RayNewsDaily
प्रतिनिधिसभामा छ वटा विधेयक प्रस्तुत
सिंहदरबारस्थित सङ्घीय संसद भवनमा सोमबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘केही नेपाल ऐनको व्यवस्था जगाउन विधेयक, २०८३’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव र ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ प्रस्तुत गर्नुहुँदै । तस्बिर: प्रदीपराज वन्त/रासस
  • प्रतिनिधिसभामा छ वटा विधेयक प्रस्तुत ।
  • स्वास्थ्यसम्बन्धी तीन विधेयकसहित विभिन्न विषयका विधेयक प्रस्तुत ।
  • भोटेकोशी-त्रिशूली विपद् समितिको सभापति चयन असोज १४ गते ।

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा छ वटा विधेयक प्रस्तुत भएका छन् ।

बैठकमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८३’ प्रस्तुत गर्नुभयो ।

त्यस्तै, स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’, ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार (पहिलो संशोधन) विधेयक, २०८३’, ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ र ‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक, २०८३’ प्रस्तुत गर्नुभयो ।

प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ प्रस्तुत गर्नुभयो ।

यसैबीच, सभामुख डोलप्रसाद अर्यालले हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापति चयनका लागि यही असोज १४ गते दिउँसो २ बजे निर्वाचनको समय तोकिएको जानकारी दिनुभयो । रासस

प्रकाशित मिति: सोमबार, असोज १२, २०८३  १४:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update