डू । नेपाल दूरसञ्चार तथा सूचना प्रविधि विज्ञ अनन्दराज खनाल अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घ (आइटियु) को नयाँदिल्लीस्थित दक्षिण एसिया क्षेत्रीय कार्यालय तथा इनोभेसन सेन्टरको प्रमुखमा नियुक्त हुनुभएको छ ।
आइटियुको दूरसञ्चार विकास ब्युरोले गत सेप्टेम्बर २२ मा खनाललाई उक्त पदमा नियुक्त गरेको हो । उहाँले अक्टोबर १ देखि पदभार सम्हाल्नुभएको छ । आइटियुको आधिकारिक विवरणमा खनालको नियुक्तिलाई दक्षिण एसिया क्षेत्रीय कार्यालय तथा इनोभेसन सेन्टरको प्रमुखका रूपमा उल्लेख गरिएको छ ।
तीन दशकभन्दा बढी समयदेखि दूरसञ्चार, सूचना तथा सञ्चार प्रविधि (आइसिटी), डिजिटल रूपान्तरण, सार्वजनिक नीति, नियमन, साइबर सुरक्षा, डिजिटल पूर्वाधार तथा नवप्रवर्तनका क्षेत्रमा काम गर्दै आउनुभएका खनालले नेपाल दूरसञ्चार प्राधिकरणमा १५ वर्षभन्दा बढी समय वरिष्ठ नेतृत्व तहमा रहेर काम गर्नुभएको थियो ।
प्राधिकरणमा रहँदा उहाँले दूरसञ्चार तथा आइसिटी नीति, नियमन, ब्रोडब्यान्ड, साइबर सुरक्षा, डिजिटल सेवा तथा अपाङ्गता भएका व्यक्तिका लागि आइसिटी पहुँचलगायत क्षेत्रमा काम गर्नुभएको थियो । राष्ट्रिय साइबर सुरक्षा नीति, साइबर सुरक्षा सचेतना मूल्याङ्कन, वायरलेस ब्रोडब्यान्ड मास्टर प्लान तथा साइबर अपराधसम्बन्धी कानुनी व्यवस्थाका लागि भएका पहलमा उहाँको संलग्नता रहेको छ । रासस
