-
काभ्रेका १३ वटै स्थानीय तहमा पर्यटकीय हब बनाउने अवधारणा ।
-
धुलिखेललाई मुख्य हब बनाएर डे ट्रिप्स सञ्चालन गर्ने प्रस्ताव ।
-
पर्यटन पूर्वाधारमा २८ अर्ब लगानी, १८९ होटल सञ्चालनमा ।
काभ्रेपलाञ्चोक । जिल्लालाई पर्यटकमैत्री रूपमा विकास गर्ने दीर्घकालीन अवधारणा अघि सारिएको छ । होटल सङ्घ, काभ्रेपलाञ्चोकले सदरमुकाम धुलिखेललाई मुख्य पर्यटकीय हब बनाएर जिल्लाका विभिन्न गन्तव्यमा दिवा भ्रमण ‘डे ट्रिप्स’ सञ्चालन गर्ने रणनीतिक प्रस्ताव अघि सारेको हो ।
सङ्घका अध्यक्ष प्रल्हाद प्याकुरेलले जिल्लाका होटल व्यवसायको वर्तमान अवस्था, लगानी, रोजगारी तथा १३ वटै स्थानीय तहका पर्यटकीय सम्भाव्यतालाई समेटेर अवधारणा अघि सार्नुभएको हो । सङ्घले धुलिखेललाई मुख्य पर्यटकीय हब बनाएर जिल्लाका अन्य १२ वटा विशेष गन्तव्यलाई प्राथमिकतामा राखेको जनाएको छ ।
होटल व्यवसायमा करिब रु २८ अर्ब लगानी रहेको तथा जिल्लामा १८९ वटा होटल सञ्चालनमा रहेको सङ्घले जनाएको छ । धुलिखेल क्षेत्रमा ८८, नगरकोटमा ६३, बनेपामा १५, दोलालघाटमा सात, पनौतीको बल्थली र कुशादेवी क्षेत्रमा सात, नमोबुद्धमा छ तथा पलाञ्चोकमा तीनवटा होटल रहेका छन् ।
धुलिखेल क्षेत्रमा मात्रै होटल व्यवसायमा निजी क्षेत्रको करिब रु २५ अर्ब लगानी भइसकेको छ । प्रस्तुत तथ्याङ्कअनुसार बैंक तथा वित्तीय संस्थाबाट रु १५ अर्ब कर्जा परिचालन भएको र व्यवसायीले वार्षिक करिब रु एक अर्ब ब्याज बुझाउँदै आएका छन् । धुलिखेलका ८८ वटा होटलमा एक हजार ३५० कोठा र दुई हजार ८५० बेड क्षमता रहेको छ ।
जिल्लास्थित पर्यटकीय क्षेत्रले वार्षिक रु दुई अर्बभन्दा बढीको कारोबार गर्दै राज्यकोषमा रु तीन करोडभन्दा बढी कर योगदान गरेको अवधारणापत्रमा उल्लेख छ । होटल व्यवसायले एक हजार ३०० जनालाई प्रत्यक्ष रोजगारी दिएको र त्यसमध्ये ८० प्रतिशतभन्दा बढी अर्थात् एक हजार ४० जना काभ्रे जिल्लाभित्रकै स्थानीय नागरिक रहेको जनाइएको छ ।
समुद्री सतहको २८० मिटर (कोखाजोर खोला) देखि तीन हजार १८ मिटर (बेथानचोक नारायणस्थान) सम्मको उचाइमा फैलिएको काभ्रेपलाञ्चोक प्राकृतिक तथा सांस्कृतिक रूपमा सम्पन्न रहेको अवधारणापत्रमा उल्लेख छ । राजधानी काठमाडौँसँगको निकटता, अरनिको र बिपी राजमार्गको सहज पहुँच, काठमाडौँ विश्वविद्यालय तथा धुलिखेल अस्पतालजस्ता प्रतिष्ठित संस्थाले यहाँको पर्यटन पूर्वाधारलाई थप बलियो बनाएका छन् ।
सङ्घले स्थानीय तहअनुसार पहिचान गरिएका प्रमुख गन्तव्य तथा विशेषतामा धुलिखेल र बनेपाका ऐतिहासिक नेवारी बस्ती, हजार सिँढी, चण्डेश्वरी, गौखुरेश्वर, साँगा (कैलाशनाथ) तथा स्वास्थ्य एवं शैक्षिक पर्यटनलाई समेटेको छ ।
पनौती र बल्थलीमा त्रिवेणी घाट, मकर मेला, इन्द्रेश्वर मन्दिर, सांस्कृतिक पदयात्रा र होमस्टे तथा नमोबुद्ध-दाप्चामा विश्वप्रसिद्ध बौद्ध स्तूप, बुद्ध सर्किट, गुम्बा र तामाङ संस्कृतिलाई पर्यटनको आधारका रूपमा अघि सारिएको छ ।
पाँचखाल तथा मण्डनदेउपुरमा पलाञ्चोक भगवती, कृषि पर्यटन, नगरकोटको दृश्यावलोकन तथा इन्द्रावती किनारलाई प्राथमिकतामा राखिएको छ । जिल्लाको दक्षिणी क्षेत्र बेथानचोकमा तीन हजार १८ मिटर अग्लो नारायणस्थान डाँडा, दृश्यावलोकन, साहसिक पदयात्रा र खुवा उत्पादनलाई पर्यटकीय सम्भावनाका रूपमा प्रस्तुत गरिएको छ ।
त्यस्तै, दक्षिण-पूर्वी क्षेत्र रोशी र तेमालमा तीनधारे झरना, तारा खसेको ताल, बोधिचित्तको उद्गम तथा रेञ्जेन दोर्जे दरबारका अवशेषलाई प्राथमिकता दिइएको छ ।
भुम्लु, चौँरीदेउराली, महाभारत र खानीखोला गाउँपालिकामा सुनकोशी-इन्द्रावती दोभान, र्याफ्टिङ, महाभारतको बाक्लो जङ्गल, सात थरी लालीगुराँस, कफीखेती तथा अग्र्यानिक कृषिलाई पर्यटकीय पूर्वाधार विकासको प्राथमिकतामा राखिएको छ ।
यसका साथै धुलिखेल-कुशादेवी-चण्डेनी क्षेत्रमा प्याराग्लाइडिङको सफल परीक्षण भइसकेको छ । दोलालघाट-दुम्जा रुटमा रिभर र्याफ्टिङ, रक क्लाइम्बिङ तथा चरा/पुतली अवलोकन केन्द्रको उच्च सम्भावना रहेको सङ्घले जनाएको छ ।
सङ्घले धुलिखेललाई देशकै पहिलो पर्यटकमैत्री सहर घोषणा गर्न, पनौती र नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन, पर्यटक प्रहरी परिचालन गर्न तथा सार्वजनिक-निजी साझेदारी (पिपीपी) मोडलमा स्थायी पर्यटन संयन्त्र निर्माण गर्न सरकारसँग माग गर्ने प्रक्रिया अघि बढाएको छ । रासस
